प्रधानमन्त्रीज्यू, मेडिकल कलेजको कुरा पानीजहाजको गफ होइन : गगन थापा


३० असार २०७५, शनिबार
GaganThapa

काठमाडौं, ३० असार : नेपाली कांग्रेसका नेता गगन थापाले मेडिकल कलेज खोल्ने कुरा पानीजहाज ल्याउने गफ जस्तो नभएको बताएका छन् । ‘नेपालमा धेरै मेडिकल कलेज खोल्ने, संसारभरका विद्यार्थी पढ्न यहाँ आइदिन्छन् अनि टन्न डलर तिर्छन् त्यसपछि नेपाल धनी हुन्छ’ भन्नु पानी जहाजको जस्तो गफ हुने उनको जिकिर छ ।

GaganThapa

डा केसीको समर्थनमा काठमाडौं माइतीघरदेखि बानेश्वरसम्म गरिएको प्रदर्शनपछि गरिएको कोण सभामा थापाले भने, ‘आज यहाँ धेरै मेडिकल कलेज खोल्ने, संसारभरका विद्यार्थी पढ्न यहाँ आइदिन्छन् अनि टन्न डलर तिर्छन् त्यसपछि नेपाल धनी हुन्छ भन्नु यो पानी जहाज जस्तो होइन प्रधानमन्त्रीज्यू, यसरी देश धनी हुँदैन । संसारका मानिसहरू मुर्ख छैनन्। बिरामी नभएको आफ्नै मेडिकल कलेजमा नेपाली विद्यार्थीहरू पढ्न छाडेका छन् ।’

थापाले प्रधानमन्त्रीको केपी शर्मा ओलीको ज्ञानको स्रोत के हो ? भनेर प्रश्न समेत गरे । उनले सोधे, ‘सम्माननीय प्रधानमन्त्रीजी तपाईंलाई यसबारे केही थाहा छैन । तपाईंको पनि ‘जनरल नलेज’ हो । मेरो दाबी छ मलाई पनि केही थाहा छैन। शिक्षामन्त्रीलाई पनि केही थाहा छैन ।’

काठमाडौंको जनसंख्या र बिरामीको अध्ययन गरेर यहाँ १० वर्ष नयाँ मेडिकल कजेल नखोल्ने नपर्ने अध्ययनबाट देखिएको समेत थापाले बताए । ‘म काठमाडौंको जनताको प्रतिनिधि हो। भो पुग्यो काठमाडौंमा मेडिकल कलेज चाहिँदैन’ थापाले भने, ‘काठमाडौंमा मेडिकल कलेज खोल्ने अनुमति दिनासाथै हामी अहिल्यै भनिदिन्छौं थप २० वटा मेडिकल कलेज खुल्छ। उपत्यका बाहिर चलिरहेका पनि बन्द हुन्छन् ।’

थापाले राजनीतिक व्यक्तिभन्दा निष्ठापूर्वक लागेका डा केसीको जीवन मूल्यवान् भएको बताए। उनले केदारभक्त माथेमाको टोलीले तयार गरेको प्रतिवेदन तोडमोड नगरी संसदमा पेस गर्न आग्रह गरे। ‘सरकारलाई अनुरोध गर्दैछु। केसी एक जोगी हुन्। हिम्मत छ भने जागिर छोडेर आऊ भन्नेहरु पनि छन्’, थापाले थपे, ‘जसले जिन्दगी छोड्छु भनेको छ, उसलाई जागिरको के चिन्ता?’ डा केसीमाथि लगाइएको राजनीतिक छापको पनि थापाले विरोध गरे।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७