एकमुष्ट पैसा भएन ? अब किस्तामै किन्नुस् काठमाडौंमा घडेरी


२६ असार २०७५, मंगलवार
kista ma jagga

काठमाडौं, २६ असार । राजधानीमा जग्गा किन्नका लागि तपाईले पैसा जोहो गर्न थालेको कति भयो ? अझै घडेरी किन्नका लागि पैसा पुगेन ? यदि यसो हो भने पनि अब तपाईले चिन्ता लिनु नपर्ने भएको छ । किनकी अब राजधानीमा जग्गा किन्न तपाईले पहिल्यै एकमुष्ट रकम निकाल्नु नपर्ने भएको छ । अब तपाईले किनेको जग्गाको मूल्य किस्ताबन्दी रुपमा चुकाउँदा पनि हुने भएको छ ।kista ma jagga

राजधानी उपत्यकामा घरजग्गा कारोबारमा मन्दी आएपछि किस्ताबन्दीमा जग्गा बिक्रीको स्किम शुरु भएको छ । ललितपुर चापागाउँमा रहेको जनश्री डेभलपर्सले मासिक ३२ हजार रुपैयाँ किस्तामा चार आना जग्गा बिक्री गर्ने स्किम ल्याएको छ । एकमुष्ट जग्गा किन्नेलाई प्रतिआना सात लाख २५ हजार रुपैयाँ तोकेर बिक्री थालेको कम्पनीले १० वर्षे किस्तामा पनि जग्गा उपलब्ध गराउन थालेको जनाएको छ ।

एकमुष्ट पैसा तिरेर पास गर्दा चार आना जग्गाको २९ लाख रुपैयाँ मूल्य तोकिएको छ । तर, १० वर्षसम्म पैसा तिर्न मिल्ने जग्गा किस्तामा किन्दा भने १३ प्रतिशत ब्याज लाग्ने कम्पनीका प्रतिनिधि भैरव थापाले जानकारी दिएका छन् । चार आना जग्गा आफ्नो नाममा पास गर्दा १२ लाख रुपैयाँ डाउनपेमेन्ट गर्नुपर्ने उनी बताउँछन् । १२ लाख रुपैयाँ तिरेपछि १० वर्षसम्म मासिक ३२ हजार रुपैयाँका दरले तिर्दै जानु पर्ने उनले बताए । प्लानिङ गरिएका घडेरीमा तत्कालै घर बनाउन सकिने उनले बताएका छन् । २० फिटको बाटो राखेर विकास गरिएका घडेरी नजिक पानी, बिजुली, यातायात, अस्पताल लगायतका सुविधाहरु थपिँदैछ ।

चापागाउँस्थित बज्रबाराही मन्दिर नजिकै घडेरीहरु विकास गरिएको हो । सुन्धाराबाट १५ किलोमिटर दूरीमा ती जग्गामा पुग्न सकिने उनले बताए । एक हजार चार सय रोपनी क्षेत्रफलमा प्लानिङ गरिएका घडेरीहरु चार लाख रुपैयाँ तिरेर बुकिङ गर्न सकिन्छ । ४, ५ र ६ आनामा विकास गरिएका घडेरी बुकिङ गर्दा चार आनाको चार लाख रुपैयाँ, पाँच आनाको पाँच लाख रुपैयाँ र छ आनाको छ लाख रुपैयाँ तिर्नुपर्छ ।

जग्गा पास गर्दा भने चार आनाको लागि आठ लाख रुपैयाँ, पाँच आनाको लागि १० लाख र ६ आनाको लागि १२ लाख रुपैयाँ थप तिर्नुपर्छ । चार आना घडेरी पास गर्न १२ लाख रुपैयाँ चाहिन्छ । पाँच आना पास गर्न १५ लाख रुपैयाँ र ६ आना घडेरी पास गर्न १८ लाख रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । मासिक किस्तामा चार आनाको ३२ हजार, पाँच आनाको ४१ हजार र छ आनाको ४९ हजार रुपैयाँ तिर्नुपर्छ । सबै घडेरीको किस्ता तिर्ने अवधि १० वर्षको हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७