ईखले चम्किएका गायक दुर्गेश
काठमाडौं, २७ असार । एक दशकदेखि गायन तथा मोडलिङमा निरन्तर सक्रिय छन्–दुर्गेश थापा । यही सक्रियताका कारण उनी छुट्टै पहिचान बनाउन सफल छन् । बाग्लुङमा जन्मिएका दुर्गेश बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा होमिएका भने होइनन् । यो उनको रुचिको विषय पनि थिएन । १२ वर्षअघिको कुरा हो, दुर्गेशका बुबा भारतीय आर्मीमा जागिरे थिए । गाउँघरमा बाबु लाहुरे भयो भने छोरो पनि लाहुरे नै हुनुपर्छ भन्ने मान्यता स्थापित थियो ।
त्यसो त दुर्गेश पनि १८ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए, तर दुर्गेशको हकमा भने भारतीय सेनामा भर्ती हुनु रहरभन्दा पनि बाध्यता थियो । उनी परिवार तथा सामाजिक दबाबमा भारतीय सेनामा भर्ति हुन पुगेका थिए । भारतीय सेनामा माथिल्लो पदका हाकिमहरूले तल्लो पदका जवानहरूलाई हेप्ने कुराले उनको मन दुख्यो । उनी फौजी नीति–नियमभित्र बस्न सकेनन् । त्यसपछि फौजी जीवनलाई बाईबाई गर्दै भागेर नेपाल फर्किए । उनको यो कदमबाट छोरो इन्डियन लाहुरे भएको भन्दै गर्वले छाती चौडा पार्ने दुर्गेशका बुबा आमा खुशी भएनन्, घरपरिवारमा निराशा छायो । घरको अवस्था यतिसम्म बिग्रियो कि परिवारका सदस्यहरूले नै दुर्गेशको वास्ता गर्न छाडे, बुबाआमासँग बोलचाल नै बन्द भयो ।
त्यसपछि दुर्गेश गाउँतिरै भौँतारिएर हिड्न थाले । संयोग पनि कस्तो भने बिरक्तिएर झन्डै एक्लो जीवन बिताइरहेका गायक दुर्गेशका लागि गायक तथा संगीतकार वसन्त थापा नयाँ सम्भावना बनेर गाउँमा झुल्किए । वसन्त उनका ठूलोबुबाका छोरा हुन् । ‘म गाउँमा भौंतारिएर हिँडिरहेको थिएँ’, दुर्गेश काठमाडौं आउनुको कारण खोल्छन्, ‘वसन्त दाइले काठमाडौँ हिँड, जागिर लगाइदिन्छु भन्नुभयो अनि म उहाँकै साथ लागेर काठमाडौँ आएँ ।’ काठमाडौँ आएर वसन्तले दुर्गेशलाई कृष्ण फिल्म्समा डान्स क्लास भर्ना गरिदिए ।
त्यहाँ करिब पाँच महिनाजति डान्स प्रशिक्षण लिएपछि दुर्गेशलाई कोरस डान्स गर्ने प्रस्ताव आयो । त्यसपछि उनी शंकर बिसी आदि मोडलहरूको पछाडि नाच्न थाले । सुरुवातीका दिनमा दुर्गेशले ६० भन्दा बढी गीतमा कोरस नाचे । उनी एउटा कोरस डान्स गरेबापत २ सय ५० रुपैयाँ पारिश्रमिक पाउँथे । ‘जस्तोसुकै पेसामा पनि सुरुवाती दिन निकै कठिन हुन्छन्,’ दुर्गेश सम्झन्छन्, आर्थिक अभावले सुरु–सुरुमा दालमोठ–चिउरा मात्र खाएर कोरस नाचेको छु ।’
कोरस नाचेर मात्र खर्च धान्न मुस्किल भएपछि उनी विकल्प खोज्न थाले । यसैक्रममा टेकुस्थित बेस्ट म्यान डान्स बारमा डिजेका रूपमा काम गर्न थाले । उनलाई त्यो बेला केटीलाई घुमाएर नाच्न आउँदैनथ्यो । उनले बारमै राम्रो डान्स गर्न पनि सिके । डान्सबारबाट उनी महिनाको ४ हजार जति कमाउँथे, तर राती अबेला डान्स बारबाट कोठामा फर्कंदा घरबेटीले ढोका नखोलेर कहिलेकाहीँ उनको रात सडकमै बित्थ्यो । आफूले कैयौँ रात कान्तिपुर मल अगाडि सडक बालकहरूसँग रात बिताएको दुर्गेश सम्झन्छन् ।
यसरी संघर्ष गर्दै गएपछि दुर्गेश गीतसंगीतको रस बस्न थाल्यो । यही क्रममा दुर्गेशले रामचन्द्र काफ्लेको ‘माया लाएर के भो कसम खाएर के भो’ गीतमा ४० हजार लगानी गरे । उक्त भिडियोमा दुर्गेश आफैँले अभिनय गरे तर उक्त भिडियोको खासै चर्चा भएन । यसै सिलसिलामा दुर्गेशले ‘न घाम लाउने…’ गीत लेखे, विमलराज क्षेत्रीले उक्त गीत गाए । उनले त्यो गीतमा मुख्य भूमिकामा अभिनय गर्ने सोच बनाएका थिए तर पाएनन् । आफ्नै गीत भए पनि दुर्गेश चर्चामा आएको छैन भनेर उनलाई उक्त गीतमा अभिनय गर्न रोक लगाइयो । दुर्गेशले यस्तो धेरै अपमान सहेका छन् ।
शुरु–शुरुमा कोरस नाच्दा उनलाई कतिपयले तँ मोडल बन्न लायक छस् र भनेर गिज्याउँथे, कहिलेकाहीँ कोरस नाच्दानाच्दै निर्देशकले निकालिदिएको क्षण अहिले दुर्गेशका आँखा अघि तेर्सिन्छन् । अरूले जति अपमान गरे पनि उनले त्यसलाई मनमा लिइरहे, दुर्गेशलाई विष नभएको सर्प र इख नभएको छोरा काम छैन भन्ने उखान राम्रोसँग थाहा थियो । त्यसैले दुर्गेश एक दिन सांगीतिक क्षेत्रको बादशाह बनेर निस्कन्छु भन्ने इख लिएर निरन्तर हिडिरहे आफ्नै बाटोमा ।
यही क्रममा ०६६ मा दुर्गेशले ‘अँधेरीमा जुन लागेकै हो…’ गीत गाएर गायन कला पनि देखाए साथै वसन्त थापाको ‘जूनले मात्र देख्छ’ गीतमा डान्स गर्ने मौका पाए । गायकका रूपमा चर्चामा नआए पनि दुर्गेशको मोडलिङको चर्चा हुन थाल्यो । तीन वर्षअघि ‘मुद्दा हाल्दिन्छु’ गीत बजारमा आएपछि दुर्गेशको गायन कलाको धेरैले प्रशंसा गरे । त्यसयता उनले निरन्तर प्रशंसा पाइरहेका छन् । दुर्गेशले अहिलेसम्म १२ वटा भन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने २५ सयभन्दा बढी भिडियोमा अभिनय गरेका छन् ।
गायन तथा मोडलिङमा सक्रिय दुर्गेश युट्युबमा पनि त्यत्तिकै सक्रिय छन् । गायन र मोडलिङमा संघर्ष गरिरहेका थापामा राम्रो युट्युबर बन्ने सोच थियो । लागिपरे के प्राप्त गर्न सकिँदैन ? उनी पनि निरन्तरको प्रयासपछि सफल युट्युबर भए । हाल उनको युट्युब च्यानल १ लाख ३३ हजारभन्दा बढीले सब्सक्राइब गरेका छन् । अहिले आफूले युट्युबबाट मात्र मासिक १ लाखभन्दा बढी आम्दानी गर्ने गरेको खबर कान्तिपुर साप्ताहिकले लेखेको छ ।