नेपालको ४७ विषयको चिकित्सा विशेषज्ञतामध्ये ११ विषयलाई मात्र भारतमा मान्यता


६ श्रावण २०७५, आईतवार
doctor min

काठमाडौं, ६ साउन । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्सा विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ । doctor min

नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ शिक्षा अध्ययनअध्यापन हुन्छ । तर, भारतीय मेडिकल काउन्सिलले नेपालमा ११ विषय पढेका विद्यार्थीलाई मात्र अनुमति दिने गरेको छ । त्रिभुवन विश्वविद्यालयले ३५ प्रतिशत र काठमाडौँ विश्वविद्यालयमा ४० प्रतिशत विदेशी विद्यार्थीका लागि दरबन्दी छुट्याएको छ ।

नेपाल मेडिकल काउन्सिलले भने भारतीय मेडिकल काउन्सिलले अनुमति दिएका कलेजमा अध्ययन गरेर आएका सबै विशेषज्ञ चिकित्सकलाई अनुमति दिने गरेको छ । यहाँको काउन्सिलबाट मान्यता प्राप्त कलेजमा अध्ययन गरेका सबै विषयगत विधामा भारतले पनि अनुमति दिनुपर्ने नेपाल मेडिकल काउन्सिलले आवाज उठाउँदै आएको छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले यहाँ अध्ययन गरेर गएका चिकित्सकलाई भारतले पनि मान्यता दिन अनुरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत भारतीय प्रधानमन्त्री समक्ष कुरा राखिएको बताए । गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा समेत नेपालका तर्फबाट सो विषयमा कुरा उठाइएको थियो ।

हाल नेपालमा दुई विश्वविद्यालयमार्फत २१ मेडिकल कलेज र तीन प्रतिष्ठानमार्फत स्नातक तहमा एमबिबिएस र बिडिएस, स्नातकोत्तर तहमा एमडी÷एमएस÷एमडिएस र स्नातकोत्तरपछिको सब स्पेसियालिटीमा डिएम÷एमसिएचको उपाधिको अध्यापन हुँदै आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले शिक्षा मन्त्रालयका तर्फबाट परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गर्ने प्रक्रिया भइरहेको बताउँछन् । उनले भने, ‘भारतीय मेडिकल काउन्सिलबाट मान्यता दिन हामीले काउन्सिलसँग बुझेर शिक्षा मन्त्रालयबाट निर्णय गरी परराष्ट्र मन्त्रालयबाट अनुरोध गर्नेबारे प्रक्रियामै छ ।’

ती कलेजमा भारत, श्रीलङ्का र माल्दिभ्सका विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि नेपाल आउने गरेका छन् । हरेक वर्ष सो संख्या बढ्दो क्रममा रहेको काउन्सिलका अध्यक्ष बाँस्कोटाले बताए । उनले भने, ‘यसका मुख्य दुई कारण छन्, भारतको तुलनामा नेपालमा चिकित्सा शिक्षा करीब ६० प्रतिशतले सस्तो छ र नेपालको चिकित्सा शिक्षा गुणस्तरीय पनि छ ।’ नेपालका सबै मेडिकल कलेजलाई नेपाल मेडिकल काउन्सिलले मान्यता प्रदान गरेता पनि भारत सरकारले मान्यता दिएको छैन । नेपाल मेडिकल काउन्सिलले भारतको मेडिकल काउन्सिल अफ इन्डियाले मान्यता प्रदान गरेका सबै मेडिकल कलेजलाई मान्यता दिएको छ ।

इन्डियन मेडिकल काउन्सिलको ऐनको दफा १२ मा भारत बाहेक अन्य मुलुकका चिकित्सा शिक्षाका उपाधिलाई पारिस्परिकताका आधारमा भारतमा मान्यता दिन सक्ने स्पष्ट प्रावधान रहे पनि हालसम्म दिएको छैन । काउन्सिलका अध्यक्ष बाँस्कोटा नेपालले सबै मेडिकल कलेज तथा प्रतिष्ठानबाट प्रदान गरिने उपाधिलाई पारस्पारिकताका आधारमा भारत सरकारले मान्यता दिएमा नेपालमा पढ्न आउने भारतीय विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि हुने बताउँछन् । यसो भएमा नेपाल दक्षिण पूर्वी एशियामा उत्कृष्ट ‘मेडिकल हव’ का रूपमा विकसित हुने काउन्सिलको विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७