स्मार्ट लाइसेन्स नै नक्कली भेटिएपछि…


३१ असार २०७५, आईतवार
smart licence

काठमाडौं, ३१ असार । सवारी चालक अनुमति–पत्र (लाइसेन्स) को चरम दुरुपयोग बढेपछि सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको हो । तर, अहिले स्मार्ट लाइसेन्स नै नक्कली भेटिएका छन् । नक्कली लाइसेन्स रोक्न स्मार्ट लाइसेन्स ल्याएको सरकारलाई स्मार्ट लाइसेन्स नै नक्कली भेटिएपछि टाउको दुःखाइको विषय बनेको छ । smart licence

नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि स्मार्ट लाइसेन्सको पनि नक्कली कारोबार चलिरहेको घटना पुष्टि भएको हो । नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेपछि स्मार्ट लाइसेन्स पनि नक्कली फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले दावी गरेको छ ।

मनोज बग्गीखानास्थित ट्राफिक प्रहरी महाशाखाबाटै पक्राउ परेका हुन् भने चक्र ललितपुरको ग्वार्कोमा समातिएका हुन् । महाशाखाका अनुसार मनोजले ९० हजार र चक्रले १२ हजार रुपैयाँमा नक्कली स्मार्ट लाइसेन्स खरिद गरेको खुलेको छ । नक्कली लाइसेन्स प्रयोग गरी मनोजले टिपर चलाइरहेका थिए भने चक्रले चक्रपथ रुटमा चल्ने बा.५ख २८५४ नम्बरको बस चलाउँदै आएका थिए ।

यसरी पत्तो लाग्यो नक्कली स्मार्ट लाइसेन्स

ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो । मनोज पनि ट्राफिक नियम उल्लंघन गरेपछि फन्दामा परेका थिए । उनको लाइसेन्स यातायात व्यवस्था विभागमा परीक्षण गर्न पठाएपछि नक्कली भएको पुष्टि भएको महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुले बताएका छन् ।
नुवाकोटका मनोजले ९० हजार रुपैयाँ तिरेर किनेको ०१–०६–००२५१०८ नम्बरको स्मार्ट लाइसेन्स परीक्षण गर्दा सो नम्बरमा लाइसेन्स लिने अरू नै व्यक्ति भेटियो । मनोजको लाइसेन्स नक्कली भएको रहस्य खुल्यो । पक्राउ परेका चक्रको लाइसेन्स पनि काठमाडौंका विष्णु महर्जनको नाममा रहेको कोड नम्बरबाट लिइएको खुलेको हो ।

कसले बनाईरहेको छ नक्कली स्मार्ट लाइसेन्स ?

नेपालीलाई स्मार्ट लाइसेन्स भारतीय कम्पनी मद्रास सेक्युरिटीले बनाउँदै आएको छ । यो कम्पनीले टेण्डर पाएको हो । बरामद नक्कली स्मार्ट लाइसेन्स पनि यही कम्पनीले बनाएर बिक्री गरेको यातायात व्यवस्था विभाग स्रोत बताउँछ । एउटै कोड नम्बरको लाइसेन्स नेपालस्थित मद्रास सेक्युरिटी बाहेक अरूले दिनै नसक्ने दाबी प्रहरी स्रोतको पनि छ ।

तर, महाशाखा प्रमुख एसएसपी पन्त अनुसन्धान भइहरेकाले सत्यतथ्य पत्ता लाग्ने बताउँछन् । ‘केही व्यक्तिमाथि निगरानी बढाइएको छ । उनीहरूले यस्ता लाइसेन्स मोटामोटी ५० हजार रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ,’ पन्तले भने, ‘अनुसन्धान नै टुंगोमा नपुगी सबै तथ्य बाहिर ल्याउन उपयुक्त नहोला ।’

हेरैकै भरमा नक्कली र सक्कली जाँच

लाइसेन्स स्मार्ट बने पनि जाँच गर्ने स्मार्ट प्रविधि ट्राफिक प्रहरीलाई नदिँदा कारोबार बढेको बताउँछन् महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुर  । उनी भन्छन्, ‘लाइसेन्स स्मार्ट बन्यो, तर परीक्षण गर्ने प्रणाली स्मार्ट हुन सकेन । हामीले जति पनि नक्कली स्मार्ट लाइसेन्स समातेका छौं, ती सबै शंकाका आधारमा मात्रै समातिएका हुन् ।’

यातायात व्यवस्था विभागमा गएर परीक्षण गर्दा ती नक्कली नै ठहरिए । यस्तो मेसिन चोक–चोकमा खटिने ट्राफिक प्रहरीसँग हुनुपर्ने हो । यही कमजोरीको फाइदा उठाउँदै धेरैले नक्कली लाइसेन्स प्रयोग गरिरहेका छन् भन्ने हाम्रो अनुमान छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त पनि नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी रहेको बताउँछन् । उनी भन्छन्, ‘स्मार्ट लाइसेन्स नक्कली कि सक्कली भनेर परीक्षण गर्ने मेशिन हामीसँग छैन । म्यानुअल चेकिङकै आधारमा यस्ता लाइसेन्स प्रयोग गर्ने केही पक्राउ परेका छन् । यसले के देखाउँछ भने नक्कली स्मार्ट लाइसेन्स बजारमा धेरै छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७