विराटनगरलाई स्थायी राजधानी बनाउन जोड, प्रदेशको नाम ‘कोशी’


८ श्रावण २०७५, मंगलवार
biratnagar city

विराटनगर, ८ साउन ।सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । biratnagar city

पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिक जस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र रंगेलीबाट सदरमुकाम सरेर आएको लगभग १०० वर्ष भइसकेको र अहिले मुलुककै दोस्रो विकसित शहरका रुपमा चिनिएको छ ।

हाल ७७ वर्ग किलोमिटरमा फैलिएको यो महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्यामा रहेकामा महिला एक लाख ३८ हजार ८५ र पुरुष एक लाख ४२ हजार छन् । कूल १९ वटा वडा रहेको यो महानगरमा ४७ हजार ७९८ घरधुरी छन् । महानगरपालिका क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र गणदेखि लिएर अन्य सुरक्षाका निकायहरु छन् ।

कुनै समयमा औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा बिपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल भएकाले राजनीतिक राजधानीको रूपमा पनि यो क्षेत्र परिचित हुँदै आएको छ । दर्जनौं मन्त्री र समाजसेवी उत्पादन भएको यो क्षेत्रलाई विकसित गर्न बेलायती सरकारले धरानमा स्थापना गरेको मलाया क्याम्प जान भारतको जोगवनीदेखि विराटनगर हुँदै धरानसम्मको सडक निर्माण हुनु र अहिले सो बाटो छ लेनमा विकसित हुँदै जानुका अतिरिक्त पूर्व–पश्चिमको हुलाकी मार्ग विराटनगरसँग जोडिनुका साथै विराटनगर–झापाको भद्रपुर , विराटनगर–उर्लाबारी र विराटनगर–विराट चोक जान यातायातको सुविधा भएकाले पनि विराटनगरलाई प्रदेश नं १ को राजधानी हुनुपर्नेमा जोड दिइएको हो ।

हाल क्षेत्रीयस्तरको विमानस्थल, औद्योगिक, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानले पूर्णता पाएको विराटनगर राजधानी हुनलाई कुनै पनि कुराले समस्या नहुने स्थानीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद दाहालले बताए । राजधानी विराटनगर नै हुनुपर्ने र यसको नामकरण कोशी प्रदेश गरिनुपर्नेमा वरिष्ठ पत्रकार यज्ञराज शर्माले जोड दिए । सप्तकोशीबाट प्रदेश नं १ मा झापाबाहेकका सबै जिल्लामा पानी वितरण र भावनासँग जोडिएकाले यो प्रदेशको राजधानीको नाम कोशी हुनुपर्ने उनको दाबी थियो ।

उक्त महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रादेशिक राजधानी बनाउन महानगरपालिकाबाट गरिने सबै किसिमको सहयोग गर्न तयार रहेकामा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवासी विनोद ढकालले सबै सम्भावना भएकै कारण अस्थायी रुपमा बनेका प्रदेश नं १ को राजधानी अन्यत्र सार्न नमिल्ने तर्क गर्दै यो प्रदेशको नाम विवादरहित बनाउन कोशी वा सगरमाथा प्रदेश राख्नुपर्नेमा जोड दिए ।

सोही दलका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले भौतिक पूर्वाधार, राजनीतिक चेतना, आर्थिक क्षेत्र, ऐतिहासिकतासँग जोडिएको विराटनगर नै स्थायी राजधानी हुनुपर्ने भन्दै सामाजिक सद्भाव र एकताका लागि यो प्रदेशको नाम ‘सगरमाथा प्रदेश’ भएमा सबैको शिर उच्च हुने र अन्तर्राष्ट्रियस्तरमा पनि देशको चिनारी हुने उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७