७१ प्रतिशत डाक्टर काउन्सिलको परीक्षामा फेल


२७ श्रावण २०७५, आईतवार
NMC

काठमाडौं, २७ साउन । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परीक्षार्थी अनुुत्तीर्ण भएका छन् ।

NMC

डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ । दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नुपर्छ ।
शनिबारको परीक्षामा सहभागी हुन ९१२ जनाले आवेदन दिएका थिए । तीमध्ये ९०३ जनाले परीक्षा दिएका थिए । सोही दिन प्रकाशित नतिजाअनुसार ६४१ जना फेल भएका छन् भने २६२ जनाले मात्र काउन्सिलमा दर्ता हुने भए ।

यस्तो छ परीक्षा विधि
परीक्षामा सहभागी हुन अनलाइनमार्फत् फाराम भर्नुपर्छ । काउन्सिलले अनलाइनबाटै कागजपत्र चेकजाँच गरी भेरिफाइ गर्छ । योग्यता पुगेको भए इमेलबाट प्रवेश पत्र पठाई दिन्छ । परीक्षार्थीले त्यो प्रिन्ट गरेर राख्नुपर्छ । परीक्षा दिन आउँदा प्रवेश पत्रसँगै परिचय खुल्ने अरू कुनै कागजपत्र पनि ल्याएर आउनु पर्छ । परीक्षा हलमा प्रवेश गर्न तीन ठाउँमा चेकजाँच हुन्छ ।

हिलो घेरामा प्रवेश पत्र चेक हुन्छ । प्रवेश पत्रमा बारकोड राखिएको हुन्छ, बारकोडले रिड गरेपछि फारम भर्दाको फोटो र लाइभ फोटो मिलेपछिमात्र भित्र दोस्रोमा सुरक्षा जाँच पुग्छ ।
त्यसपछि तेस्रो घेरामा मोबाइल, झोला र अन्य सामाग्रीहरू राखिन्छ ता कि परीक्षार्थीले प्रवेश पत्रबाहेक अन्य सामान लिन पाउँदैनन् ।

लेख्ने कलम काउन्सिलले नै दिन्छ । हलमा १५ जना परीक्षार्थी बराबर १ निरीक्षक खटिएका हुन्छन् । परीवेक्षण गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषदलगायतका अधिकारी पनि बोलाइएको हुन्छ । परीक्षा सकिने बित्तिकै मेशिनबाट उत्तरपुस्तिका जाँचिन्छ । मेशिन चलाउनेहरू पनि विदेशबाट आएका हुन्छन् । हलमा पसेपछि एकमुष्ट नतिजा नआउन्जेलसम्म परीक्षामा खटिएका कर्मचारी र काउन्सिलले खटाएकाहरू बाहिर जान पाउँदैन । एक पटक परीक्षा तयारी गर्न काउन्सिललाई १० दिनजति समय लाग्छ ।

जामरको प्रयोग
नेपालमा हुने कुनै पनि परीक्षामा जामर प्रयोग भएको पाइँदैन तर, काउन्सिलले डाक्टरको परीक्षामा चलखेल नहोस् भनेर जामर प्रयोग गर्छ । ‘कसैले कुनै पनि किसिमले चलखेल गर्न नसकोस् भनेर मोबाइल पनि नचल्ने जामर प्रयोग गर्छौं,’ काउन्सिलका अध्यक्ष प्राध्यापक डा. धर्मकान्त बाँस्कोटाले भने, ‘चिट चोर्न कसैले पाउँदैन, हलमा आउँदा चेकजाँच बलियो बनाएका हुन्छौं ।

जामर प्रयोग गरेपछि त झन ढुक्क हुन्छ ।’ बाँस्कोटाका अनुसार परीक्षा गर्न काउन्सिलले एक समिति बनाएको हुन्छ । काउन्सिल पदाधिकारीका आफन्तले परीक्षा दिँदैछन् भने ती पदाधिकारी परीक्षा प्रक्रिया संलग्न नहुने चलन रहेको उनले जानकारी दिए । उनकाअनुसार विभिन्न १३ वटा विषयसँग सम्बन्धित विज्ञबाट संकलन गरिएका प्रश्नहरू काउन्सिलको प्रश्न बैंकमा जम्मा हुन्छन् । एमबिबिएस र बिडिएस पढेकाको र एमडी, एमएस र एमडिएस गरेकाको फरक–फरक समयमा परीक्षा हुन्छ । हिजो फेल भएकाहरूले अब चार महिनापछि मात्र जाँच दिन पाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७