स्थानीय तहमा एक हजार ४३४ स्वास्थ्यकर्मीको दरबन्दी थपिंदै


३१ श्रावण २०७५, बिहीबार

काठमाडौं, ३१ साउन । स्थानीय तहमा स्वास्थ्य निकायहरुमा पर्याप्त जनशक्ति नहुँदा सर्वसाधरणलाई उपचार सेवा प्रदान गर्न समस्या भइरहेको गुनासो आइरहेका बेला सरकारले स्थानीय तहमा स्वास्थ्य कर्मचारीको दरबन्दी थप्ने भएको छ ।

swasthya mantralaya
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यालय

सरकारले स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि दरबन्दी थप्ने तयारी थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एक हजार ४३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएपछि दरबन्दी थप्न लागिएको हो ।

मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषदमा पुगेको छ । मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एक जना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ ।

२५ हजारभन्दा बढी जनसंख्या भएकामा दुई जना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीन जना र सोभन्दा बढी जनसंख्या भएका तहमा चार जना स्वास्थ्यकर्मी राख्ने तयारी छ । अहिले कर्मचारी अभावकै कारण कतिपय स्थानीय तहका स्वास्थ्य निकायहरुले साधन स्रोत भए पनि नागरिकलाई उपचार सेवा दिन नसकिरहेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७