जर्मनीका तर्फबाट विश्वकपको ट्रफी फिलिप लाहमले प्रस्तुत गर्ने
काठमाडौ, ३० असार (एजेन्सी) । रसियामा जारी विश्वकप फुटबलको २०१८को फाइनलमा विश्वकपको ट्रफी जर्मनी पूर्व कप्तान फिलिप लाहामले प्रस्तुत गर्ने भएका छन् ।
डिफेन्डिङ च्याम्पियन जर्मनीको तर्फबाट पूर्व कप्तान लाहानले रसियको लुज्निकी रंगशालामा हुने विश्वकप फाइनलमा ट्रफी प्रस्तुत गर्ने भएका हुन् ।
उनले भनेका छन्,‘म जर्मनीको राष्ट्रिय टोलीका तर्फबाट विश्वकप फुटबलको ट्रफीलाई फाइनलमा प्रस्तुत गर्दैछु ।’
उनले विश्व विजेता बन्ने अभूतपूर्व अवसर दिएको र विगत चार वर्षदेखि देशको गौरव बनेको ट्रफी आइतबार राति यस वर्षको विजेतालाई प्रदान गरिने बताए ।
‘हामी हाम्रो त्यो गौरव भावी विजेतालाई सुम्पिँदै छौं । आगामी चार वर्षको विश्व विजेतालाई ट्रफी प्रदान गर्ने अवसर पाउनु मेरा लागि वास्तवमै अविस्मरणीय क्षण हुनेछ ।’, उनले भने,‘कप्तानको नाताले विश्वकप उचाल्ने र त्यसपछि अन्य राष्ट्रका खेलाडीलाई हस्तान्तरण गरेका खेलाडी सम्झँदा नै आफूलाई निकै भाग्यमानी ठान्दछु ।’
उनले ट्रफि हस्तान्तरणको क्षण जर्मनीका लागि एक दुःखद क्षण हुने समेत बताएका छन् । ‘ट्रफी फेरि पनि जित्नका लागि ऊर्जा प्राप्त हुनेछ । यो समयलाई हामीले अर्को विश्वकपका लागि आफ्ना बलिया पक्षहरू बटुल्ने क्षणका रूपमा लिनुपर्छ ।’, उनले भने ।