३३ किलो सुनमा बाजेको सेकुवाका भण्डारीका पार्टनर श्रेष्ठ कसरी जोगिए ?


२६ असार २०७५, मंगलवार
amit shrestha 1

काठमाडौं, २६ असार । ३३ किलो सुनकाण्डको अनुसन्धान अझै सकिएको छैन । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेल संयोजकत्वको समितिले बाजेको सेकुवाका संचालकलाई वारेन्ट जारी गरेको छ भने सेकुवाका ७ वटा आउटलेटमा सिलबन्दी गरेको छ । बाजेका सेकुवाका सञ्चालक चेतन भण्डारी अहिले फरार छन् । अमेरिकाबाट नेपाल आउने दिन नै उनको नाम ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डमा जोडिएका चुडामणि उप्रेती गोरेसँग जोडिएपछि उनी उतै लुकेर बसेका छन् ।

amit shrestha 1
अमित श्रेष्ठ

तर ३३ किलो काण्डमा मुछिएका बाजेको सेकुवाका संचालक चेतन भण्डारीका ब्यापारिक साझेदार अमित श्रेष्ठ भने अझै पनि सुन प्रकरण छानबिन समितिको नजरबाट जोगिंदैआएका छन् ।

बिशाल सिमेन्टका संचालक समेत रहेका श्रेष्ठ भण्डारीका ब्यापारिक साझेदार हुन् । कानुनी रूपमा कमै देखिए पनि मैखिक सहमति र कागजी प्रमाण राख्दै यी दुईले अबैध रकमको लगानी गर्दै आएको नजिकबाट चिन्नेहरू बताउँछन् ।
लामो समयदेखि भण्डारी र श्रेष्ठले संयुक्त रुपमा व्यापार गर्दैआएका छन् । हाईड्रो पावर र केबलकारमा यी दुईको संयुक्त लगानी छ ।

दोलखाको निर्माणाधीन कालिञ्चोक केबलकारमा मुख्य लगानी बालकृष्ण शिवाकोटीको भए पनि उनका अलावा यी दुईको ठूलै लगानी रहेको छ । ३३ किलो सुनकाण्डमा भण्डारी मुछिन पुगे तर श्रेष्ठ भने कसरी जोगिए भन्ने कुराले अहिले यही समूहको सर्कलबीच चर्चा हुने गर्छ । श्रेष्ठको राजनीतिक दलका नेताहरुसँग पनि घनिष्ट सम्बन्ध रहेको छ । छोटो समयमा अरबपति भएका शिवाकोटी एमाले दोलखाका नेता हुन् ।

सुन तस्करीको लगानी गर्ने चेतन भण्डारीसँग मिलेर ब्यापार गर्दैआएका श्रेष्ठले नेताहरुसँग सुसम्बन्ध देखाउन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग बसेको फोटो समेत सामाजिक संजाल फेसबुकमा राखेका छन् । देउवा प्रधानमन्त्री भएको बेला उनले उक्त फोटो खिचेका हुन् ।

amit shresth @ deuwa
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमित श्रेष्ठ ।

गौशालको पशुपति भिजनमा कार्यालय राखेका श्रेष्ठ सानो उमेरमा ठूलो फड्को पार्ने व्यापारीका रुपमा चिनिन्छन् । ठूलै रकमको चलखेल पश्चात श्रेष्ठ जोगिएको हुन सक्ने अनुमान समेत हुन थालेको छ । रुपन्देहीको मैनहिया गाविसमा रहेको विशाल सिमेन्ट इण्डष्ट्रिजका संचालक समेत रहेका श्रेष्ठले उत्पादन गरेको विशाल ओपीसी सिमेन्ट गुणस्तरहीन भएको प्रमाणित भएको थियो । उनले गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई ठूलै रकम घुस दिएर कारबाही हुनबाट रोकेका थिए ।

अकुत सम्पत्ति थुपारेका श्रेष्ठले सरोकारवाला निकायलाई प्रभावमा पारेर कम्पनी सञ्चालन गर्दै आएका छन् । छत ढलान र बीममा प्रयोग गरिएको सिमेन्ट सेट नभएपछि उपभोक्ता आफैंले डिभिजन सडक कार्यालय बुटवलको ल्याबमा परीक्षण गराउँदा सिमेन्ट गुणस्तरहीन भएको प्रमाणित भएको थियो ।
सडकको ल्याबमा परीक्षण गरी प्रमाणित गरिएको रिपोर्टमा उद्योगद्वारा उत्पादित विशाल ओपीसी ब्राण्डको सिमेन्टमा भारवहन क्षमता नभएको उल्लेख छ । उक्त रिपोर्टमा विशाल ओपीसी सिमेन्टको भारबहन क्षमता प्रति ३ दिनमा १०, प्रति ७ दिनमा १४ दशमलव ६७ र प्रति २८ दिनमा १५ दशमल शुन्य १ रहेको उल्लेख छ ।

जबकी नेपाल गुणस्तर चिन्ह ३८५ अनुसार कुनै पनि ओपिसिसी सिमेन्टको न्यूनतम भारबहन क्षमताप्रति ३ दिनमा १६, प्रति ७ दिनमा २२ र प्रति २८ दिनमा ३३ अनिवार्य रुपमा हुनुपर्छ । तर, विशाल ओपीसी सिमेन्टले गुणस्तरको यो मापदण्डलाई पूरा नगरेको पाइएको हो ।

उद्योगलाई कारबाहीको माग गर्दै गत बर्ष साउन २१ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी समेत दर्ता भएको थियो । जिल्ला प्रशासनले भने अहिलेसम्म यसको छानबिन अगाडि बढाएको छैन ।  विशाल सिमेन्टले ओपीसी र पीपीसीमा बिशाल, रत्ना र असोका ब्राण्ड उत्पादन गर्दै आएको छ । तर गुणस्तर विभागका महानिर्देशक पुडासैनीले उनलाई उन्मुक्ति दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७