उपत्यका ४१ उद्योगका पानी पिउन अयोग्य, दुषित पानी बेच्ने उद्योग बन्द गरिने


२७ श्रावण २०७५, आईतवार

काठमाडौं, २७ साउन । हामी जार वा बोतलको पानी निर्धक्क पिउँछौं । जार वा बोतलमा शिलप्याक भएको पानी धाराको जस्तो दुषित हुँदैन भन्ने हामी सबैको बुझाई छ । तर, उपत्यकाका ४१ उद्योगले उत्पादन गरिरहेको पानी दुषित भेटिएको छ ।

सांकेतिक तस्विर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ४१ उद्योगबाट प्रशोधित बोत्तल तथा जार पानी पिउन अयोग्य रहेको ठहर गर्दै मुद्दा दायर गरेको छ । तीमध्ये केही उद्योगको पानी त दुषित नै रहेको विभागले जनाएको छ ।

विभिन्न क्षेत्रबाट गत आर्थिक वर्षमा संकलित नमुना परीक्षण गर्दा ४१ उद्योगबाट प्रशोधित जार तथा बोत्तल पानी पिउन अयोग्य पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिएका छन् । ‘पिउन अयोग्य पाइएपछि यी उद्योगविरुद्ध सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको छ’ उनले भने । सर्वसाधारणले समेत पानीका सम्वन्धमा उल्लेख्य उजुरी गर्ने गरेको विभागले जानकारी दिएको छ । लेउ लागेको, किरा भेटिएको, रौं परेको, नदेखिने प्लास्टिकका टुक्रा भेटिएको, गन्हाएको जस्ता गुनासा आएपछि परीक्षण गरिएको विभागले जनाएको छ ।

मुद्दा दायर भएकामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा सञ्चालित प्रशोधित पानी उद्योग छन् । काठमाडौं जिल्लाका कन्चनजंघा वेवी मिनरल, भगवती बेभरेज, संग्रिला ड्रिङ्किङ वाटर, ए एण्ड बि बेभरेज, पशुपति स्प्रिङ वाटर, स्प्रिङ मिनरल वाटर अफ मातातिर्थ, यति बेभरेज र जलप्योर ड्रिङ्किङ उद्योगबाट प्रशोधित पानी पिउन अयोग्य रहेको विभागको परीक्षणले देखाएको छ ।

त्यस्तै ललितपुरमा सञ्चालित रियल स्प्रिङ मिनरल वाटर, धनेश्वर प्युर ड्रिङ्किङ वाटर, कोर स्प्रिङ वाटर, अक्वा गोदावरी, गोदावरी मिनरल, ग्लेसियर फूड एण्ड बेभरेज, कुण्ड प्रशोधन, प्रसिद्ध वाटर सोलुसन उद्योगको पानीमा कैफियत भेटिएको छ । यीमध्ये कतिपय उद्योगको पानी दुषित नै पाइएको वस्तीले जानकारी दिए । मकवानपुरका शुभ बेभरेज, नेचुरल बेभरेज, अमर पानी, मकवानपुर बेभरेजबाट प्रशोधित पानी दुषित रहेको भेटिइएको छ ।

सर्लाहीको शाह ग्रुप अफ इण्डष्ट्रिज, धनुषाको जानाकी अक्वा, काभ्रेको जिएस वाटर, भक्तपुरको नेचुरल ड्रिङ्किङ वाटर उद्योगबाट प्रशोधित पानी पनि पिउन अयोग्य पाइएपछि मुद्दा दायर भएको छ । तीसहित अन्य जिल्लामा सञ्चालित गरी ४१ उद्योगमाथि मुद्दा दायर भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले दुषित पानी उत्पादन गर्ने उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । मन्त्री खनालले भने, ‘दुषित पानी उत्पादन गर्ने सबै उद्योग बन्द गर्छौ ।’ दुषित पानी उत्पादन गरेको पाइएपछि २२ वटा उद्योगमा तालाबन्दी गरिएको उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७