व्यक्तिविशेषले होइन नीति र विधिले नै नेता तथा कार्यकर्तालाई न्याय दिन्छ : विष्णु पौडेल

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा ऐतिहासिक पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को गठन भएको छ । केन्द्रीय कमिटीको प्रथम बैठक (३ जेठ) र केन्द्रीय सचिवालयको (७ जेठ) का बैठकले पार्टीको राजनीतिक कार्यदिशा र साङ्गठनिक एकताबारे गरेका महत्वपूर्ण निर्णयहरूको आधारमा १६ जेठ २०७५ मा पार्टीका मातहतका कमिटी, जनसङ्गठन तथा पेसागत सङ्गठनहरूको एकताको कार्यादेशसहित अन्तरपार्टी निर्देशन–१ जारी भएको छ । पार्टीका समस्त कमिटी, जनसङ्गठन र नेता कार्यकर्ताले यो एकता प्रक्रियालाई व्यग्रताका साथ पर्खिरहेका छन् । खासगरी एकता प्रक्रिया कहिलेसम्म कसरी टुङ्गिएला ? सबै नेता तथा कार्यकर्तालाई यो प्रक्रियामा कसरी न्याय होला ? यी अहिलेको चासोका विषय बनेका छन् । यिनै विषयहरूलाई केन्द्रमा राखेर नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का महासचिव विष्णुप्रसाद पौडेलसँग राजेश राईले गरेको कुराकानी :-

० पार्टी एकता भएको एक महिना बितिसकेको छ । साङ्गठनिक एकताको प्रक्रिया कहाँ पुग्यो ?
– हामीले २०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसमा नेपालको राष्ट्रिय राजनीति र कम्युनिस्ट आन्दोलनमा अत्यन्तै दूरगामी महत्व राख्ने पार्टी एकता सम्पन्न गरेका छौं । यो पार्टी एकताको महत्व मुलुकका दुई ठूला शक्तिशाली पार्टीबीच एकता भयो भन्नेमा मात्र सीमित छैन । यसको महत्व र प्रभाव दूरगामी छ । यसले देशमा राजनीतिक अस्थिरताका सम्भावनालाई समाप्त गरेको छ । मुलुक स्थिर ढङ्गले अगाडि बढ्छ भन्ने बलियो आधार तयार गरेको छ । यसबाट संविधानले परिकल्पना गरेजस्तै र हामीले हाम्रो घोषणापत्रमा उल्लेख गरेजस्तै देशले राजनीतिमा स्थिरता प्राप्त गर्छ, देशमा दिगो शान्ति कायम हुन्छ, आर्थिक विकास हुन्छ, सामाजिक न्यायको सुनिश्चितता हुन्छ, मुलुक समृद्ध बन्छ र हामी समाजवादतर्फ अघि बढ्छौँ, समाजवादका लागि आवश्यक आर्थिक, सामाजिक र सांस्कृतिक पूर्वाधारहरू निर्माण गर्न सक्छौं भन्ने बलियो आधार तयार भएको छ । त्यसैलै यो एकता आफैँमा दूरगामी र ऐतिहासिक महत्वको रहेको छ ।यो एकता जति महत्वपूर्ण छ, योसँग गाँसिएका राजनीतिक र साङ्गठनिक कामहरूलाई पनि त्यही महत्व, गम्भीरता र गुरुत्वका साथमा लिनुपर्छ र अगाडि बढ्नुपर्छ ।

हामीले सर्वप्रथम सङ्गठनात्मक एकताको सन्दर्भमा ४ सय ४१ केन्द्रीय सदस्य र आठ जना आमन्त्रित सदस्य रहेको केन्द्रीय कमिटी, नौ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी निर्माण गरेका छौं । सचिवालयका बैठकहरू नियमित गरेका छौं। पार्टीको स्थायी कमिटीको बैठक पनि सम्पन्न भएको छ । हामी केन्द्रीय कमिटी बैठकको तयारीमा छौं । आवश्यक गृहकार्य गरेर केन्द्रीय कमिटीको बैठक आयोजना गर्छौ ।  सङ्गठनात्मक एकताको सन्दर्भमा यसबीचमा निकै महत्वपूर्ण कामहरू सम्पन्न गरेका छौं । प्रदेश तहको संगठनात्मक संरचनालाई कसरी एकताबद्ध गर्ने ? जिल्ला तहमा एकता प्रक्रियालाई कसरी अगाडि बढाउने ? पार्टीका जनवर्गीय सङ्गठन र पेसागत सङ्गठनहरूको एकतालाई कसरी अघि बढाउने ? भन्ने सम्बन्धमा आवश्यक गृहकार्य गरेर सुझाव प्रस्तुत गर्न अलगअलग कार्यदल निर्माण गरेका छौं । कार्यदलले निर्धारण गरेको मापदण्ड, सीमा र व्यवस्थाअन्तर्गत रहेर कार्यदलहरूका बैठक अगाडि बढिरहेका छन् । कार्यदलको सिफारिसको जगमा उभिएर प्रदेश तह, जिल्ला तह र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया अघि बढाउँछौं । ती सङ्गठनहरूको मातहतका सङ्गठनहरूको एकता प्रक्रियालाई पनि अगाडि बढाउँछौं । यस हिसाबले हामी अगाडि बढिरहेका छौं। सामान्यतः पार्टी एकता सम्पन्न भएको मितिले तीन महिनाभित्र पार्टी एकताको आधारभूूत कार्यभार पूरा गर्नुपर्छ भन्ने हाम्रो योजना हो । मूलतः हामी त्यस दिशामा नै अघि बढिरहेका छौं ।

एकता जति महत्वपूर्ण छ, योसँग गाँसिएका राजनीतिक र साङ्गठनिक कामहरूलाई पनि त्यही महत्व, गम्भीरता र गुरुत्वका साथमा लिनुपर्छ र अगाडि बढ्नुपर्छ ।

 

पार्टीको प्रतिवेदन, विधान र नियमावली कहिलेसम्म सार्वजनिक हुन्छन् ?
– एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको ३ जेठमा सम्पन्न बैठकले नै पार्टीको राजनीतिक प्रतिवेदन र अन्तरिम विधान पारित गरिसकेको छ । त्यसलाई हामीले निर्वाचन आयोगसमक्ष बुझाइसकेका छौं । स्वभावैले सम्पादनका केही काम बाँकी छन् । ती कामहरू हामी छिट्टै सकेर प्रेसमा लैजान्छौं। स्थायी कमिटीका कमरेडहरूको सुझावसमेत दृष्टिगत गरिकन सम्पादन गर्नु बढी व्यावहारिक भएकाले सुझाव सङ्कलनको क्रम जारी छ । सुझावका आधारमा सम्पादन भएर प्रेसमा जान्छन् । यो मस्यौदा विधानको प्रभावकारी कार्यान्वयनका लागि हामीले नियमावली मस्यौदाको काम सम्पन्न गरेका छौं। त्यो नियमावली पनि स्थायी कमिटीमा छलफलका लागि प्रस्तुत भएको छ र त्यसमाथि पनि छलफल हुन्छ । यसपछि छिट्टै नै नियमावली पारित गरेर प्रकाशनमा लैजान्छौं।

० प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया जारी छ । एकतामा जिम्मेवारीको प्रश्न पनि उठ्छ । सङ्गठनलाई एकता गरेर जिम्मेवारी दि“दा कार्यकर्तालाई अन्याय हुँदैन भन्नेमा कसरी सुनिश्चित गर्नुहुन्छ ?
– यो पार्टी स्वयम् नै सबै प्रकारका विभेद, असमानता, अपमान र अन्यायविरुद्ध सङ्घर्ष गर्दै जन्मेको, हुर्केको र अगाडि बढेको पार्टी हो । त्यसकारण पार्टीभित्र जिम्मेवारी बाँडफाँडजस्ता विषयमा अन्याय भन्ने पदावलीले कुनै ठाउँमा नै उठ्न पाउँदैन । पार्टीलाई यसै पनि विधि र नीतिका आधारमा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । त्यसरी नै सञ्चालन हुँदै पनि आएको छ । अब हाम्रो पार्टी झनै ठूलो भएको छ । यसको शक्ति, सामथ्र्य र यसका नेता, कार्यकर्ता र सदस्यहरूको पङ्क्ति झनै विस्तारित भएको छ । त्यसले गर्दा यति ठूलो पार्टी, नेता, कायकर्ता र सदस्यहरूको व्यवस्थापन मुख हेरेर तय गर्न सकिँदैन । हामीले पार्टीको व्यवस्थापन नीति र विधिका आधारमा गर्ने हो, पार्टी सञ्चालन त्यही आधारमा गर्ने हो । कुनै पनि नेता, कार्यकर्ता तथा सदस्यहरूलाई कुनै व्यक्तिविशेषले होइन, नीति र विधिले नै न्याय दिन्छ । हामी हरेक निर्णय पार्टीले तय गरेका नीति र विधिका आधारमा सम्पन्न गर्छौं । हामी पार्टीलाई निर्धारित नीति र विधिको मार्गदर्शनमा अगाडि बढाउँछौं र यस आधारमा चलेको एउटा सृदढ र सुगठित पार्टीका रूपमा हामीले पार्टीको भविष्यलाई देख्न चाहन्छौं ।

हिजोको फरकफरक मान्यताद्वारा होइन, आजको पार्टीको साझा मूल्य, मान्यता, विचार र विधिको आलोक र मार्गदर्शनअनुरुप निर्देशित हुनुपर्छ

पार्टीमा फरक पृष्ठभूमि र फरक अभ्यासबाट आएका नेता कार्यकताहरू छन् । एकतामा सहज–असहज कस्तो अनुभूति गरिरहनुभएको छ ?
– एकताको पृष्ठभूमिदेखि एकताको बिन्दुसम्म र एकताको बिन्दुदेखि आजको अवस्थासम्म आइपुग्दा मैले के अनुभूति गरेको छु भने हामीले एकताको प्रक्रिया निर्धारित मितिमा सहज ढङ्गले सम्पन्न गर्न सक्छौं । हाम्रा बीचमा त्यस्ता कुनै गम्भीर समस्याहरू आएका छैनन् र हामीले नाघ्न नसक्ने, पन्छाउन नसक्ने र समधान गर्न नसक्ने त्यस प्रकृतिका कुनै गम्भीर समस्या आउँछन् भन्ने लागेको छैन । विशेषगरी मैले यसबीचमा एउटा सकारात्मक विषय के पाएको छु भने फरकफरक पृष्ठभूमि भए पनि एकले अर्कोलाई नजिकबाट बुझ्ने, एकले अर्कोका विशेषता, योग्यता र योगदानहरूलाई नजिकबाट जान्ने र परस्पर सम्मान, मर्यादा र विश्वासलाई बलियो बनाएर जाने मनोविज्ञान नै हाम्रो पार्टी एकतामा शक्तिशाली र प्रभावी बनेको छ । जरुर पृष्ठभूमि फरक छ, तर हामी पृष्ठभूमिबाट निर्देशित होइन, आजको यथार्थबाट निर्देशित हुन्छौं र भोलिको आवश्यकताबाट निर्देशित हुन्छौँ । आजको यथार्थ के हो भने हामीले राष्ट्र र जनताको आवश्यकतालाई दृष्टिगत गरेर यो एकता सम्पन्न गरेका हौं ।

यो एकताबाट आर्थिक विकास, समृद्धि र सामाजिक न्यायको माध्यमबाट मुलुकलाई समाजवादमा लैजान आवश्यक पर्ने पूर्वाधार तयार गर्न चाहन्छौं, आधार बनाउन चाहन्छौं र मुलुकलाई समाजवादतर्फ लैजान्छौं । हाम्रो एकताको अर्थ र अन्तर्य यही हो । त्यसकारण, यो बृहत् उद्देश्यतर्फ परिचालित हुनुपर्छ । हाम्रो सम्पूर्ण सामथ्र्य त्यस दिशातर्फ अगाडि बढाउनुपर्छ । हाम्रा आपसी सम्बन्धहरू हिजोका पृष्ठभूमिबाट होइन, यही आवश्यकताबाट निर्देशित हुनुपर्दछ । हिजोको फरकफरक मान्यताद्वारा होइन, आजको पार्टीको साझा मूल्य, मान्यता, विचार र विधिको आलोक र मार्गदर्शनअनुरुप निर्देशित हुनुपर्छ । त्यसरी अघि बढ्दा हामीबीचका सम्बन्धहरू स्वाभावैले हार्दिक, कमरेडली र जीवन्त भएर जान्छन् ।

पार्टी एकता केन्द्रदेखि गाउँसम्म गर्नुपर्ने भएकाले लामो समयसम्म लाग्ने देखिन्छ । एकता प्रक्रिया चलिरहँदा लामो समयसम्म पार्टीको प्रणाली र काम शिथिल हुने खतरा देखिन्छ । यो खतरा टार्न के गरिरहनुभएको छ ?
– अहिले तत्काल जिल्ला तहमा पार्टीका विभिन्न कार्यक्रममा सहभागिता जनाउन आवश्यक हुन्छ । त्यतिबेला हिजो पार्टीको प्रमुख जिम्मेवारीमा रहनुभएका कमरेडहरूलाई पार्टीको तर्फबाट प्रतिनिधित्व गरेर सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाउन निर्देशित गरिसकेका छौं । दैनिन्दिन पार्टी सञ्चालनका लागि पनि जेजस्ता संरचना बनेका छन्, ती संरचनामा रहनुभएका कमरेडहरूले आपसी सरसल्लाह गरेर अगाडि बढाउनुहुन्छ । खासगरी एकता प्रक्रिया धेरै लामो समय लाग्ने विषय होइन । हामीले केन्द्रीय तहको एकता सम्पन्न गरेका छौं । अब केन्द्रीय तहमा केन्द्रीय निकायहरू– सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगलगायतका संरचनाहरूको गठनका काम बाँकी छन् । यी कामहरू हामी दु्रत गतिमा सम्पन्न गर्छौं । त्यसपछि प्रदेश र जिल्ला तहको एकताका काम हुन्छन् । त्यसपछि जिल्ला तहले मातहतका कमिटीहरूको एकताको काम गर्छन् । यो लामो सुदूर भविष्यसम्म बाँकी रहने विषय होइन । केही हप्ता र महिनामा टुङ्ग्याउनुपर्ने विषय हो । हामी त्यही गतिमा एकता प्रक्रियालाई अगाडि बढाउँछौं ।

संसदीय मोर्चा र पार्टी मोर्चाबीच अलिक असन्तुलन देखिन्छ । यसलाई दोहोरो जिम्मेवारी नहुने गरी कसरी सन्तुलन बनाउने योजना बनाउनुभएको छ ?
– पहिलो त पार्टीको नेतृत्व, कार्यकर्ता र सदस्यहरूको पङ्क्ति आज पार्टीले अवलम्बन गरेको कार्यदिशा र कार्यनीति के छ ? त्यो क्षेत्रमा एउटा क्षेत्रमा एउटा महत्वपूर्ण शक्तिविन्यास हुन्छ । हामी सङ्घीय संसद्मा बहुमत प्राप्त हैसियतमा छौं। हाम्रा नेता तथा कार्यकर्ताहरू सङ्घीय सांसदका रूपमा उपस्थित हुनुहुन्छ । हामीले प्रादेशिक संसद्को नेतृत्व गरिरहेका छौं । प्रादेशिक संसद्मा बहुमतमा छौं। प्रादेशिक सरकार बनाएका छौं । स्थानीय तहमा पनि दुई तिहाइका साथ नेतृत्व गरिरहेका छौं । पार्टीको विशाल पक्ति सङ्घीय संसद्, सरकार, प्रदेश संसद्, सरकार र स्थानीय सरकारमा कार्यरत छ । यो कार्यशक्तिको प्रभावकारी सञ्चालनको माध्यमबाट हामीले चाहेको आर्थिक–सामाजिक रूपान्तरणका कामहरूलाई अगाडि बढाउँछौं । देशको विकासलाई अगाडि बढाउँछौं । त्यसकारण, यो कार्यशक्तिको परिचालन हाम्रो महत्वपूर्ण कार्यसूची हुनेछ । दोस्रो, पार्टीका नियमित राजनीतिक तथा सङ्गठनात्मक कामहरूलाई पनि अगाडि बढाउँछौँ । त्यसका लागि पनि आवश्यकताअनुसार कार्यशक्ति विन्यास गरेर जान्छौं ।

पार्टी छुट्टै अलग टापुमा अनि सरकार छुट्टै टापुमा रहेर काम गर्ने होइन । हामी एउटै कर्मक्षेत्रमा छौं र सँगै काम गर्दै छौं ।

० सरकारको लोकप्रियताका लागि पार्टीको परिचालन तथा पार्टी निर्माणमा सरकारको भूमिकालाई कसरी समन्वय गर्ने योजना छ ?
– यो अन्तरसम्बन्धित विषय हो । पार्टीले सरकारको प्रभाकारिताका लागि आफ्नो ठाउँबाट सघाउँछ । सरकारका राम्रा कामहरूले पार्टी निर्माणमा मद्दत पुरायाउँछ । पार्टी छुट्टै अलग टापुमा अनि सरकार छुट्टै टापुमा रहेर काम गर्ने होइन । हामी एउटै कर्मक्षेत्रमा छौं र सँगै काम गर्दै छौं । पार्टीले सरकारको प्रभावकारी कार्यसम्पादनका लागि सहयोग र मार्गदर्शन गर्छ । सरकारले गर्ने राम्रो कामको प्रभाव र परिणामले पार्टी निर्माणमा मद्दत पुर्याउँछ । त्यसैलै, पार्टी सरकारबीचको सम्बन्ध अन्योन्याश्रित छ ।

भिडियो:-

० अन्त्यमा, पार्टी एकतामा व्यग्रताका साथ कुरिरहेका नेता, कार्यकर्ता र सरकारबाट धेरै ठूलो अपेक्षा गरिरहेका जनतालाई के भन्नुहुन्छ ?
– म पार्टीका नेता तथा कार्यकर्ताहरूलाई भन्न चाहन्छु, हामी पार्टी एकता प्रक्रियामा छौं । यो एकता प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न तपार्इंहरूले आ–आफ्नो ठाउँबाट योगदान गर्नुहुनेछ । फरकफरक पृष्ठभूमिबाट आएका हामीले एकअर्कालाई बुझ्ने र एकअर्काको सम्बन्धलाई जीवन्त, घनिष्ट र कमरेडेली बनाउने दिशामा पहलकदमी लिनुहुनेछ भन्ने म आग्रह गर्न चाहन्छु ।  जहाँसम्म सरकारको सन्दर्भ छ, सरकारले मूलतः केही महत्वपूर्ण काम सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले नेपाल दुई मुलुकका बीचमा रहिआएको भूपरिवेष्टित मुलुकको रूपमा हामीले भन्दै आएका थियौं । दुवै छिमेकीसँगको सम्बन्ध नेपालको हितलाई केन्द्रमा राखेर अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको हो । तर, विशेषगरी नेपाल–भारत सम्बन्धमा केही जटिलता र कठिनाइ उत्पन्न भएका थिए । यसबीचमा हामीले नेपालको हितलाई केन्द्रमा राखेर भारतसँगको सम्बन्धलाई पनि सामान्यीकरण गर्यौं । नेपालको हितलाई केन्द्रमा राखेर सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । उदाहरणका लागि विराटनगरमा रहेको भारतको एउटा अड्डा त्यहाँबाट हट्ने अवस्था भयो । कतिपय हवाईमार्गहरू तय गर्न सफल भएका छाैं। त्यसैगरी, छिमेकी मित्रराष्ट्र चीनसँग पनि प्रगाढ र सुमधुर सम्बन्ध कायम भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै मुलुकको भ्रमण गर्नुभएको छ ।

सरकारले यातायत क्षेत्रको सिन्डिकेट तोडेको छ । सामाजिक क्षेत्रका सबै खाले सिन्डिकेट तोडेर अघि बढ्न सरकार प्रयत्नरत छ । त्यसैगरी, सरकारले नीति कार्यक्रम ल्याएको छ । सरकारले बजेट ल्याएको छ । यसरी सरकारले हामी यस वर्षलाई समृद्धिको आधार वर्षका रूपमा सदुपयोग गर्न चाहन्छौं भन्ने कुराको सङ्केत गरिररहेको छ । नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनले हामीलाई समृद्धि हासिल गर्न र समाजवादको आधार निर्माण गर्न महत्वपूर्ण योगदान गर्नेछ भन्ने हामी ठान्छौं । पार्टीका तर्फबाट सरकारले गरेका राम्रा कामहरू जनतासम्म लैजाने र सरकारलाई अझ राम्रो काम गर्न मद्दत पुरायाउने– यी दुवै काम हामीले सँगै गर्छौं । पार्टीको विचार र त्यसको आलोकमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई प्रभावकारी बनाएर जानुपर्छ । त्यसतर्फ म सबैको ध्यानाकर्षित गर्न चाहन्छु ।

नवयुग, २०७५ असार

प्रतिक्रिया दिनुहोस्