‘क्रान्तिकारीलाई आतंककारी बनाउने प्रयास भयो’


३० श्रावण २०७५, बुधबार
jeeban bhandari1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यमाथि निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले कुटपिट गरेको समाचार ब्यापक भयो । अनलाइनहरुमात्र होइन, सोमबारका दैनिकहरुले पनि ट्रेड युनियनका नेताले उपसचिवमाथि हातपात गरेको कुरालाई उछाले । तर वास्तविकता के हो त ? संगठनका उपाध्यक्ष भण्डारी भन्छन्, जुम्लाका साथीलाई जुम्लामै सरुवा गराउन पटक पटक जाँदा पनि काम नभएपछि सामान्य भनाभन भएको हो । मैले ऋषि सरलाई छोएको पनि छैन । यो निजामती कर्मचारी संगठनको एउटा गुटले मिडियामा मेराविरुद्ध मिथ्या प्रचार गराएका हुन् । ऋषि आचार्यमाथि कर्णालीका साथीको काम गर्ने क्रममा आवेशमा आएर भनाभन भएको कुरालाई कुटपिट भनेर भ्रामक प्रचार गरिएकोमा दुःख लागेको छ । प्रस्तुत छः नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीसँग कुटपिटकाण्डको बारेमा छोटो संवादः

jeeban bhandari
उपाध्यक्ष जीवन भण्डारी

० तपाईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कुट्नुभएकै हो ?
उपसचिवमाथि हातपात गरेको कुरा एकदम अनर्गल प्रचार हो । ऋषि सर भन्ने मात्र मैले थाहा पाएको थिएँ । ऋषि आचार्य भन्ने त मैले अनलाइनहरुमा समाचार आएपछि मात्र थाहा पाएको हुँ । म आधिकारिक ट्रेड युनियन जुम्लाका कोषाध्यक्ष नेत्र गिरीलाई सोही जिल्लामा सरुवाको लागि गएको थिएँ । आइतबार समेत म ३ पटक गिरीलाई जुम्लामै सरुवा गरियोस् भनेर गएको हुँ । म शिक्षा सेवाको कर्मचारी हुँ । सरुवाको बिषयमा ऋषि सरले ३ पटक बोलाउँदा कहिले चिठी लिएर आइज भन्ने त कहिले के भन्नुभयो ।

ऋषि सरसँग गिरीको सरुवाको बिषयमा सामान्य छलफल भएको हो । उहाँसँग छलफलका क्रममा गमला ढलेको हो । हातपात त के उहाँको शरीरमा छोएको भए म जुनसुकै संजाय भोग्न तयार छु । तर छुँदै नछुँदा पनि कुट्यो भनेर अनर्गल प्रचार गर्ने काम भएको छ । स्वयं ऋषि सरलाई पत्रकार साथीहरुले सोध्दा पनि थाहा हुन्छ । ऋषि आचार्यले जीवन भण्डारीबाट हातपात भएको भन्नुहुन्छ भने जस्तोसुकै कानुनी कारबाही भोग्न तयार छु । यो अन्त्यन्तै अनर्गल भ्रामक प्रचार गरिएको हो । मैले उहाँमाथि सरुवाको बिषयमा छलफल गरेको हो । छलफलका क्रममा सामान्य भनाभन भएको हो । मैले मालपोत, बैदेशिक रोजगार विभाग वा यातायातमा सरुवा गरिदेऊ भनेर कुनै भ्रष्टको सिफारिस गरेको होइन, जुम्लाको साथीलाई जुम्ला सरुवा गराउन खोज्दा जुन दुःख दिइयो, त्यसमा म होइन, जो भए पनि विवाद त भइहाल्छ ।
० तपाईले हातपात नै गर्नुभयो भनेर मिडियाबाजी भएको छ नि ?
म जुम्लाको मानिस हुँ । मेरो मिडियामा पहुँच छैन । कुट्नै नकुटी कुट्यो भनेर कसरी समाचार आयो, मलाई केही थाहा छैन । म अचम्मित छु । मलाई सोध्दै नसोधी समाचार लेखिएको छ । साथीहरुले फोन गरेर तेरो बारेमा यस्तो आएछ भनेपछि पो मैले थाहा पाएँ । मैले छुँदा पनि नछोएको र स्वयं ऋषि आचार्यले नै कुटेको होइन भनेपछि पनि किन लेखेका हुन् ? गर्र्दै नगरेको गल्तीका बारेमा भ्रामक समाचार आउँदा दुःख लागेको छ । क्रान्तिकारीलाई आतंककारी बनाउने प्रयासका रुपमा मैले बुझेको छु ।
० तपाईले कुट्दै नकुटेको बिषयमा कसरी समाचार आयो त ?
नेकपा.( साविक एमाले) भित्रको पनि गुटका कारण म भिक्टिम भएको हुँ । विशेषगरी भन्नुपर्दा म निजामती कर्मचारी संगठनमा जुन गुटमा छु, अको गुटले मेरा विरुद्ध यस्तो समाचार प्रवाह गराउने काम गरेको छ । साँढेको जुधाईमा बाच्छाको मिचाई भएको हो । मैले पैसा खाएर सरुवा गर्ने काम गरेको छैन । म त्यस्तो मानिस होइन । हामी कर्णालीका मानिसको माथिसम्म पहुँच छैन । कर्णालीका ट्रेड युनियन कर्मचारी साथीको समस्या लिएर म सामान्य प्रशासन मन्त्रालयमा गएको हुँ । ३ पटक धाउँदा पनि नभएपछि किन भएन भनेर सोध्न पाउने अधिकार छैन ? यो घटनाबाट पनि कर्णालीबासी कति पीडित छन् भनेर बुझ्न सकिन्छ । हामी कर्णालीका मानिसको पहुँच कति कमजोर रहेछ भन्ने यसबाट पुष्टी भएको छ । मेरो सहसचिव, सचिवसँग पहुँच हुन्थ्यो भने जुन सामान्य भनाभन वा छलफल भयो, त्यो पनि हुँदैनथ्यो होला । कर्णालीका कर्मचारी साथीका काम गर्दा सामान्य भनाभन भएको बिषयलाई तिललाई पहाड बनाउने काम टेण्डरमा सरुवा गर्ने संगठनका गुटीयारहरुले गरेका हुन् । म संगठनको गुटको शिकार हुँदैआएको छु । मलाई संगठनको गुटले कांग्रेस समर्थक कर्मचारी प्रयोग गरी जुम्लाबाट खोटाङ सरुवा गर्दा पनि सहेरै आएको हुँ ।

rsishi aacharya
उपसचिव ऋषि आचार्य

० खास भएको चाहिँ के हो त्यो दिन ?
मेरो भनाभन भएको खासगरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियासँग हो । एउटा सचिवसँग मैले के अपेक्षा गरेको थिएँ त ? सचिवले मलाई कार्यकक्षमा बोलाइसकेपछि यस्तो घटना किन घट्यो, हाम्रा कर्मचारीले तपाईलाई दुःख दिए कि भन्लान् अभिभावकको नाताले भन्ने मेरो अपेक्षा थियो । म एक निजामती कर्मचारी उहाँ मेरो अभिभावक हो । तर एकाएक उहाँले तँ तँ र म म गरेर मैले गुण्डागर्दी गरिस् भन्नुभयो । मैले कर्णालीको मानिसले कर्णालीमै जान्छु, जिल्लामै जान्छु भन्दा म कर्णाली भन्दा पनि दुर्गमको भनेर गैरजिम्मेवार जवाफ दिनुभयो । समस्यामा सचिव समस्यामा आउँदैआउनुभएन । गालीगलौजमा उत्रिनुभयो । सचिवसँगको संवाद सुन्ने पत्रकार समेत रहिसकेका जगत नेपाल, संगठनका पूर्वपदाधिकारीहरु सबै छन् । सचिव थपलियालाई हामी शिक्षासेवाका कर्मचारीसँग एउटा इगो रहेछ । हामीले मुख्यसचिवसँग शिक्षा सेवाका कर्मचारीको ब्यवस्थापनको कुरा गरेका थियौं, म माथिको सचिवको दुब्यर्वहार त्यसैको प्रतिशोध हो । ऋषि आचार्यले अहिले पनि भन्दै हुुनुहुन्छ मलाई कुटेकै होइन भनेर । किन यति विधि बबरन्डर मच्चााइएको छ मैले बुझ्न सकेको छैन ।
० पहुँच र प्रभाव नभएका कर्णालीलगायतका जिल्लाका कर्मचारीप्रति उच्च प्रशासकहरुको दृष्टि सकारात्मक छैन भन्न खोज्नुभएको हो ?
हो, एकदम नकारात्मक छ । मैले कर्णालीको जुम्ला घर हो, त्यहींको गाउँपालिकामा जान्छु भन्दा पनि जान नदिने भन्दाखेरी कस्तो होला ? कुनै कर्मचारीको ३–४ पटक सरुवा भएको छ त भन्दा सचिवले ५१ पटक सरुवा गर्छु मुद्दा हाल भन्नुभयो । सचिव थपलिया अति तल्लो स्तरमा ओर्लिएर प्रस्तुत हुनुभयो । म ऋषि आचार्य सरसँग विवाद गरेकोमा माफी माग्थें, तर सचिवको ब्यवहारका कारण मलाई थप दुःख लाग्यो । सचिवले मिलाउने भन्दा पनि भड्काउने काम गर्नुभयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७