शिक्षामा पुरुषलाई पछि पार्दै महिला


१८ श्रावण २०७५, शुक्रबार

काठमाडौं, १८ साउन । पछिल्ला केही वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ लगायतका परीक्षाहरूमा महिला विद्यार्थीले राम्रो परिणाम ल्याएको थालेको सरकारी अधिकारीहरूले बताएका छन् ।

यसलाई सकारात्मक मान्दै समाजमा बढेको चेतनाका कारण यो परिवर्तन भएको विज्ञहरूको ठम्याइ छ । परीक्षाहरूमा सहभागी हुनेको संख्यालाई आधार मान्ने हो भने उच्च शिक्षातर्फ छात्राहरूको आकर्षण धेरै देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ परीक्षाको परिणाम प्रकाशित गर्‍यो । परीक्षामा छात्राहरूको संख्या धेरै थियो ।
उच्च शिक्षा लिने बालिका तथा महिलाहरूको संख्या वृद्धि भए पनि उनीहरूले उचित रोजगारी पाउन नसकेको भन्दै शिक्षाविद्हरूले त्यसतर्फ राज्यको ध्यान जानुपर्ने सुझाव दिएका छन् ।
सहभागिता
राष्ट्रिय परीक्षा बोर्डले नयाँ ग्रेड्रिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरिएको कक्षा १२ को नियमिततर्फको परीक्षामा पुरुषको तुलनामा २० हजारभन्दा बढी महिला सहभागी भएका थिए । अधिकारीहरूका अनुसार गत वैशाखमा सञ्चालित सो परीक्षाको नियमिततर्फ एक लाख ५१ हजार छ सय ३९ छात्रा सहभागी भएका थिए । छात्रहरूको संख्या भने एक लाख ३१ हजार चार सय ११ थियो । उपलब्ध तथ्याङ्कमा १६ हजार पाँच सय ५२ जनाको लिङ्ग खुलाइएको छैन । यसैगरी आंशिकतर्फ पनि महिलाको संख्या नै बढी भएको बोर्डले जनाएको छ ।
लगाव
एक महिनाअघि नतिजा प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेमा पनि पुरुषको तुलनामा महिलाहरू नै बढी रहेका थिए । एसईई र कक्षा १२ को परीक्षामा सहभागी हुने मात्र नभई नतिजा राम्रो गर्नेमा पनि महिला अगाडि देखिन थालेको बताइन्छ ।
यसले छोरीलाई विद्यालय नै पठाउन हुन्न भने सामाजिक सोचमा परिवर्तन ल्याएको छ र महिलालाई आत्मनिर्भर बन्न पढ्नुपर्छ भन्ने चेत दिएको उनीहरू बताउँछन् । राजधानी काठमाडौंस्थित न्यू अरुणोदय माध्यमिक विद्यालयकी अध्यक्ष जेसिका चेम्जोङ भन्छिन्, ‘महिलाहरूमा पढाइप्रति लगाव छ । उनीहरूमा समाजलाई देखाउनु पर्छ भन्ने सोच पनि विकास भएको छ । अवसर पाउँदा उनीहरू उत्साहित भएको देखिन्छ ।’
परिवर्तन
उनी शिक्षालयहरूमा पुरुषको तुलनामा महिलाको संख्या बढ्नु सकारात्मक भएकाले त्यसले समाजलाई थप गतिशील र विकसित बनाउने बताउँछिन् । शिक्षाविद् तथा सरकारी अधिकारीहरू उमेर पुगेपछि मात्र छोरीहरूको विवाह गरिदिने चलन बढेकाले यो परिवर्तन भएको बताउँछन् ।
उनीहरू अभिभावकमा छोराछोरी बराबरी भन्ने जागरुकता आउनु र बालिकाहरूलाई प्रोत्साहन गर्ने योजनाहरू अघि बढाइनुले पनि परिवर्तन सम्भव भएको तर्क गर्छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भन्छन्, ‘१८ वर्ष नपुगी विवाह नगर्ने सामाजिक चेतनाले छोरीहरू विद्यालय आउन पाएका छन् र धेरै टिकेका छन् ।’
सन्देश
शिक्षविद्हरू भने उच्च शिक्षामा महिला सहभागिता बढ्यो भनेर मात्र सरकारको दायित्व पूरा नहुने बताउँछन् । उनीहरू शिक्षामा महिलाको पहुँच बढेसँगै सरकारले रोजगारीको उपयुक्त अवसर सिर्जना गर्नुपर्ने र संख्या घट्न नदिन निरन्तर पहल गर्नुपर्ने बताउँछन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, ‘के–के सम्भावना छ भन्ने बारेमा उनीहरूलाई सहयोग गर्नुपर्छ । पढेका केटीहरू हुने र कम पढेका केटा हुँदा पनि केही हुँदैन भन्ने सन्देश केटा र केटी दुवैलाई दिनु आवश्यक छ ।’ कतिपय विश्लेषकहरू भने कक्षा १० सम्म अध्ययन गर्नेबित्तिकै गरीब तथा विपन्न परिवारका पुरुषहरू विदेशिने गरेको र जनसंख्या नै बढी भएकाले उच्च शिक्षामा महिला सहभागिता बढेको देखिएको बताउँछन् ।

प्राविधिक र जीवन उपयोगी भन्दा पनि प्रमाणपत्र लिने खालको मात्र शिक्षा प्रणाली परिवर्तन नगरी उच्च शिक्षामा जति सहभागिता बढे पनि महिला सशक्तिकरणमा खासै फरक नपर्ने उनीहरूको तर्क छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७