राष्ट्रिय परीक्षाबोर्डमा नियुक्तिको चलखेल


२७ असार २०७५, बुधबार
girirajmani

काठमाडौं, २७ असार । शिक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल र सदस्य सचिव दुर्गा अर्यालको पद खारेज भएको छ । मन्त्रिपरिषदको २०७५ असार २० को निर्णयले उनीहरुको पद खारेज भएको हो । अध्यक्ष पौडेल लोकसेवा आयोगकै अध्यक्षको संयोजकत्वको समितिले सिफारिस गरी नियुक्त भएका थिए । उनलाई २०७४ साउन १६ मा सिफारिस गरिए पनि शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियुक्ति गर्दा २०७४ असोजमा गरे । जुन बेला निर्वाचन आचारसंहिता लागू भइसकेको थियो । निर्वाचन आचारसंहिता लागू भइसकेपछि भएकाले उनको नियुक्ति पनि खारेज भएको छ ।

girirajmani
गिरिराजमणि पोखरेल र दुर्गा अर्याल

सदस्य सचिव दुर्गा अर्याल भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका हुन् । उनी २०७४ पुस १२ मा नियुक्त भएका थिए । तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले ठूलो रकम घुस लिएर उनलाई नियुक्त गरेको आरोप लागेको थियो ।

अध्यक्ष र सदस्यसचिवको नियुक्ति खारेजीसँगै पुनः नियुक्तिको चलखेल तीव्र हुन थालेको छ । सदस्यसचिवमा पुनः नियुक्ति हुनका लागि दुर्गा अर्यालले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका आर्थिक संकलक सुदर्शन पराजुलीदेखि सचिवालयका प्रकाश खतिवडाहरुसम्मलाई प्रभावमा पारिसकेका छन् । मन्त्रिपरिषद्बाटै नियुक्ति हुने भएकाले अर्यालले शिक्षा क्षेत्रका एमाले निकट कलेज संचालकहरु लोकबहादुर भण्डारी, रमेश सिलवालहरुलाई लिएर प्रधानमन्त्रीका वरिपरि रहेकाहरुसँग पनि पटक पटक बसिसकेका छन् ।

शैक्षिक माफियाहरुको हितमा मात्र काम गर्दैआएका दुर्गा अर्याललाई नियुक्ति गर्नका लागि जेभियरका संचालक लोकबहादुर भण्डारी र गोल्डेनगेट कलेजका सिलवालहरु पनि प्रधानमन्त्री केपी ओलीसम्म पुगेर लबिङ गरिरहेका छन् । एक दुई दिनमै नियुक्तिपत्र लिन अर्यालको दौडधूप छ । अर्यालको शिक्षा सचिव खगराज बरालसँग पनि बाक्लो उठबस छ । शिक्षा सचिव बरालको घरमै चाकरी गर्न बारम्बार धाउने गरेका उनी पुनर्निियुक्ति हुने कुरामा ढुक्क रहेको बताउँदै आएका छन् । दुर्गा अर्याललाई राष्ट्रिय परीक्षाबोर्डको सदस्य सचिव बनाउन अर्का पूर्वविवादास्पद सदस्य सचिव नारायण कोइराला पनि लागेका छन् । ठूला उच्च माविहरुसँग ठूलो आर्थिक चलखेलमा परीक्षाफल नै तलमाथि गर्ने गरेको आरोप नारायण कोइराला र दुर्गा अर्यालको जोडीमाथि लाग्नेगरेको छ । शैक्षिक माफियाहरु जतिसुकै खर्च गरेर भए पनि अर्याललाई सदस्यसचिव बनाउने गरी लागिरहेका छन् ।

साविक उच्च मावि शिक्षा परिषद्का परीक्षा प्रमुख हुँदा अर्यालले उच्च माविहरुबाट घुस खाएर प्रश्नपत्र आउट गरेको बिषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको थियो । केन्द्रले छानबिन गरेपछि जागिर चट् हुनसक्ने भएपछि दुर्गा अर्यालले नै केन्द्रका अधिकारीलाई ठूलो रकम घुस दिएर सेटिङ गरी ढिसमिस पारेको आरोप लागेको छ ।

नारायण कोइराला र दुर्गा अर्याल भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट पदमुक्त भएका लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनु गलत हो भन्दै ¥याली गर्नेमध्येका कर्मचारी हुन् । अख्तियारले अर्याल र कोइरालाले गरेका अनियमितताका दर्जनौं उजुरी तामेलीमा राखिदिएबापत उनीहरुले डा. गोविन्द केसीको विरुद्ध लोकमानको पक्षमा जुलुसमा कलेजहरुबाट मानिस बटुल्ने कामसमेत गरेको आरोप लागेको थियो । अर्याल जुन पार्टीको मन्त्री भए पनि आफू सोही पार्टीको सदस्य भएको बताउने अवसरवादीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७