दुई नम्बर प्रदेशमा आइजीपी सचिवालयबाटै घुमुवा परिचालन


१ श्रावण २०७५, मंगलवार

जनकपुर, १ साउन । देश संघीयतामा गइसकेकोे छ । संविधानले नै प्रदेश र स्थानीय तहलाई बलियो बनाएका छन् । तर प्रहरीमा भने प्रदेशले पाएका अधिकार पनि केन्द्रले हस्तक्षेप गर्न थालेको छ । प्रहरी प्रधान कार्यालयले  तराईका जिल्ला विशेष गरी २ नम्बर प्रदेशका जिल्लामा विशेष ब्यूरोमा दरबन्दी भएका प्रहरी टोली नै परिचालन गरेर प्रदेशको अधिकारमा हस्तक्षेप गरेका छन् ।

nepal police

विशेष ब्यूरोमा दरबन्दी भएको टोली अहिले २ नम्बर प्रदेशका जनकपुर र बीरगंजमा खटिएको छ । उनीहरुलाई आइजीपी सचिवालयबाट नै परिचालन गरेको प्रहरी स्रोतले बताएको छ । प्रहरी महानिरीक्षककै सचिवालयबाट २ नम्बर प्रदेशका जिल्लामा खटाइएका टोलीमा बदनाम प्रहरीहरु छन् । प्रहरी प्रधान कार्यालयबाटै टोली खटिएपछि प्रदेश प्रहरीका प्रमुख डीआइजी दिनेश अमात्य पनि अलमलमा परेका छन् । प्रदेशबाटै खटाइनुपर्नेमा केन्द्रबाट खटाउनुलाई हस्तक्षेपको अर्थमा लिइएको छ ।

जनकपुरमा खटिएको टोलीको कमाण्ड सई कृष्णदेव साहले गरेका छन् । साह आइजीपी खनाल धनुषाको एसपी हुँदा उनका घुमुवा थिए । उनी लामो समय धनुषा जिल्ला प्रहरीमा घुमुवा बसी घुस असुलीमा बदनाम भएका सई हुन् । सई साहको असुली आतंक बढेको र मिडियामा पनि उनको बिरोध भएपछि उनलाई सरुवा गरिएको थियो । धनुषाका भन्सार नाकाबाट तस्करी गर्ने गफ्फार मियाँ, सिंगेश्वर दासहरुसँग कनेक्सन भएका सई मनग्य फाइदा लिएका साह अहिले हेडक्वाटरबाट पठाएको भन्दै जनकपुरमै अड्डा जमाएर बसेका छन् ।
यसैक्रममा भन्सार प्रमुख र प्रहरीको सेटिङमा बर्षौैदेखि संगठित तस्करी गर्दै आएको धनुषाका गफार मियाँ र सिंहेश्वर दासको लत्ताकपडा प्रहरी प्रधान कार्यालयबाट खटिएको साहको टोलीले २०७५ असार २९ को मध्यरातमा बरामद गरेको थियो । गफ्फार मियाको सामान भएको भए उनले बरामद गर्दैनथे तर उनको भन्ने थाहा नभएर बरामद गरे ।

धनुषाको खजुरी इलाका प्रहरी कार्यालय र भन्सार कार्यालय पार भएर आएको उक्त तस्करीको लत्ताकपडा लोड भएको ट्याक्टर बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ । टोलीले कपडा बोकेको मोटरसाइकल एक थान र १० वटा गाई समेत बरामद गरेको थियो । प्रहरी टोलीको नेतृत्व गरेका सई कृष्णदेव साहलाई गफ्फार मिया र सिंगेश्वर दासका कर्मचारीले ४० हजार रुपैयाँ घुस दिन खोजेका थिए । सई यादव पहिला जनकपुरमा बसेकाले मियाँ र दाससँग राम्रो सम्बन्ध भए पनि उनले घुस भने लिन सकेनन् । टोलीमा भएकाहरुबीच एकमत हुन नसकेपछि घुस नलिई सामान धनुषा प्रहरीलाई बुझाइएको थियो ।

सई साहको घर धनुषा नै हो भने उनी धनुषामा लामो समय घुमुवाका रुपमा कार्यरत रहेका थिए । सई साहलाई मासिक रुपमा घुस बुझाएर तस्करी गर्दैआएका मियाँ र दासको समूहले पछिल्लो पटक उनलाई दिन छाडेपछि केन्द्रबाटै आएर सामान बरामद गरेको आरोप लगाउन थालेको छ । सामान बरामद गरेपछि तस्करको टोलीमा संलग्न एकजनाले महिनावारी घुस लिएर पनि प्रहरीले दुःख दिएको आरोप लगाएका थिए ।
अहिले सई साहको नेतृत्वमा आइजीपी सचिवालयबाटै असई रामरेख यादवसहितको टोली जनकपुरमा तैनाथ छ । बीरगंज र बारा हेर्नेगरी हवल्दार खुसीलाल यादवको नेतृत्वमा अर्को टोली खटाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७