जग्गा खरिदबिक्रीमा आनाको डेढ लाख घुस, कित्ताकाट फुकुवा गर्दैै सरकार


५ श्रावण २०७५, शनिबार
krshi 1 1

काठमाडौं, ५ साउन । कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयले कित्ताकाटमा लगाएको रोक फुकुवा गर्ने तयारी गरेको छ । तत्कालीन भूमिसुधार तथा ब्यवस्था मन्त्रालयले २०७४ साउन २६ मा कृषियोग्य जग्गाको कित्ताकाट गर्न रोक लगाउन निर्णय गरेको थियो । जमिनको खण्डीकरण बढेकाले रोक लगाए पनि मालपोत र नापी कार्यालयका कर्मचारीले कित्ताकाटका नाममा काठमाडौं उपत्यकामा प्रतिआना डेढलाख रुपैयाँ घुस असुली गर्ने गरेको र उपत्यका बाहिरका जिल्लामा पनि आनाको न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्म असुली गरेको गुनासोपछि कृषि भूमिब्यवस्था मन्त्रालयले कित्ताकाटमा रोक लगाउने निर्णय बदर गर्न लागेको हो ।

krshi 1

तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले असल मनसायका साथ कित्ताकाटमा रोक लगाउने निर्णय गरेका थिए । तर त्यो निर्णय मालपोत र नापी कार्यालयका कर्मचारीका लागि घुस असुली गर्ने निहुँ बन्यो । मालपोत र नापीका कर्मचारीले घुस नदिनेलाई त्यही परिपत्र देखाउने र दिनेलाई खुरुखुरु कित्ताकाट गरेका थिए । १ बर्षको बीचमा काठमाडौं उपत्यकामा मात्रै कित्ताकाटमामात्रै ५ अर्ब भन्दा बढी घुसको कारोबार मालपोत र नापीका कर्मचारीदेखि लेखापढी ब्यवयासीले गरेको भूमिसुधार मन्त्रालयका अधिकारी बताउँछन् ।

लेखापढी ब्यवसायी बीचौलिया बनेर भूमिसुधार मन्त्रालयले रोकेको र सर्वोच्च अदालतले समेत फैसला मार्फत् त्यसलाई सदर गरिसकेको कित्ताकाट रोक्ने निर्णयलाई मालपोत र नापीका कर्मचारीले पालना गरेनन् । उक्त निर्णय मालपोत र नापीका कर्मचारीका लागि घुस असुली गर्ने अस्त्र बन्यो ।
भूमिसुधार मन्त्रालयको निर्णय र सर्वोच्चले त्यसलाई फैसलामार्फत् सही ठहर गरिसकेपछि पनि कृषियोग्य जमिनको ब्यापक कित्ताकाट गर्ने काम भयो । भूमिसुधार मन्त्रालयको कित्ताकाट रोक्ने निर्णय मालपोत र नापी कार्यालयका कर्मचारीका लागि घुस असुली गर्ने बहाना भएको छ ।

काठमाडौं उपत्यकाका चावहिल, कलंकी, ललितपुर, भक्तपुर, मनमैजु, टोखा, साँखु जस्ता मालपोत र नापी कार्यालयमा जग्गा खरिद बिक्री गर्दा प्रतिआना १ लाखदेखि १ लाख ५० हजारा रुपैयाँ घुस खुवाउनुपर्छ । चावहिल मालपोत कार्यालयका प्रमुख बद्रीबहादुर कार्की, ललितपुरका भीमकान्त गौतम, कलंकीका नवीन अधिकारीले यसबीचमा करोडौं रुपैयाँ कित्ताकाटबाट मात्र आर्जन गरेका छन् । मनमैजु मालपोत, टोखा मालपोत र साँखु मालपोतका घटना ताजै छन् ।
आनाको ५० हजार मालपोत, ५० हजार नापी र ५० हजार लेखन्दासलाई बुझाउँदै काठमाडौंमा जग्गा कित्ताकाट हुँदै आएको छ । आनाको १ लाख ५० हजार घुस लिएपछि कित्ताकाट फटाफट हुन्छ, तर तोकिएको यो घुस नदिए सरकारको परिपत्र र अदालतको फैसला देखाएर मिल्दैन भन्ने जवाफ सेवाग्राहीले कर्मचारीबाट पाउने गरेका छन् ।

नापी कार्यालय साँखुका प्रमुख भागवत साह २ लाख ५० हजार रुपैयाँ घुससहित २०७५ बैशाख १९ मा कार्यकक्षबाटै पक्राउ परे । उनले नयाँ पाटीको ३६ रोपनी कृषियोग्य जग्गा कित्ताकाट गर्नका लागि २० लाख घुसमा डिल गरेका थिए ।
सेवाग्राही सुजन पौडेलले उनलाई १७ लाख ५० हजार रुपैया घुस दिइसके पनि २ लाख ५० हजारका लागि धेरै नै कचकच गरेपछि उनले अख्तियारमा उजुरी दिएर पक्राउ गराएका थिए । सा“खुको यो काण्ड प्रतिनिधिमूलक उदाहरण हो, काठमाडौं उपत्यकाका सबै नापी र मालपोत कार्यालयमा भागवत साहकै जस्तो गरी कित्ताकाटमा घुस असुली भइरहेको गुनासो पीडितहरुको रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सरोकारवाला निकायले अनुगमन गरी ६ महिनाका फाइल अनुसन्धान गर्ने हो भने कति घुस कारोबार भयो छर्लङ्ग हुनेछ ।
यसरी नापी र मालपोत कार्यालयले कित्ताकाटमा घुस खाने गरेका छन् । जसको हिस्सा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टसम्म पुग्ने गरेको कर्मचारी स्रोत बताउछ । महानिर्देशक भट्टले नियम विपरीत कित्ताकाट गर्ने काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुहरुलाई संरक्षण गर्ने सर्तमा मासिक ५ लाखका दरले दस्तुरी बुझ्ने गरेको आरोप छ ।
चावहिल नापीका प्रमुख मणि रेग्मी, मनमैजुका धु्रव थापा, डिल्लीबजारका मग्नु दत्त, ललितपुरका सुरेश जोशीलाई पनि भट्टले दररेट तोकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७