दुवईमा वेटर गरिरहेका नरेन्द्रलाई एक किलो सुन उपहार
इलाम, १ साउन । दुवई (युएइ) मा वेटर काम गरिरहेका इलाम जमुना–४ का नरेन्द्र मगर आफू एक्कासी एक किलो सुनको मालिक बन्न लागेको कुराले आफै छक्क परेका छन् ।
सपनामा समेत यति धेरै सुन नदेखेका उनी आफै यति सुनको हकदार बन्ने सौभाग्य पाएपछि सपनामा नदेखेको कुरा पनि विपनामा पूरा हुँदोरहेछ भन्ने निष्कर्षमा पुगेका छन् । उनले दुवईमा एक किलो सुन उपहार पाएका छन् । दुवइको एक मनी एक्सचेन्जबाट पैसा पठाएका उनले एक किलो सुन उपहार पाएका हुन् । अल अहलिया एक्सचेन्जमार्फत पैसा पठाएका इलाम–४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको हो । लक्की ड्र गर्दा नेपाली नागरिक नरेन्द्र मगरको नाम सार्वजनिक भयो । तर नरेन्द्रसँग दिनभर सम्पर्क हुन सकेन ।
‘नेपाल पैसा पठाउँदा एक्सचेन्जलाई दिएको नरेन्द्रको नम्बरमा फोन गर्दा उहाँसँग सम्पर्क हुन सकेन, हामीले नेपालमा आफन्तसँग सम्पर्क गरिरहेका छौं,’ एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधव ढकालले भने । गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तर्गत पैसा पठाउनेमध्ये एक जनालाई मेघा ड्रमार्फत एक किलो सुन उपहारको व्यवस्था गरिएको थियो । आइतबार भएको ड्रमा २ वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरमा कार्यरत नरेन्द्रलाई उपहार परेको एक्सचेञ्जका अपरेसन हेड कमल सुब्बाले जानकारी दिए ।
आबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा कम्प्युटर प्रणालीमार्फत लक्की ड्र गरिएको थियो । नरेन्द्रले गएको १२ जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिर्हाम नेपाल पठाएको एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताए ।
सुन नेपाल कसरी लैजाने ?
लक्की ड्रमा परेको सुन नरेन्द्रलाई नेपाल लैजान भने समस्या हुन्छ । किनभने विदेशबाट ५० ग्राम भन्दा धेरै सुन नेपाल लैजान पाइन्न । तर एक्सचेन्जले सुनको सट्टा पैसा दिने व्यवस्था गरेको छ । लक्की ड्र भएको दिन स्थानीय बजारमा रहेको सुनको मूल्य अनुसार नगद प्रदान गरिने छ । आइतबारको बजार भाउ अनुसार नरेन्द्रले एक लाख ५० हजार २५० दिर्हाम अथवा ४४ लाख ७८ हजार ९५२ रुपैयाँ पाउनुहुन्छ । नरेन्द्रले पाउने रकममा कर लाग्दैन । एक्सचेन्ज कम्पनीले नै बेहोर्छ ।
परिवारसँग खुशी साट्छु : नरेन्द्र
उपहारमा पाएको रकमले परिवारसँग खुशी साट्न चाहेको नरेन्द्रले बताएका छन् । ‘मसँग सम्पर्क हुन नसकेर परिवारसँग सम्पर्क गर्नुभएछ । ड्युटीमा भएकाले सम्पर्क हुन नसकेको हो,’ नरेन्द्रले भने । आफूले मेहनत गरेर दुई जना बहिनीलाई बिर्तामोडमा राखेर पढाइरहेको उनले सुनाए । ‘दाइ दशैँमा नेपाल आउने कुरा थियो, तर बिदा मात्रै आउने कि नफर्किने गरी आउने पक्का थिएन,’ नरेन्द्रकी बहिनी अनिसाले भनिन्, ‘दाइले उपहार पाएको कुरा सुनेपछि सबैजना खुशी छौं ।’