इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर


२६ असार २०७५, मंगलवार
elep

काठमाडौं, २६ असार । उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । elep

प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो । प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर–१५ जेठसम्म) र वर्षायाम (१६ जेठ–१५ मंसिरसम्म) मा प्रतियुनिट क्रमश : ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट वार्षिक रुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । सम्झौता अनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिती सन् २०२४ डिसेम्बर तोकेको छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रहेको छ । हाल आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ । उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सवस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७