अलबिदा ! दाहाल यज्ञनिधि ‘जदौँ’


२६ श्रावण २०७५, शनिबार
Yagyanidhi Dhal

प्रकाश सिलवाल
काठमाडौँ, २५ साउन : 
शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए ।

मिर्गाला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा थिए । मस्तिष्कको शल्यक्रिया गर्ने या नगर्ने, गरेर उनको जीवन बच्न सक्ने/नसक्ने वा शल्यक्रिया गर्दा नियमित डायलासिसलाई असर पर्ने त होइन भन्ने जिज्ञासा परिवारका सदस्य र चिकित्सकहरुबीच छलफल चलिरहेको थियो । बिरामीलाई भेट्नका लागि उनका श्रीमती र परिवारका सदस्यलाई पनि दिइएको थिएन ।

Yagyanidhi Dhal

उनकाे समग्र अवस्था हेरेर श्रीमती सुधा दाहाल र चिकित्सक डा वसन्त पन्त सहितको टोलीले मस्तिष्कको शल्यक्रिया नगरी नियमित डायलासिससहित अब्जर्भेसनमा राख्न धापाखेलको सुमेरु अस्पतालमा ‘रेफर’ गर्ने निर्णय गरेको थियो । अन्ततः साँझ दाहाललाई बचाउन नसक्ने घोषणा चिकित्सकले गरिदिए । पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदौं’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारिताका खरो स्वभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रुपमा लिइन्छ । झर्रावादी शैलीका दाहालले लामो समय दरबार हाई स्कूलमा नेपाली विषयको शिक्षण पनि गरे ।

‘कार्यक्रम सञ्चालनबापत मासिक तलब लिएर पत्रकार र कर्मचारीलाई चिया ख्वाउनुहुन्थ्यो । उहाँ यसपल्टको शनिबारको कार्यक्रम सञ्चालनको तयारीमा हुनुहुन्थ्यो तर अचानक हामीले उहाँलाई गुमाएका छौँ,’ रेडियोका स्टेशन म्यानेजर एवं साहित्यकार ठाकुर बेल्वासेले भने । मृत्युलाई पटक पटक नजिकबाट नियाँले पनि बाँच्नुको कलाबारे बोल्नु पर्दा थकित नहुने दाहाललाई युवा पुस्ताका स्रष्टा र सञ्चारकर्मीले पनि उद्घोषणकला र साहित्य सिर्जनाबारे सम्मानका साथ लिले गरेका छन् ।

साहित्यकार÷रेडियोकर्मी यज्ञनिधिको भौतिक शरीर नरहेसँगै उहाँले रेडियो तरङ्गमा छाडेर गएका साहित्यिक वाणीहरु अमर भएका छन् । खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उनले भानु मावि, दरबारमार्गमा लामो समय शिक्षण गर्नुभएको थियो । यसैबीच २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका उहाँको २०५७ फागुन १० मा मिर्गाला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो ।

पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौँ स्रोता, जदौँ खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे । पछिल्लो दशकका उहाँलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदौँ’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उहाँको निबन्ध प्रकाशन गरेको छ ।

बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्रापना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ । नाम नभएको नगरका रुपमा अनामनगरको नाम पनि दाहालले राखेका थिए ।

नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उहाँले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गर्नुभएको थियो । “दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने त्यसबेला देखिकै मेरो अभियान हो । शरीरले साथ दिएको भए अहिले पनि त्यसलाई निरन्तरता नै दिने थिएँ,’ भन्ने गरेका थिए ।

यसैबीच प्रगतिशील संघका अध्यक्ष मातृका पोखरेलले दाहाल सोच र चिन्तका हिसाबले क्रान्तिकारी एवं प्रगतिशील भएको बताउँछन् । उनको निधनबाट समाजले सांस्कृतिक रुपान्तरणको एक अग्रजलाई गुमाउनु परेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७