स्वास्थ्य सचिव परिवर्तन गर्दै उपप्रधानमन्त्री यादव


२८ श्रावण २०७५, सोमबार
Upendra yadav @ puspa

काठमाडौं, २९ साउन । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सरुवामा आर्थिक चलखेल गरेको सूचना पाएपछि सचिव डा. पुष्पा चौधरीलाई परिवर्तन गर्ने निष्कर्षमा पुगेका छन् ।

Upendra yadav @ puspa
उपेन्द्र यादव र डा. पुष्पा चौधरी

सचिवको पैसामोहले गर्दा मन्त्रालयको प्रतिष्ठामै आँच पुगेकाले प्रधानमन्त्री केपी ओलीसँगै सल्लाह गरेर उपप्रधानन्त्री यादव उनलाई परिवर्तन गर्नुपर्ने तहमा पुगेका हुन् ।  केही दिनभित्रै सचिव चौधरी प्रधानमन्त्री कार्यालयमा तानिने प्रवल संभावना छ । सचिवको क्लष्टरिङ सरकारले खारेज गरेकाले चिकित्सक नै सचिव हुनुपर्ने बाध्यकारी ब्यवस्था नभएकाले प्रशासन समूहकै हुनेछन् । उपप्रधानमन्त्री यादव प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयमा ल्याउन चाहिरहेका छन् । 

सचिव चौधरीले कर्मचारी सरुवामा घुस नलिएसम्म फाइल नै अड्काउने गरेको गुनासो धेरैले मन्त्री यादवसँग गरेपछि उनी सचिव परिवर्तनको निचोडमा पुगेका छन् । मधेशी समुदायको सचिवलाई परिवर्तन गर्दा त्यसको सन्देश राम्रो नजाने भएकाले उनले कतिपय गुनासो सुनेको नसुन्यै गरे । तर सचिव चौधरीले मन्त्रालयको ९ देखि ११ तहसम्मका महाशाखा प्रमुख सरुवामा मन्त्री यादवलाई अटेर गरी मनपरी गरेपछि उनी चिढिन पुगेका थिए ।

साउन १ गते स्वास्थ्य मन्त्रालयले १ सय ८३ कर्मचारीको सरुवा गर्दा सचिव चौधरीले आर्थिक चलखेलका आधारमा नेपाली कांग्रेस निकटहरुलाई राम्रो ठाउँ दिएकी थिइन् । सचिव चौधरीको सरुवादेखि विभिन्न कामको एउटा टिम छ । जसमा डा. गरिबदास ठाकुर र निलम्बित कर्मचारी रामजी घिमिरे छन् ।

चौधरीले घुस नआएसम्म महत्वपूर्ण फाइल नै अड्काउने गरेपछि मन्त्री यादव वाक्क भएका छन् । यसअघि पदमा अर्याल राज्यमन्त्री हुँदा पनि उनले हैरान पारेकी थिइन् । अर्यालले सचिवले असहयोग गरेकोबारेमा प्रधानमन्त्रीलाई गुनासो गर्दा सुरुमा अर्को पठाउँछु भने । तर मुख्यसचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्रीलाई सचिव चौधरीलाई महिला भएकाले चलाउँदा गलत सन्देश जाने भनेर तर्साउँदै पछि अर्यालको कुराको सुनुवाइ नै भएन ।

पहिलादेखि सरुवामा पैसा संकलन गर्दैआएकाले ठाकुर र घिमिरेलाई कहाँबाट पैसा आउँछ भन्ने सबै थाहा छ । सचिव चौधरीले सरुवामा घुस संकलनका लागि भ्रष्टाचार आरोपमा निलम्बित कर्मचारी रामजी घिमिरेलाई प्रयोग गर्दैआएका छन् । घिमिरे कांग्रेस निकट स्वास्थ्यकर्मी संघका अध्यक्ष हुन् । उनी निलम्बन भएको ४ बर्ष बितिसक्दा पनि संघकै अध्यक्ष छन् ।

ठाकुर र घिमिरेसँग सचिव चौधरीले कार्यालय समयपछि मन्त्रालयमा छलफल गर्ने गरेकी छिन् । मन्त्री यादव र उनको सचिवालयका कर्मचारीभन्दा पनि सचिव चौधरीले ठाकुर र घिमिरेको सल्लाहमा पैसाका आधारमा सरुवा गर्दैआएको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७