अशोक दर्जी विवाद : ‘अशोकले राम्रा संरक्षक पाएनन्’


१७ श्रावण २०७५, बिहीबार
Tannka ad ashok

काठमाडाै‌,१७ साउन । सबैलाई थाहा छ, रामकृष्ण ढकाल चर्चित गायक बन्नुमा उनको गला र कलासँगै गोपाल कर्माचार्यको भूमिका महत्वपूर्ण छ । बरालिँदै गीत गाउँदै हिँडेका ढकाललाई काठमाडौं ल्याएर कर्माचार्यले संगीत क्षेत्रमा स्थापित गरी दरिलो पृष्ठभूमि बनाइदिए । सामाजिक सञ्जालको फैलावटसँगै केहीले उनै कर्माचार्यको पदचाप पछ्याउने प्रयास गरिरहेका छन् । जसले निःस्वार्थ काम गरे ती सफल भइरहेका छन् । जसले समाजसेवाको आडमा व्यक्तिगत स्वार्थ भजाउने प्रयास गरे, ती विवादमा तानिए । Tannka ad ashok

अर्को उदाहरण हेरौं । केही वर्षअघि मलेखुमा गीत गाउँदै गरेको अवस्थामा भेटिएका थिए बालक प्रेम परियार । एक बटुवाले गरेको सामान्य कुराकानी र केही गीतका टुक्रा गाएको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्टिए । त्यो भिडियो रातारात भाइलर बन्यो । कलाकार शिशिर राणाले तिनै भाइरल ब्वाईलाई काठमाडौं ल्याए । उनले केही फिल्ममा गाउन लगाए । उनले ‘नाइँ नभन्नु ल २’ मा गाएको ‘मर्ने कसैलाई रहर हुँदैन’ र ‘यी आँखामा तिमी छौ’ गीतले सबैको मन जित्यो ।

काठमाडौं ल्याएर फिल्ममा गीत गाउने अफर दिएका उनै राणाले प्रेमलाई पढ्न स्कुल भर्ना गरिदिए । अहिले परियार १६ वर्षका भए, ललितपुरस्थित युनाइटेड स्कुलमा कक्षा ८ मा पढिरहेका छन् । होस्टलमा बस्छन् । करिब नौ भन्दा बढी देश उनले चहारिसकेका छन् । अझै पनि उनलाई देशविदेशबाट निम्तो आइरहन्छ तर पढाइका कारण उनी जान सकिरहेका छैनन् ।

अब अर्को घटना हेरौं । जुन अहिले निकै विवादमा तानिएको छ । पात्र हुन्, अशोक दर्जी
सडकमा बसेर गीत गाउने उनको र प्रेमको कथा उस्तै छ तर नतिजा भने फरक छ । प्रेमले जसको संरक्षण पाए, उनले पहिला पढाइ अनि पछि मात्र संगीतमा जोड दिए । उनी राजी भए ।

अशोकले स्वर नखुले पनि पहिला गीत, युरोप टुर, पैसा अनि मात्र पढाइ भन्ने संरक्षक पाए । आर्थिक रुपमा कमजोर सुकुम्बासी परिवारका सदस्य अशोकलाई गायक तथा संगीतकार टंक बुढाथोकी र डिजे रुपकले काठमाडौं ल्याए । एउटा गीत रेकर्ड गराए । अशोकको गायकी क्षमताले उनलाई गायन क्षेत्रमा राम्रो सम्भावना छ भनी नदेखाएको हैन । उनी भाइरल ब्वाई बन्नुमा उनको गला भन्दा पनि उनको दुःखी पृष्ठभूमिले काम गरेको थियो ।

अशोककी दोस्री आमा, कपाल काट्दा भावुक भए अशोक, पहिलो पटक प्लेन चढे अशोकले, अशोककी दिदी दुःखी भइन्, अशोकको घरमा भुतले तर्सायो, अशोकको भव्य घर बन्दै जस्ता युट्युबका दृश्य र यस्तै कन्टेन्टलाई प्रमोट गर्नेहरुले देखाउँछ, अशोकले रामकृष्ण र प्रेमले जस्तो असल मनको अभिभावक पाएनन् ।

नौ वर्षका बालकलाई करिअर बनाउनतिर लतार्ने कि पढाइ–तालिम अनि मात्र करिअरमा ध्यान दिने बनाउने रु उनको संरक्षण लिने टंक बुढाथोकीको ध्यान केमा छ भन्ने बुझ्न अशोकको युरोप टुर क्यान्सिल भएपछि उनै बुढाथोकीले फेसबुकमा राखेको स्टाटसले देखाउँछ ।

उनले लेखेका छन्, ‘अशोकको संसार देख्ने सपना टुटेको छ, अब अशोक बाबुलाई मैले के भनेर बुझाउने होला है रु दादा हामी कहिले जाने युरोप भनेर हिजो मात्र सोधेका थिए ।’

संरक्षक बनेका टंक र उनको समूहले अशोकको ‘करिअर’ भन्दा ‘क्यास’मा जोड दिएपछि यो विवाद बढिरहेकै थियो । उनीहरुको नियतमाथि प्रश्न उठिरहेकै थियो । यसैबीच आफूलाई टंकको म्यानेजर बताउने उनका दाइ टीकाराम बुढाथोकीको आक्रोशपूर्ण पत्रकार सम्मेलन, टीकाराम र अशोकले अध्ययन गरिरहेको विद्यालयका प्रिन्सिपल दीपक न्यौपाने बीचको टेलिफोन संवाद बाहिरियो ।

अशोकको घर बनाउने ठेकेदारले पैसा नपाएको सार्वजनिक अभिव्यक्ति दिएपछि घर बनाउन उठाएको रकमको पारदर्शितासमेत विवादमा आयो । यस भन्दा अगाडि जग्गा खरिदमा एक लाखको विवाद आएको थियो । यो विवाद रोकिने छाँट छैन । बढ्दो छ । के अशोकको संरक्षकले पढाइभन्दा पैसामा जोड दिएकै हुन् त ? उनलाई भर्ना गरिएको बेथेल एजुकेसनल एकेडेमीको रेकर्ड हेर्दा यस्तै देखियो । विद्यालयका प्रिन्सिपल न्यौपानेका अनुसार अशोक विद्यालय भर्ना भएको तीन महिना भयो तर उनी मुस्किलले ४५ दिन मात्रै स्कुल पुगेका छन् । असार २३ मा काठमाडौं आएका उनी यतै छन् ।

युकेजीमा भर्ना भएका उनले पहिलो त्रैमासिक परीक्षासमेत दिएनन् । परीक्षा अगाडि उनलाई युरोप टुरको तयारी भन्दै टंकले काठमाडौं ल्याएका थिए ।

‘मैले यो परीक्षा निकै महङ्खवपूर्ण छ, कृपया पढ्न दिनुस्, परीक्षा दिन दिनुस्, अशोकको भविष्यको सवाल छ भन्दा पनि उहाँहरुले मान्नु भएन,’ प्रिन्सिपल न्यौपानेले भने ।

लिक भएको टंकका दाजु टीकाराम र प्रिन्सिपल न्यौपाने बीचको टेलिफोन संवादमा टीकारामले युरोपको तयारीका लागि काठमाडौं ल्याएको, युरोपको काम सकिएपछि फर्काउने बताएको सुनिन्छ ।
टंक भने अशोकलाई काठमाडौं पढाउने सुरले ल्याइएको बताउँछन् । उनले अशोकलाई काठमाडौं पढाउने योजना आफ्नो नभई अशोकको बाबुको भएको दाबी गरे ।

सार्वजनिक भएको घटनाक्रमले देखाउँछ, टंक र उनको समूहले अशोकलाई काठमाडौंमा पढाउने भन्दा पनि एक महिने युरोप टुरमा लैजाने विषयमा विद्यालयका प्रमुख र उनीहरुबीच मनमुटाव भएको हो । विद्यालय विद्यार्थीलाई पढाउने योजनामा देखिन्छन् भने टंक र उनको समूहको प्राथमिकतामा पहिला सांगीतिक कार्यक्रम अनि मात्र पढाइ देखिन्छ । यो विवाद सार्वजनिक भएपछि अहिले टंक अशोकलाई काठमाडौंमा राख्ने योजनामा पुगेका छन् ।

प्रिन्सिपल न्यौपाने आफूले अशोकसहित चार जनालाई १० कक्षासम्म निःशुल्क पढाउने सम्झौता गरेकाले काठमाडौं लैजानुअगाडि अनुमति लिनुपर्ने बताउँछन् ।

‘सम्झौताविपरीत मलाई नसोधी लैजान त नमिल्ला नि ?’ न्यौपानेले भने । यसबारे जिज्ञासा राख्दा टंकले ‘उहाँकै बाबुले ल्याएकाले उतै सोध्नु’ भन्दै पन्छिए ।

-(शुक्रबार साप्ताहिकमा पुष्पा थपलियाले लेखेकी छिन् ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७