हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर


१ श्रावण २०७५, मंगलवार
Rss Images 1531823790859 ND Chitwan 07172018 MG 9705

चितवन, १ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन् । Rss Images 1531823790859 ND Chitwan 07172018 MG 9705

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक-फरक भएकामा अब भने बराबरी हुने गरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिए । उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले ३० लाख र विदेशीले एक करोड ५० लाख पाउँदै आएका थिए ।

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसङ्ग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली संघले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए । उनले नेपालमा जहाजको मार्ग समेत बढाएर आठ स्थानमा पुर्‍याइएको समेत जानकारी दिए । अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउने भन्दै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रम समेत तीव्र पारिएको जिकिर गरे ।

नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गरे । नेपालको सिमीकोट, पोखरा, काठमाडाैं र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी दिए । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘सो विषयमा एक–डेढ महिनामा केही नतिजा आउँछ ।’

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पुर्‍याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उनले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गरे ।

‘पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नु पर्छ’, मन्त्री अधिकारीको भनाइ छ । नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिँदै उनले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्काे आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गरे । कार्यक्रममा प्रदेश नं ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले पर्यटकीय बस सञ्चालनसँगै सौराहा र पोखराको सम्बन्ध थप विस्तार हुने जस्तै गतिविधि सातै प्रदेशमा सञ्चालन हुन सके सरकारको समृद्धिको नारा सार्थक हुने बताए । प्रदेशसभा सदस्य गीता वाग्लेले बस सेवालाई नाफासँग नजोडी उत्कृष्ट सेवा दिन सुझाव दिइन् ।

पोखरा जगदम्बा ट्राभल्सद्वारा आजदेखि सञ्चालित उक्त बसमा मिनी बारसहित यात्रुलाई खाजा र खाना, चिया कफी, पेय पदार्थको सेवा समेत उपलव्ध छ । प्रतियात्रु एक हजार ५ सय टिकट रहेको उक्त एसी बसमा वाइफाइ समेत रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । यसअघि काठमाडौँ पोखरा सेवा दिँदै आएको कम्पनीले आगामी भदौ १ गतेदेखि पोखरा–लुम्बिनी समेत बस सेवा शुरु गरिने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७