विश्वकप फाइनलमा मैदान छिरेका चार दर्शकलाई जेल सजाय


२ श्रावण २०७५, बुधबार
world cup final audience 20180718010346

काठमाडौं, २ साउन । विश्वकप फुटबलको आइतबार राति भएको फाइनल खेल विथोल्न मैदानभित्र छिरेका चार जनालाई जेल सजाय दिइएको छ ।world cup final audience 20180718010346

फाइनल खेल चलिरहेका बेला एक्कासी मैदानभित्र छिरेर खेल बिथोल्न खोजेको आरोपमा उनीहरुलाई १५ दिनको जेल सजाय सुनाइएको हो । फ्रान्स र क्रोएसियाबीच रुसको मस्कोस्थित लुझनिकी रङ्गशालामा सम्पन्न फाइनल खेलका क्रममा चार जना दर्शक एक्कासी मैदानमा छिरेका थिए । उनीहरू मैदानभित्र प्रवेश गर्दा दोस्रो हाफको खेल चलिरहेको थियो ।

एक्कासी दर्शक मैदानभित्र छिरेपछि केही समय खेल अवरुद्ध बनेको थियो । अदालतले ती चारै जनालाई आगामी तीन वर्षसम्म कुनै पनि खेलकुद प्रतियोगिता हेर्न रङ्गशाला प्रवेशमा समेत रोक लगाएको छ । खासमा उनीहरू रुसको एउटा संगठनका सदस्य हुन् र आफ्नो राजनीतिक माग पूरा गराउन दबाब दिने उद्देश्यले विश्वकपको फाइनलमा उनीहरूले त्यस्तो हर्कत गरेका थिए ।

उनीहरू चारै जना फाइनल खेल चलिरहँदा पुलिसको पोसाक लगाएर ८० हजार दर्शकले खचाखच भरिएको रङ्गशालामा मैदानभित्र पसेका थिए । ती चारै जनाको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरूलाई तत्कालै सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका थिए । २१ औं विश्वकपको समापन समारोह पनि भएकाले त्यति बेला रुसका राष्ट्रपतिसँगै फ्रान्स र क्रोएसियाका राष्ट्रप्रमुख पनि रङ्गशालामा उपस्थित थिए ।

यता विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि रङ्गशालामै उपस्थित थिए । मैदानमा प्रवेश गर्ने व्यक्तिहरू आबद्ध संगठनले जेलमा रहेका राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गरिनुपर्ने माग राख्दै आएको थियो । विश्व खेलकुदको भावना र मर्ममाथि आघात पु¥याएको आरोपमा उनीहरूलाई जेल सजाय तोकिएको निर्णय अदालतले सुनाएको छ । उनीहरूमाथि अनधिकृत रूपमा प्रहरीको पोसाक लगाएको आरोप पनि लगाइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७