आत्मसम्मानकाे आगोमा शेरबहादुर तामाङको आँशु

रुँदै राजीनामा गरिरहेका कानूनमन्त्री शेरबहादुर तामाङको तस्बिर शेयर गर्दै साहित्यकार तथा नेता प्रदीप नेपालले लेखे, ‘यो हो इमानको आँशु । आँशुसँग नखेल फेसबुके साथी हो ।’ वरिष्ठ पत्रकार तीर्थ कोइरालाले तामाङको उही तस्बिर हालेर लेखेका छन्, ‘यस प्रसङ्गमा न मन्त्री शेरबहादुरको इतिहास हेरियो न अभिव्यक्तिको आशय हेरियो, न त शब्द केलाउने काम भयो । अन्ततः राजीनामा दिएर गए । उनी दम्भ पालेर बसेनन् र उनले हठ गरेनन् पदका खातिर । मलाई त चिनजान गर्न पो मन लाग्यो यिनीसँग ।’


नेतृ रचना खड्काले उही तस्बिर राखेर लेखेकी छिन्, ‘मैले चिनेजानेका धेरै नेताहरुमा महिलाहरुको आत्मसम्मानको बिषयमा ब्यबहारमै सबैभन्दा सचेत नेता हुनुहुन्छ शेरबहादुर तामाङ, यो उहाँको राजनीतिक चेत पनि होला । त्यो भन्दा बढी उहाँले जुन भूगोलका जनताका बीचमा काम गर्नुभयो त्यहाँ जर्जर समस्याको रुपमा रहेको मानव (महिला) बेचबिखनबिरुद्धको निरन्तरको लडाईंले पनि होला भन्ने ठान्छु । यसरी हेर्दा तामाङ महिलाहरुको स्वाभिमानको पक्षमा जनताको बीचमा हुँदा होस् वा बिधायिकी क्षेत्रमा सबैभन्दा धेरै काम गर्ने पुरुष नेताहरुमा पर्नुहुन्छ । बिड्म्बना उहाँले आफ्ना अभिव्यक्तिमाथि उठेका प्रश्नका कारण राजीनामा गर्नु पर्‍यो । उहाँको बिगत, व्यवहार, चेतना, भावनाभन्दा बिल्कुल उल्टो आरोपको सामना गर्नु भयो । उहाँका लागि यो भन्दा ठूलो चोट अरु नहोला ।’

कहिलेकाँही मान्छेहरु यस्तो नियतिमा फस्छन्, जसले आफ्नो समय र उर्जा जसको हितमा खर्च गर्छन्, कहिलेकाँही त्यसैबाट लखेटिनु पर्छ । दण्डित हुनुपर्छ । हो, त्यही नियति खेप्नु पर्‍यो, कानूनमन्त्री शेरबहादुर तामाङले । राजीनामा दिंदै गर्दा उनले भावुक भएर भने,‘कहिलेकाहीँ जुन विषय बोकेर काम गरिरहेको हुन्छ, त्यही विषयले लेखेट्ने दिन पनि आउँदोरहेछ । कानून बनाएर लैङ्गिक समानताको विषयलाई संस्थागत गर्नेतर्फ केन्द्रित थिएँ । तर, महिलाको विषयमा बोलिएको शब्दकै कारणले यस्तो अवस्था आयो ।’ कानूनमन्त्री तामाङले बंगलादेशमा एमबीबीएस पढ्न गएका नेपाली चेलीका विषयमा गरेको टिप्पणीपछि उनकाबिरुद्धमा एकथरीका महिला अधिकारकर्मीहरु सडकमा आए । सामाजिक सञ्जालमा तीव्र आलोचना भयो । डा. गोबिन्द केसी प्रकरणमा भावुक, उत्तेजित मात्रै होइन क्रान्तिकारी बनेका दैनिक पत्रिकाका सम्पादकहरुले पनि मन्त्री तामाङको नाममा दुई–चार पेज भत्र्सना लेख्न भ्याए । सम्पादकीय लेख्न भ्याए । तर, उनले के प्रसङ्गमा के भनेका थिए ? त्यो केलाएनन् । उनले भनेका थिए, ‘युएस बांगला एयर दुर्घटना हुँदा २१ जना डाक्टरहरू यहीं हाम्रो विमानस्थलमा बिते, कति मार्मिक छ कुरा । आज म कथा खोल्छु, बंगलादेशमा कयौं हाम्रा चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, उनीहरुले कहीं न कहीं आफूलाई बेच्नै पर्छ । मैले सुनेको छु यति मार्मिक छ कथा । उनीहरुले खोलेका छन् कथा । हामी हाम्रा छोरीहरुलाई विदेश पढ्न पठाउँछौं तर, उनीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यो मुलुकमा एमबीबीएस पढ्न पाउनुपर्छ भन्दा हामी प्लेकार्ड बोकेर निस्कन्छौै, पाइँदैन, हुँदैन भनेर ।’

शेरबहादुर तामाङ आन्दोलनमा दुई–चार वटा ढुङ्गा हानेर नेता भएका होइनन् । पिताजीको बायोडाटाको शक्तिले संसद बनेका पनि होइनन् । शहरका दुई–चार जना एलिट शब्दशिल्पीहरुले सेलिब्रेटी बनाएर नेता भएका पनि होइन् । अनसन बस्दा–बस्दै टिकट पाएका पनि होइनन् । दूताबासले मन पराएर बनेका नेता पनि होइनन् । नेता भए देश लुट्न पाइन्छ भन्ने पूर्खाको दिव्य ज्ञान पाएर राजनीतिमा आएका पनि होइनन् ।

उनले त्यो कार्यक्रममा भनेको कुरा यही हो । उनले सही भने भन्ने कदापी हुँदै होइन । उनले त्यो नभन्नुपर्ने नै भने । नियत गलत नभए पनि त्यो भनाईले अवश्य पनि बंगलादेशमा अध्ययन गर्ने चेलीहरुलाई चोट पुग्यो । नेपाली चेलीहरुलाई चोट पुग्यो । तर, त्यसमा उनले आफ्नो गल्ती स्वीकार गरे । र, तत्काल विज्ञप्ती निकालेर भने, ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।’ पूर्वग्रह नराखी उनको भनाई सुन्ने जोसुकैले भन्छ, ‘उनले गलत नियतले भनेका होइनन् ।’ नेपाली चेलीहरुले भोगिरहेका समस्यालाई भावुक तरिकाले भन्न खोज्दा उनी नराम्ररी चिप्लिए । आफू भावुक भइरहँदा अरुको आत्मसम्मानमा चोट पुगेको पत्तो नै पाएनन् । तर, उनको गल्ती त्यो स्तरको पनि थिएन जो माफी गर्न लायक नहोस्, पक्षमा बोल्छु भन्दा बिपक्षमा जस्तो बुझिन गयो । शब्द चयन र भाषामा चिप्लिए । तर, महिला अधिकारको क्षेत्रमा काम गरिरहेकाहरु उनको बिपक्षमा यस्तरी उर्लिए कि शेरबहादुरले नेपाली महिलाहरुको आत्मसम्मान सबै खोसी दिए । नेपाली महिलाहरुको घोर अपमान गरे । शेरबहादुर तामाङलाई झुण्डाउनु पर्छ भनेर लेखे । बोले । उनीहरुको आक्रोश एउटा कोणबाट स्वभाविक पनि हो । तर, त्यति सचेतताका साथ महिला अधिकारको पक्षमा बोलिरहेका महिलाहरुले शेरबहादुरको भत्र्सना गरिरहँदा उनले कुन गहिराइका साथ त्यो भनेका थिए ? त्यतातिर भने ध्यान दिएनन् । र, शेरबहादुरको विगततिर पनि फर्केर हेरेनन् । केवल उनलाई अपराधी करार गर्नेतिर मात्रै लागे । पत्रकार समा थापा लेख्छिन्, ‘मानिसको चरित्र गल्तीले होइन उसले ती गल्ती सुधार्ने कोशिस कसरी गर्‍यो त्यसबाट मापन हुन्छ । माफ माग्न पनि ठूलो हिम्मत चाहिन्छ, त्यो भन्दा ठूलो हिम्मत माफी दिन ।’ गल्ती सम्झेर शेरबहादुरले माफी मागे । तर, समा थापाले भने जस्तो महिलाहरुले त्यो ठूलो हिम्मत राखेनन् । महिलाहरु अधिकारकर्मीेहले माफी होइन झुण्न्डाउन पर्छ भनिरहे ।

डा. गोबिन्द केसी प्रकरणमा भावुक, उत्तेजित मात्रै होइन क्रान्तिकारी बनेका दैनिक पत्रिकाका सम्पादकहरुले पनि मन्त्री तामाङको नाममा दुई–चार पेज भत्र्सना लेख्न भ्याए । सम्पादकीय लेख्न भ्याए । तर, उनले के प्रसङ्गमा के भनेका थिए ? त्यो केलाएनन् ।

को हुन् शेरबहादुर ?
शेरबहादुर तामाङ आन्दोलनमा दुई–चार वटा ढुङ्गा हानेर नेता भएका होइनन् । पिताजीको बायोडाटाको शक्तिले संसद बनेका पनि होइनन् । शहरका दुई–चार जना एलिट शब्दशिल्पीहरुले सेलिब्रेटी बनाएर नेता भएका पनि होइन् । अनसन बस्दा–बस्दै टिकट पाएका पनि होइनन् । दूताबासले मन पराएर बनेका नेता पनि होइनन् । नेता भए देश लुट्न पाइन्छ भन्ने पूर्खाको दिव्य ज्ञान पाएर राजनीतिमा आएका पनि होइनन् । विभेद, असमानता, अन्यायबिरुद्ध लड्दै गर्दा उनलाई जनताले नेता मानेका हुन् । सिन्धुपाल्चोकको गरीब तामाङ बस्तीमा गरिबी, अशिक्षा र भोकमरीसँग लड्दा लड्दै उनी नेता भएका हुन् ।

सिन्धुपाल्चोकमा सामान्य तामाङ परिवारमा जन्मिएका शेरबहादुर तिनै नेता हुन्, जसले चेलीबेटी बेचबिखनबिरुद्ध महत्वपूर्ण काम गरे । अत्याधिक महिला बेचिने जिल्लामध्येको हो, सिन्धुपाल्चोक । गरिबी र अज्ञानताका कारण यहाँका महिलाहरु अत्याधिक रुपमा बेचिने गरेका छन् । त्योबिरुद्ध अभियान चलाउने नेता हुन् शेरबहादुर । उनको जिल्ला त्यो हो, ‘बाबु–साहेब’ का नामले पुकारिने ‘नाती जर्नेल’ पशुपतिशमशेर राणा नेता थिए । ‘नाती जर्नेल’ ले ०४८, ०५१ र ०५६ मा सिन्धुपाल्चोकमा चुनाव जिते । तिनै ‘नाती जर्नेल’ लाई उनले ०७० र ०७४ को निर्वाचनमा हराए । उनले नेपाल ल क्याम्पसबाट एलएलबी, इतिहास र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले परम्परागत कृषि प्रणालीको विकल्पबारेमा मानवशास्त्रीय आँखाबाट पीएचडी गर्दैछन् ।

तिनै ‘नाती जर्नेल’ पशुपतिशमशेर राणालाई दुई पटक हराएपछि उनलाई पार्टीले कानुनमन्त्री बनायो । सम्भवतः यो क्याबिनेटको सबैभन्दा असलमध्येका एक नेता थिए उनी । पत्रकार मातृका पौडेल लेख्छन्, ‘शेरबहादुर तामाङ आचरणको हिसाबले स्वच्छ, प्रवृतिका हिसाबले सबैसँग मिलनसार, व्यक्तित्वका हिसाबले बैचारिक अध्ययनशील, जनमतका हिसाबले सधैं लोकप्रिय र समुदायका हिसाबले सबैभन्दा पछाडि पारिएको तामाङ परिवारबाट संघर्ष गरेर कम्युनिष्ट राजनीतिमा स्थापित भएका नेता हुन् ।’ तर, तिनै नेताले महिलासँग जोडिएको गम्भिर बिषयले राजनीनामा दिनु पर्‍यो ।

शेरबहादुरको अर्को पाटो पनि छ । गरिबी, अशिक्षा र अभावका बीचबाट माथि उठेका शेरबहादुरले खोटाङकी उषाकला राईसँग विहे गरेका छन् । उषाकला राई पनि पूर्णकालीन राजनीतिमा छिन् । उषाकला प्रदेश–१ को प्रदेशसभा सदस्य छिन् । उषाकला राई जसले पहिलो संबिधानसभामा महिला संसदहरुको समूहको संयोजक बनेर काम गरिन् । महिला अधिकारको क्षेत्रमा गहिरो गरी कलम समेत चलाइरहेकी उषाकला महिला अधिकारको एउटा अभियान्ता समेत हुन् । शेरबहादुर र उषाकलालाई नजिकसँग बुझ्नेहरु उषाकलालाई यो अभियानमा अभिप्रेरित गर्नमा शेरबहादुरको भूमिका पनि छ । छोरीको अंश, वंश र आमाको नामबाट नागरिकता दिनुपर्छ भन्ने मान्यता छ उनको । शेरबहादुर तामाङ, उषाकला राई, उनीहरुले आफ्ना सन्तानको थर पनि तामाङको ‘ता’ र राईको ‘रा’ जोडेर ‘तारा’ बनाएका छन् । उनले राजीनामाका क्रममा पनि भनेका छन्, ‘म सचेत छु, छोरी मेरो जीवनको गर्व हो । छोरी मेरो सन्तान हो । छोरी मेरो भबिष्य हो । छोरीको अधिकार र अस्मिताका लागि म आफै लड्दै आएको व्यक्ति हुँ । यसको निम्ति म खुल्ला कागज हुँ । मलाई पढे हुन्छ । मेरो परिवार बुझे हुन्छ । छोरीको अंश, वंश र आमाको नामबाट नागरिकता दिने बिषयमा म आफ्नो ठाउँबाट लड्दै आएको छु ।’

अन्तमा म असल नियतले महिलाहरुको पक्षमा उभिएका महिलाहरुलाई भन्छु, एक पटक शेरबहादुरले बोलेको भिडियो हेर्नुहोस्, भिडियोमा भनिएको बिषयको गहिराई बझ्नुहोस् उनको विगत हेर्नुहोस्, वर्तमान हेर्नुहोस्, र आँशु बगिरहेको उनका अनुहारलाई गहिरो गरी पढ्नुहोस् त्यसपछि तपाईको आत्मसम्मानमा दनदनी बलिरहेको आगो झ्प्पै निभ्नेछ । यदि त्यसो गर्दा पनि आगो निभने भने घर गएर एक पटक ऐनामा आफ्नो अनुहार हेर्नुहोस् । के शेरबहादुर अपराधी हुन् ? तपाईले प्रश्नको उत्तर त्यही ऐनामा झल्झली देख्नु हुनेछ ।

के शेरबहादुर अपराधी हुन् ?
फेरि भनौं, तामाङले बंगलादेशमा एमबीबीएस पढ्न गएका नेपाली चेलीका विषयमा गरेको टिप्पणी गल्ती नै थियो । तर, नियत सही भए पनि उनी नराम्ररी चुके । तर, उनको टिप्पणीपछि नेपाली महिला अधिकारकर्मीहरुले यस्तरी लेखे, अब आकाश खस्यो, धर्ती फाट्यो । नेपालका महिलाहरुको आत्मसम्मान यस्तरी गुम्यो कि जो कहिले फर्किएर आउने छैन । त्यही भएर शेरबहादुरलाई झुण्ड्याउनु पर्छ । शेरबहादुरलाई अपराधी करार गर्न उनीहरुले धारा प्रवाह लेखे । पुत्ला जलाए । जो महिला अधिकारको पक्षमा असल मनले बोल्ने र लेख्ने महिलाहरुको विचारलाई सम्मान गर्नुपर्छ । उनको भावनालाई कदर गनुपर्छ । उनीहरु उद्येलित हुनु स्भाविक पनि हो । तर, यो प्रकरणमा यस्तो अनुहारहरु पनि देखिए, जो महिला अधिकारको नाममा धन्दा चलाउँछन् तिनीहरु नै उग्र देखिए । जो आफै गरीब चेलीहरु बेचेर उद्दारको नाटक गर्छन्, डलर कमाउँछन् पुरस्कार थाप्छन् । आज तिनै मान्छेहरुले सैयौं चेलीलाई बेचिनबाट जोगाउने सोझा शेरबहादुर तामाङलाई अपराधी करार गर्न तम्सिए ।

शेरबहादुर कानूनमन्त्री थिए । संबिधान त बनेको थियो तर, कानूनहरु बन्न बाँकी थियो । शेरबहादुरको बर्हिगमनले सबैभन्दा बढी घाटा महिलाहरु, उत्पीडितहरुलाई नै परेको छ । पर्नेछ । किनभने उत्पीडिनको पीडा तिनै मान्छेलाई मात्रै थाहा हुन्छ, जसले भोगेर आएका छन् । भोगिरहेका छन् । महिलाहरुको पीडालाई नजिकबाट देखेका शेरबहादुर कानून बनाएर लैङ्गिक समानताको विषयलाई संस्थागत गर्नेतर्फ केन्द्रित थिएँ । सम्भवतः उनी कानूनमन्त्री भइरहेको भए लैङ्गिक समानताको पक्षमा उत्कृष्ट कानून बन्ने थियो, किनभने महिला अधिकारको पक्षमा गहिरो ज्ञान भएको उषाकला राईले पनि यो मामिलामा प्रभाव हुने थियो ।

चेलीहरुको अपमान गरेर धन्दा चलाइरहेकाहरु नै यसबेला शेरबहादुरलाई अपराधी करार गरीरहेका छन् । मलाई थाहा छ, यसबेला शेरबहादुर पक्षमा तुच्छ मान्छेलाई महान् बनाएर लेख्ने शिल्पीहरु छैनन् । महान्लाई तुच्छ बनाउने शैलीवालाहरु पनि छैनन्, सम्पादकहरु पनि छनन्, लेखकहरु छनन्, पूर्व प्रधानन्यायधीशहरु छन्, वकिलहरु, डाक्टरहरु, दूताबास र आइएनजीओहरु पनि छैनन् । किनभने शेरबहादुुर उनीहरुको प्रतिनिधि होइनन्, शेरबहादुर तीनै चेलीहरुको प्रतिनिधि हुन्, जो अनेकौं बिभेद र असमानता खेपिरहेका छन् । खपिरहेका छन् ।

प्रश्न यहाँनिर पनि छ, ‘पार्टीले शेरबहादुर किन तुरुन्तै राजिनामा माग्यो ?’ जानकारहरु भन्छन्, कानुन क्षेत्रमा साम्राज्य चलाइरहेका ‘मुलधार’लाई शेरबहादुर मन परेको थिएन । त्यो के हो ? भोली खुल्दै जालान् । तर, यही हो भनेर भनीहाल्न हतारो हुनेछ । यो प्रश्न त्यतिबेला बलशाली हुनेछ, अरु कुनै मन्त्रीको नैतिकता माथि प्रश्न उठेपछि राजनीनामा मागिएन भने । नेता अजम्बर काङमाङ राई लेख्छन्,नेपाली राजनीतिमा अनेकौ सङ्कट आइरहेको बेला तामाङले देखाएको यो उच्च नैतिकताले पछिल्लो समयका राजनीतिज्ञ र सार्वजनिक पद धारण गर्नेहरूका टाउको माथिको ’डामाक्लिसको तरबार’ को रुप धारण गरिरहने छ । उनको राजिनामा नैतिकताको खडेरी परिरहेको नेपालमा प्रलयकारी ’गेम चेञ्जर’ साबित हुनेछ ।’

सम्भवतः यहाँनिर मलाई पनि दुईवटा आरोप लाग्ने छ । पहिलो आरोप, पार्टी पत्रकार अर्थात् शेरबहादुर नेकपा भएकै कारण उसको जनसंगठनको महासचिवले बचाऊ गरेर लेख्यो । त्यो आरोप पनि सम्भवतः मेरा व्यवसायिक पत्रकारहरुले नै लगाउने छन् । त्यसमा मेरो उत्तर हुनेछ, ‘हामी सडकमा धुलोमैलो खेपिरहेका मान्छेहरुलाई बालुवाटारको भोज, सिंहदरबारको शक्ति र दूताबासको उर्जा उपभोगपछि आइएनजीओको ‘फण्डिङ’ मा मिडिया चलाउनेहरुले व्यवसायिक पत्रकारिताको नैतिक उपदेश नदिनु उचित हुन्छ । अघाएकाहरुको पक्षमा उभिएका र भोकाएकाहरुको पक्षमा उभिएकाहरुको एउटै भगवान कहिल्यै हुँदैन । तिम्रो भगवानलाई नमान्दा हामीलाई अपराधी करार गर्ने अधिकार तिमीलाई छैन ।’

दोस्रो तथा अन्तिम आरोप लाग्ने छ । शेरबहादुर तामाङ भएको कारण राईले बचाऊ ग¥यो । मेरा लागि यो भन्दा तुच्छ आरोप अरु कुनै हुने छैन । यसमा मेरो उत्तर हुनेछ, ‘फर्केर इतिहास हेर्नुहोस्, शेरबहादुर र हामी तिनै मान्छे हौं । जातको झुसिलो डकार बोकेर अनेकौं मान्छेहरु दगुरी रहेका बेला ‘वर्ग संघर्ष जिन्दावाद’ हामीले भनेका हौं ।’ ‘कुनै एउटा अधिकारीले अर्को पराजुलीको पक्षमा लेख्दा जातलाई माया गर्यो’ भनेर तुच्छ भावना मेरो दिमागमा आउँदैन । मैले तामाङका पक्षमा लेख्दा जातीय देख्नुभयो भने त्यो मेरो होइन तपाईको समस्या हुनेछ । पिताजीहरुको बायोडाटा र सानसौकातको बलमा शासन गरिरहेका मान्छेहरुले लगाएको यो आरोप कुनै नौलो मानिने छैन ।

अन्तमा म असल नियतले महिलाहरुको पक्षमा उभिएका महिलाहरुलाई भन्छु, एक पटक शेरबहादुरले बोलेको भिडियो हेर्नुहोस्, भिडियोमा भनिएको बिषयको गहिराई बझ्नुहोस् उनको विगत हेर्नुहोस्, वर्तमान हेर्नुहोस्, र आँशु बगिरहेको उनका अनुहारलाई गहिरो गरी पढ्नुहोस् त्यसपछि तपाईको आत्मसम्मानमा दनदनी बलिरहेको आगो झ्प्पै निभ्नेछ । यदि त्यसो गर्दा पनि आगो निभने भने घर गएर एक पटक ऐनामा आफ्नो अनुहार हेर्नुहोस् । के शेरबहादुर अपराधी हुन् ? तपाईले प्रश्नको उत्तर त्यही ऐनामा झल्झली देख्नु हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्