राजदूत नियुक्तिको निर्देशिका लागू, राजदूत बन्न १४ योग्यता चाहिने


१ श्रावण २०७५, मंगलवार
Pradeep Gyawali

काठमाडौं, १ साउन । सरकारले निर्माण गरेको राजदूत नियुक्रि निर्देशिका आज (मंगलबार) बाट लागू भएको छ । सरकारले कुनै पनि देशमा राजदूत रिक्त हुनु भन्दा तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ ।

Pradeep Gyawali

राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने तथा दूतावासका काम ठप्प हुने हुँदा सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडिदेखि थाल्ने गरी निर्देशिका तयार गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । निर्देशिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ ।

मन्त्रालयले राजदूत नियुक्तिका लागि प्रारम्भिक अध्ययन गरी सम्भावित उम्मेद्वारहरुको टुङ्गो लगाउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । यसरी प्रारम्भिक उम्मेद्वारहरु छनोट गर्दा परराष्ट्र सेवा र सामाजिक काममा संलग्नतालाई हेरिन्छ । साथै त्यसमा विषयगत दक्षतालाई समेत ध्यानमा राखिने ज्ञवालीले जानकारी दिए । ‘एउटा राजदूत नियुक्त गर्दा संसदीय सुनुवाई हुँदै सम्बन्धित देशबाट एग्रीमो आउन समय लाग्ने हुँदा प्रक्रियालाई अगाडिदेखि नै शुरु गर्ने गरी निर्देशिका तयार गरेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यसले राजदूतहरुको नियुक्तिमा देखिँदै आएको ढिलाई कम गर्नेछ ।’

यसरी राजदूत नियुक्त गर्दा संविधानले तोके अनुसारको समावेशी सिद्धान्त अपाइने समेत उनले जानकारी दिएका छन् । राजदूतहरुको नियुक्तिबाट परराष्ट्र सेवा र विशिष्ठ योगदान पुराएका (राजनीतिक नियुक्ति) ५०–५० प्रतिशतको आधारमा सिफारिस गर्ने निर्देशिका बनाइएको छ ।

मन्त्री ज्ञवालीका अनुसार यसरी राजदूत नियुक्त गर्दा १४ वटा योग्यतालाई समेत ध्यानमा दिइने छ । अब राजदूत नियुक्तिका लागि न्यूतम शैक्षिक योग्यता स्नातक हुनु पर्नेछ । त्यस्तै विदेशी नागरिकता नलिएको हुनु पर्नेछ । साथै कुटनीतिक अनुभवलाई समेत जोड दिइएको छ । राजदूतका लागि सिफारिस गर्दा कुन देशका लागि सिफारिस गर्ने हो, त्यस देशमा नेपालको तर्फबाट सम्पादन हुने कामको ज्ञान आवश्यक पर्नेछ । त्यस्तै एनजिओमा काम गर्नेलाई सिफारिस गरिने छैन । कुनै पनि विदेशी संस्थामा काम गर्ने, अन्य देशको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्ति राजदूत हुनयोग्य हुने छैन । यसरी पहिला काम गरेको भए अवकाश लिएको १० वर्षभन्दा बढी भएको हुनु पर्नेछ उल्लेख छ ।

त्यस्तै निर्देशिकाले राजदूतको काम कर्तव्यको बारेमा समेत स्पष्ट व्यवस्था गरेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार राजदूतहरुलाई आचारसंहिताले समेत बाँधिने छ ।

राजदूतलाई प्रधानमन्त्रीले सपथ खुवाउने

यसैबीच राजदूतलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था निर्देशिकाले गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार राष्ट्रपतिबाट राजदूत नियुक्त भएसँगै सम्बन्धित देशमा जानु अगाडि राजदूतले प्रधानमन्त्रीसँग सपथ लिनु पर्नेछ । मन्त्रिपरिषदको निर्णयबाट सिफारिस हुने नाममाथि संसदीय सुनुवाई हुनेछ । संसदीय सुनुवाईले अनुमोदन गरेपछि सम्बन्धित देशको स्वीकृतिका लागि नाम सिफारिस गरि पठाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७