अब श्रम स्वीकृतिको सास्ती हट्दै, सात प्रदेशका यी ठाउँबाट हुनेछ श्रम स्वीकृति


२५ श्रावण २०७५, शुक्रबार
tahachal

काठमाडौं, २५ साउन । वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति लिंदाको झण्झट र सास्ती थाहा छ ।

tahachal

तर अब युवाहरुले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन सास्ती खेप्न नपर्ने भएको छ । अब आफ्नै प्रदेशबाट श्रम स्वीकृति लिन सकिने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवाको चापलाई मध्यनजर गर्दै सातै प्रदेशबाट श्रम स्वीकृति वितरण गर्ने तयारी थालेको छ । दुई महिनापछि ११ स्थानमा श्रम कार्यालय स्थापना गरेर श्रम स्वीकृति वितरण गर्ने तयारी सरकारले गरिरहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपत्यका बाहिरका सबै प्रदेशमा श्रम कार्यालय खोल्ने निर्णयका लागि गत आर्थिक वर्षको बैसाख महिनामा नै मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो । गएको साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने प्रस्तावलाई पारित गरेपछि आगामी दुई महिनाभित्रै सातै प्रदेशबाट श्रम स्वीकृति वितरण गरिने भएको मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयका अनसार झापा, विराटनगर, जनकपुर, विरगन्ज, काठमाडौं, हेटौंडा, नेपालगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिने छ । मन्त्रालयले करीब तीन महिनाअघि प्रत्येक प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने घोषणा गरे पनि उक्त योजना कार्यान्वयन गर्दा नीतिगत र व्यावहारिक विषयलाई सँगै समेटेर लैजानुपर्ने भएकाले काम गर्न केही समय ढिलो भएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिएका छन् ।

‘संगठन र व्यवस्थापन परीक्षण सर्वेका विषयमा मन्त्रिपरिषद् बैठकबाट पारित भएर आएको छ । दुई महिनाभित्र सबै प्रदेशमा कार्यालय स्थापना गरी रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति वितरण गरिने छ’, उनले भने ।हाल देशभर १० वटा श्रम कार्यालय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७