राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा अभियानकर्मीलाई १३ वर्ष जेल सजाय


२७ असार २०७५, बुधबार
102474625 qinyongmin

काठमाडौं, २७ असार । चीनका चर्चित प्रजातन्त्रबादी अभियानकर्मीहरूमध्येका एक जनालाई ‘राज्यविरुद्धको षड्यन्त्र’ गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ । ६४ वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन् ।102474625 qinyongmin

यसअघि एक जना मानव अधिकारवादी वकिलले चिन योङले ‘अदालतलाई सहयोग गर्न अस्वीकार गरेको’ र मुद्दाको सुनुवाइका क्रममा केही बोल्न नमानेको समाचार संस्था एएफपीलाई बताएका थिए । मध्यचीनको वूखान शहरस्थित एउटा अदालतले चिन योङ दोषी पाइएको अनलाइनमार्फत पुष्टि गरेको हो ।

कारण

चाइनिज ह्युमन राइट्स डिफेन्डर नामक संस्थामा अनुसन्धानकर्ताका रुपमा कार्यरत फ्रान्सिस इभले चिन योङलाई ‘एउटा प्रजातान्त्रिक चीनमा विश्वास राखेका कारण र मानव अधिकारको पक्षमा वकालत गरेकाले दोषी ठहर्‍याइएको’ बताइन् । उनले थपिन्, ‘तीन वर्षसम्म अनुसन्धान गरे पनि अधिकारीहरूले उनीविरुद्ध प्रमाण जुटाउन सकेनन् ।’

चिन योङ चाइना डेमोक्र्यासी पार्टीका सह–संस्थापक हुन् । सन् १९९८ मा औपचारिक रुपमा दल दर्ता गराउन खोजेपछि उनलाई १२ वर्ष जेल सजाय सुनाइएको थियो । त्यसको एक वर्षपछि जेलमै भएको बेला नोबेल शान्ति पुरस्कारका लागि उनी मनोनित भए । सन् २०१५ को ज्यानुअरीमा पक्राउ पर्ने बेला उनले चीनको प्रजातन्त्र पक्षधर चाइना ह्युमन राइट्स वाचको नेतृत्व गरिरहेका थिए ।

आलोचना

सो संस्थाका गतिविधिमा समूहगत छलफलको आयोजना र अनलाइनमार्फत सरकारी नीतिको आलोचना गर्ने रहेका छन् । चिनियाँ सरकारका आलोचक एक जना नोबेल शान्ति पुरस्कार विजेताकी श्रीमती बेइजिङ छाडेर जर्मनी गएको भोलिपल्ट चिन योङलाई जेल सजाय सुनाइएको खबर बाहिर आएको हो ।

लिउ शियाओबोले सन् २०१० मा नोबेल शान्ति पुरस्कार पाएयता उनकी ५७ वर्षीया श्रीमती लिउ सियालाई बेइजिङस्थित निवासमा नजरबन्दमा राखिएको थियो । विश्वविद्यालयका प्राध्यापकबाट अधिकारवादी बनेका लिउ शियाओबोलाई राज्यविरुद्धको षड्यन्त्र गर्न उक्साएको आरोपमा सन् २००९ मा जेल सजाय सुनाइएको थियो । गत वर्ष कलेजोको क्यान्सरबाट लिउ शियाओबोको निधन भएको थियो । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७