मन्न्त्री पण्डितले किन दिए संविधानविपरीत आदेश ?


२६ असार २०७५, मंगलवार
lal babu

काठमाडौं, २६ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएको एउटा आदेशका कारण उनी विवादमा तानिएका छन् । मन्त्री पण्डितले डोल्पाको ठूलीभेरी नगरपालिकाको नगरपरिषद जुफालमा नगरी दुनैमा गर्न दिएको आदेश विवादमा परेको छ । मन्त्रालयको निर्देशनअनुसार दुनैमा नगर सभाको बैठक गर्नै नसकिने मेयर शाहीको भनाइ छ । असारभित्र नगरपरिषद गरिसक्नुपर्नेछ, तर मन्त्रालयले नगर परिषद हुनु २ दिनअघि कार्यालय समयपछि इमेलमा दिएको निर्देशनले ठूलो समस्या निम्तिएको छ ।

lal babu
ठूलीभेरी नगरपालिकाको नगर परिषद बैठक २०७५ असार २७ मा जुफालमा बस्ने निर्णय भइसकेको र त्यसको जानकारी सरोकारवाला सबैलाई ७ दिनअगावै दिइसकेको मेयर शाही बताउँछन् । संघीय मामिला मन्त्रालयबाट नगरसभा हुने दुई दिनअघि आइतबार कार्यालय समयपछि साढे ४ बजे मन्त्रीस्तरीय निर्णय गरी नगरसभा दुनैमा गर्न निर्देशन दिइएपछि आश्चर्यमा परेको मेयर शाही बताउँछन् । नगरपालिकाको केन्द्र जुफालमै नगरसभा बस्नेगरी निर्णय भई सबैतिर पत्राचार भइसकेको अवस्थामा संघीय मामिला मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी संविधानले दिएको अधिकारमा हस्तक्षेप गरेको निष्कर्ष ठूलीभेरीका जनप्रतिनिधिले गरेका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९.(४) ले नगरसभा बैठक बस्ने मिति, समय र स्थान बैठकको कार्यसूची सहितको सूचना बैठक बस्ने दिन भन्दा कम्तीमा ७ दिन अघि नै अध्यक्षको निर्देशनमा प्रशासकीय अधिकृतले सबै सदस्यलाई पठाउने ब्यवस्था छ । मन्त्री पण्डितको आदेश पालना गर्दा सो बैठक २०७५ साउन १ गते अगावै बसेमा गैरकानुनी हुनेछ । असारभित्रै नगरपरिषद बसिसक्नुपर्छ । नबसे अर्को आर्थिक बर्षमा नगर परिषदको बैठक बसे झनै गैरकानुनी हुनेछ । विवादरहित ढंगले काम गर्दैआएका मन्त्री पण्डितले कसको स्सार्थमा स्थानीय निकायको अधिकारमा हस्तक्षेप गरे भन्ने प्रश्न उठेको छ । उनले कानुनी सल्लाह समेत नलिई एकतर्फी कुरा सुनेर नगरसभा तोकिएको ठाउँ जुफालमा नगरी दुनैमा गर्न निर्देशन दिएको आरोप छ । ठूलीभेरी नगरपालिका रह, माझफाल, जुफाल र दुनै गाविस गाभेर बनाइएको थियो । ठूलीभेरीको केन्द्र परिवर्तन २०७४ असारमा कानुन अनुसार नगरसभाको बहुमतबाट जुफालमा सार्ने निर्णय गरी फागुनमा राजपत्रमा सूचना प्रकाशित गरेपछि सारिएको थियो ।

स्थानीय सरकार संचालन ऐनमा पहिलो पटक निर्वाचित जनप्रतिनिधिले साधारण बहुमतका आधारमा केन्द्र वा नाम परिवर्तन गर्नसक्ने कानुनी ब्यवस्था छ । सोही अनुसार नगर सभाको बहुमतले केन्द्र सार्ने निर्णय गरी त्यतिबेला प्रदेश सरकार नभएकाले केन्द्र सरकारमा सिफारिस गरेको थियो । दुनै जोखिमपूर्ण ठाउँ भएकाले पनि जुफालमा केन्द्र सारिएको थियो । सदरमुकाम सार्ने निर्णयका बारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । जुन मुद्दा विचाराधीन भएको अवस्थामा अहिले नगरपालिकाको केन्द्र रहेको जुफालमा नगर परिषद नराख्न आदेश दिएर मन्त्री पण्डितले अदालतको समेत अवहेलना गरेका छन् । घमराज बुढा, नरबहादुर बुढा र उपप्रमुख योगेन्द्रबहादुर शाहीको एकतर्फी निवेदनलाई आधार मानी नगरसभा दुनैमा गर्न निर्देशनसहितको पत्र मन्त्रालयले पठाएको मेयर शाहीका समर्थकहरुको छ । जुफालमा केन्द्र राख्ने पक्षमा अहिले पनि बहुमत जनप्रतिनिधि रहेका छन् भने साविकका माझफाल र रह गाविस पनि जुफालमै केन्द्र हुनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७