गेसो पदाधिकारीको नेकपा अध्यक्ष प्रचण्डसँग भेटघाट
काठमाडौं, २ साउन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) पदाधिकारीले आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरेका छन् ।
गेसो सभापति कृष्णकुमार राईको नेतृत्वमा अध्यक्ष प्रचण्डकै निवास ललितपुर खुमलटारमा भएको भेटघाटमा गेसो पदाधिकारीले आफ्नो संस्थाले गोरखा सैनिकहरुको हकहितमा उठाएको मुद्दाहरुका बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । भेटमा गोरखाहरु समस्या समाधानका निम्ति गठित प्राविधिक समितिले तयार गरी २२ मार्च २०१८ मा दुबै देशको सरकारलाई औपचारिक रुपमा हस्तान्तर गरिएको प्रतिवेदनबारे गेसो सभापति राईले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । भेटमा सभापति राईले बेलायत सरकार र नेपाल सरकारबीच गोरखा समस्या समाधानका लागि नेपालको तर्फबाट वार्ता समिति बनाई चाँडोभन्दा चाँडो वार्ताको लागि पहल गराई दिन आग्रह गरेका छन् ।
गेसो पदाधिकारीको भनाईपछि अध्यक्ष प्रचण्डले गोरखाहरुको समस्याप्रति आफू पूर्णरुपमा जानकार रहेको बताउँदै वर्तमान सरकारले यो समस्यालाई जतिसक्दो चाँडो हल गर्नुपर्ने बताए । उनले वर्तमान सरकार देशको समृद्धिका लागि निर्माण भएको जनाउँदै गोरखाहरुको समस्यालाई यहि सरकारले समाधान गर्ने पनि बताए । उनले भने, ‘मैले प्रधानमन्त्री केपीजीलाई भेट्दैछु, गोरखाहरुको समस्याका बारेमा म मेरो ठाउँबाट कुरा राख्नेछु ।’ भेटघाट कार्यक्रममा गेसो सभापति कृष्णकुमार राई, उपसभापति मणि किरात वान्तवा, गेसो सल्लाहकार महेन्द्रलाल राई, गोर्खाविज्ञ डा. चन्द्र लक्सम, सजिन राईलगायत सहभागिता थियो ।