अधिनायकवाद, मिडिया र आइएनजीओ–एनजीओको डलरखेती


१० श्रावण २०७५, बिहीबार
Madav Paudel

नेपालमा २०४८ पछि कहिल्यै पनि स्थिर सरकार बन्न नसकेको अनुभव गर्दै दुई वटा पार्टी मिलेर २०७४ को प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा चुनावमा भाग लिएर करिब दुई तिहाई मत प्राप्त गरे । ९ महिने, ६ महिने सरकारबाट वाक्क भएका जनताले स्थिर सरकारको आशा गर्दै मत दिए । र, नेकपाले ६ वटा प्रदेश र केन्द्रमा सरकार बनायो । सरकार बनाउने गरी बहुमत नल्याए पनि २ नम्बर प्रदेशमा पनि ठूलो पार्टी नेकपा नै हो ।

जनताको स्थिर सरकारको चाहनाअनुसार नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको ५ महिना नपुग्दै नेपालमा अधिनायकवादको हौवा फिंजाउने एनजीओ–आइएनजीओहरुको खेती सुुरु भएको छ । सरकारका पनि कमजोरी हुनसक्छन् । तर अधिनायकवाद नै आयो भनेर जुन खालको हौवा फिंजाउन थालिएको छ, त्यो नेपालमा स्थिर सरकार बन्न नदिने, बनिहाले काम गर्न नदिने रणनीति अन्तर्गत भइरहेको रहस्य खुल्दै जान थालेको छ । अधिनायकवाद आइसक्यो भनेर जनतामा भ्रम छर्नका लागि बलियो शक्ति नभएकाले मिडियाको भरपूर प्रयोग गर्ने रणनीति अंगिकार गर्न थालिएको छ । नेकपाको नेतृत्वमा पाँच बर्षसम्म चल्नेगरी सरकार बनेपछि सुविस्तासँग काम गर्न नदिने ग्रान्ड डिजाइन खासगरी अमेरिकी संस्थाहरुले गर्न थालेका छन् । भारतसँग सम्बन्ध सुधार गरेर विकासपथमा लागेको केपी ओली नेतृत्वको सरकारविरुद्ध अमेरिकीहरु लागेका छन् ।

नेपाली कांग्रेस कमजोर भएकाले उसबाट पार नलाग्ने विश्लेषण गरी मिडियामार्फत् तथाकथित अभिब्यक्ति स्वतन्त्रताको वकालत गर्दै अमेरिकी प्रायोजनमा नेपालमा अधिनायकवाद आइसकेको माहौल सृजना गर्ने काम दैनिक पत्रिका, नाम चलेका अनलाइनहरुमार्फत् गर्न थालिएको छ । विगत १ महिनायताका कान्तिपुर, अन्नपूर्ण, सेतोपाटी, नागरिक, बाह्रखरी जस्ता पत्रिका र अनलाइनहरुले सरकारविरुद्ध लेखेका एकै आसयका सम्पादकीय र लेखहरुले नै अमेरिकीहरुले राम्रो ‘फन्डिङ’ गरेको कुरालाई पुष्टी गर्दछ । नेपालमा स्थिर सरकार बन्न नदिने र अस्थिरता मच्चाउन यस्तो तथाकथित अधिनायकवादको हौवा फिंजाउन मिडिया संयोजन गर्ने काम विष्णु सापकोटाले गर्दैआएका छन् ।

सापकोटाले हालै सांग्रिला होटलमा सिभिल सोसाइटी म्यूचुअल अकाउन्टबिलिटी प्रोग्राम (सीएसएमएपी) गरेका थिए । एफएचआई थ्री सिक्स्टी भन्ने संस्थाका संचालक सापकोटाले अमेरिकन संस्था यूएसएडको सहयोगमा उक्त कार्यक्रम गरेका थिए । सापकोटाको संस्थाले सिभिल सोसाइटीबीचमा अभिब्यक्ति स्वतन्त्रता र खुल्ला समाजको वकालत गर्ने भनेर प्रोजेक्ट चलाउँदैआएका छन् । सापकोटाको संस्थाको सहयोगमा स्थानीयस्तरमा काम गर्ने पार्टनरका रुपमा नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, इन्सेक, फ्रीडम फोरम हुन् ।

दुई साताअघिको सांग्रिला होटलको कार्यक्रममा २५ देखि ३० जना सहभागी रहेका थिए । उक्त कार्यक्रममा सुरुमा हरि शर्माले आधा घन्टाको कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमा भाग लिएका एक सहभागीका अनुसार शर्माको प्रस्तुति यस्तो थियो मानौं करिब करिब नेपाल उत्तर कोरिया जस्तो भइसक्यो । हामीले अहिले लडेनौं भने अभिब्यक्ति स्वतन्त्रता र खुल्ला समाजको अवधारणा नै सदाका लागि समाप्त हुन्छ भन्न भ्याएका थिए ।

शर्माको भनाइलाई सैद्धान्तिकरण गर्ने काम नेपाली कांग्रेसबाट कपिलवस्तुमा प्रतिनिधिसभामा उम्मेदवार भएका अधिवक्ता दिनेश त्रिपाठीले गरेका थिए । उनले यसरी यसरी अधिनायकवाद आउँछ भनेर काल्पनिक कथा हालेर फुलबुट्टा भर्ने काम गरेका थिए । तेस्रो वक्ताका रुपमा फ्रीडम फोरमका तारानाथ दाहालले शर्मा र त्रिपाठीको जस्तै अधिनायवादको कथा बुनेर प्रस्तुत गरेका थिए । कार्यक्रममा केदार खड्का, कनकमणि दीक्षित लगायत सहभागी थिए । कार्यक्रममा सहभागीहरुले अधिनायकवादविरुद्ध कसरी माहौल बनाउने भनेर छलफल पनि गरेका थिए ।

bishnu sapkota
बिष्णु सापकोटा

छलफलमा मिडिया नै माहौल सृजना गर्ने प्रभावकारी माध्यम भएको निष्कर्ष निकाल्दै जतिसक्दो मिडियाको प्रयोग गर्ने रणनीतिका साथ टुंगिएको थियो । त्यसै रणनीति अन्तर्गत मूलधारका पत्रिका र अनलाइनहरुमा एक महिनादेखि एकै आसयका विचार प्रवाह गराइएको छ । अमेरिकी संस्था युएसएडको फन्डिङमा संचालित सापकोटाको एफएचआई थ्री सिक्स्टी संस्थाले नेपालमा अस्थिरता मच्चाउन र सरकारलाई काम गर्न नदिन अधिनायकवादको हौवा फिंजाउन मिडिया र लेखकहरुलाई फन्डिङ गरेको छ । र, उक्त दिनको कार्यक्रमको सार थियो, जसरी हुन्छ वर्तमान नेकपाको

सरकारविरुद्ध मिडिया परिचालन गर्ने र जनतामा बितृष्णा जगाउने, स्थिर सरकारको जनताको आशामा पानी खन्याउने । आइएनजीओ र एनजीओहरुको राष्ट्रविरुद्धको यसखालको गतिविधिका बारेमा परराष्ट्र मन्त्रालयले समेत चासो राखेको छ । परराष्ट्र स्रोतका अनुसार सरकारविरुद्ध आइएनजीओ र एनजीओले भ्रम फिंजाउने कामलाई सरकारले गम्भीरतापूर्वक लिइरहेको छ । परराष्ट्र मन्त्रालयले चनाखो भएको दाबी गरे पनि पश्चिमाहरु केमा लगानी गर्दैछन्, त्यो देशको हितमा छ कि छैन भन्ने पक्षमा सरकारले ध्यान दिन सकेको छैन । सरकारको अनुमति लिएर संचालन हुँदैआएका आइएनजीओ र एनजीओले सरकारकै बिरुद्ध गतिविधि गरिरहेका छन् । आइएनजीओ–एनजीओहरुले सरकारका विरुद्ध अनावश्यक काममा रकम खर्च गर्दा सरकारको ध्यानाकर्षण हुनसकेको छैन ।

अभिब्यक्ति स्वतन्त्रतामा कहाँ बन्देज लागेको छ ? प्रेस स्वतन्त्रतामा कहाँ बन्देज छ ? त्यसको तथ्य खोई ? हचुवाका भरमा काल्पनिक कथा तयार गरी मिडिया प्रयोग गरिएको छ । डलरखेतीका लागि हुँदै नभएको कथित अधिनायकवादको मन्त्र जप्न थालिएको छ ।

डलरका लागि जबर्जस्ती अधिनायकवाद आइसकेको भनेर जनतालाई दिग्भ्रमित बनाउन तम्सिएका सापकोटाको उक्त संस्थाका प्रायः कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरिका पदप्राप्त ब्यक्तिहरु पनि सहभागी हुने गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल पनि युएसएड फन्डिङ सापकोटाले आयोजना गरेका कार्यक्रममा जाने गरेका छन् । अर्याल र उनका मामाहरु सुबोधराज प्याकुरेल र सुशील प्याकुरेलको इन्सेकमा युएसएडले नै फन्डिङ गर्दैआएको छ । सल्लाहकार अर्याल र चिरिन्जीवी खनाल सापकोटाको उक्त संस्थामा मिडिया एक्सपर्टका रुपमा जाने र डलरमा भत्ता बुझ्ने गरेका छन् । इन्सेकका संचालक सुशील प्याकुरेल राष्ट्रपति विद्या भण्डारीका राजनीतिक सल्लाहकार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७