एसियाड तयारीलाई तेक्वान्दो टोली कोरिया प्रस्थान


३० असार २०७५, शनिबार
1 1

 

काठमाडौं, असार ३०: इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ ।1 1

बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत पुम्सेमा पार्वतीसहित सिना मादेन र निता गुरुङले सहभागिता जनाउने छन् । प्रशिक्षकमा ब्रदीप्रसाद घिमिरे र नोर्बु लामा तथा व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव विष्टले एसियाली खेलकुदमा तेक्वान्दोको सफलता गर्व गर्न लायक भएको बताउदै इन्डोनेसिया एसियाडमा पनि तेक्वान्दोबाट पदकको धेरै आशा गरिएको बताए । उनले खेलाडीले हासिल गरेको पदक खेलाडीको व्यक्तिगत प्रतिष्ठासंग मात्र नभइ सिंगो राष्ट्रको प्रतिष्ठासंग जोडिने विषय भएकोले खेलाडीले राष्ट्रलाई सम्झेर प्रतिस्पर्धा गर्न आग्रह गरे ।

इन्डोनेसिया एसियाडको तयारीका लागि जाने तेक्वान्दोको पुम्से टोली अन्तिम हो । यसअघि गेरोगीतर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरु सिओल पुगिसकेका छन् । पहिलो चरणमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, अनोज पुजारी, अस्मिता खड्का, निमा गुरुङ र ज्ञानी चुनारा तथा प्रशिक्षक संगीना वैद्य बैशाख २० गते सिओल गएका थिए । त्यसपछि करिब २ साताअघि खेलाडी भुपेन श्रेष्ठ, संगीता बस्याल र निशा रावल तथा प्रशिक्षक दीपक विष्ट सिओल प्रस्थान गरेका थिए ।

बैदेशिक प्रशिक्षणपछि टोली एसियाडमा सहभागी हुन सिओलबाटै अगस्ट २ तारिख इन्डोनेसिया जाने कार्यक्रम छ । एसियाली खेलकुदमा नेपालले हासिल गरेको सबैभन्दा ठूलो पदक रजत हो । त्यो सफलता तेक्वान्दोकै सविता राजभण्डारी (हाल अमेरिका) ले १९९८ मा थाइल्यान्डको बैंककमा भएको १३ औं एसियाडमा हात पारेकी थिइन् ।

एसियाली खेलकुदमा नेपालले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको १० औं संस्करणदेखि तेक्वान्दोमा नियमित सहभागिता जनाउदै आएको छ । सुरुको सहभागितामै नेपालले तेक्वान्दोमा ४ कांस्य जितेको थियो । त्यत्ति बेला विधान लामा, राजकुमार राई, राजकुमार बुछे र राजकुमार गोछेले नेपाललाई कांस्य दिलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७