चुनावमा बिद्रोह गरेको तिङ्ला के गर्दै छ ?


५ श्रावण २०७५, शनिबार
Tingla solukhumbu

तिङ्ला (सोलुखुम्बु), ५ साउन । वर्ष दिन भयो, देशैभरिको स्थानीय सरकारले काम थालेको । गाउँ, नगर र वडामा नयाँ जनप्रतिनिधि छन् । उनीहरू नै योजना ल्याउँछन्, बजेट तर्जुमा गर्छन् र कार्यान्वयन गर्छन् । तर, तिङ्ला गाउँमा न वडाध्यक्ष छन्, न वडा सदस्य । नयाँ संविधानसँगै देशभरि भुइँतहको सरकार क्रियाशील हुँदा तिङ्लाको प्रशासन अझै सचिवको हातमा छ । अाजकाे अन्नपुर्ण पाेष्टमा नागरिक दैनिकले स्थलगत रिपाेर्ट छापेकाे छ ।

पोहोर साल जतिबेला देशभरि निर्वाचनको उल्लास थियो, त्यतिबेला सरकारको निर्णय नटेर्ने एउटै गाउँ थियो– तिङ्ला । वैशाख–जेठमा स्थानीय तह निर्वाचन भयो, तिङ्लावासी घरमै बसे । मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन भयो, तिङ्लावासीले त्यो पनि बहिष्कार गरे ।

देशभरि पर्वको भाँतीमा चुनाव चलिरहेको बेला पूर्वी पहाड सोलुखुम्बुको साविकको तिङ्ला गाविस आक्रोशित थियो । त्यसको कारण थियो– गाउँलेको चाहनाविपरीत तिङ्लालाई नेचा–सल्यान गाउँपालिकामा गाभिनु । सरकारले साविकका तिङ्ला, सल्यान, नेचा बेलघारी, नेचा बतासे गाउँविकास समिति मिलाएर नेचा–सल्यान गाउँपालिका घोषणा ग¥यो । तिङ्लालाई नेचा–सल्यानको ६ नम्बर वडा बनाइयो र केन्द्र राखियो नेचा बेलघारीमा । यसैमा थियो तिङ्लावासीको असहमति । र, असहमति स्वरूप तिङ्लालीले तीन वटै निर्वाचनमा एक मत पनि खसाएनन् ।

तिङ्लाको अस्तित्व समाप्त पारेर नेचा–सल्यान गाउँपालिका बनाएको भन्दै तिङ्लावासी सरकारलाई ‘नो भोट’को जवाफ दिए । उनीहरूको भनाइ थियो– एक त तिङ्ला गाउँको अस्तित्व नै निमिट्यान्न पारियो, अर्कोतिर अपायक पर्ने गरी टाढा नेचा बेलघारीमा स्थानीय तहको केन्द्र तोकियो । तिङ्ला गाउँबाट स्थानीय तहको केन्द्र तोकिएको नेचा पुग्न कम्तीमा पनि ६ घण्टा समय लाग्थ्यो ।

यसपछि आन्दोलनमा ओर्लेका तिङ्लालीहरू एक सुर र एक तालमा अडानमा बसिरहे । उनीहरू पार्टी, जाति वा विचार कुनै पनि आधारमा विभाजित भएनन् । निर्वाचनका लागि केन्द्र सरकारले गरेको निर्देशनलाई उनीहरूले अवज्ञा गरे । तिङ्लावासीले भोट मात्रै नहालेका होइनन्, नौ दिनसम्म सदरमुकाम सोलु–सल्लेरी जाने बाटो अवरुद्ध पारे, सदरमुकाम गएर पूरै गाउँलेले घेराउ गरे ।

उनीहरूको यो निरन्तरको अवज्ञा र आन्दोलनबाट सरकार झुक्न बाध्य भएको छ । सरकारको हालैको निर्णयले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समेटेको छ । अहिले विद्रोही गाउँ तिङ्ला सोलु दुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ मा समेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७