छोरा नूरप्रसाद, जसले बाबुको लाश र आमाको अनसनसँग करोडौँ बार्गेनिङ गरे


३१ श्रावण २०७५, बिहीबार
नुरप्रसाद अधिकारी Nur Prasd adhikari

काठमाडौं, ३१ साउन । त्यो छोरो, जो बाबुको लाश सरकारी अस्पतालमा कुहाएर सरकारसँग करोडौँ बार्गेनिङ गर्दै, लुक्दै र भाग्दै हिँड्छ । अनि, उसैले आफूले जन्माएको छोरोको न्वारन गर्दैन । पत्नीलाई १० वर्षदेखि बिचल्ली बनाएर काठमाडौंका सडकमा मरेतुल्य बनाउँछ । प्रहरीले पत्ता त लगाउँछ, तर डलरको संगतमा परेको त्यो मान्छेलाई ‘चलाउने’ कसरी ?

गंगामाया अधिकारीले अनसन तोड्नुअघि राखेको शर्तअनुसार सरकारले छोरा नूरप्रसादलाई सम्पर्कमा त ल्यायो । तर, उसलाई खोज्न हिँडेको प्रहरीसामु एउटा यति कहालिलाग्दो कथा पटाक्षेप भयो कि, ती चेलीको वेदना सुनिसक्दा तपाईं–हामी नूरप्रसादलाई थुक्न बाध्य हुन्छौँ ।

नुरप्रसाद अधिकारी Nur Prasd adhikari

प्रहरीसँग नूरप्रसादको मोबाइल नम्बर थियो । त्यसमा फोन आए, गएको आधारमा अनुसन्धान गर्दा एउटा नम्बर फेला प¥यो । उनी थिइन् गोरखाकी महिला । नाता बुझ्दा नूरप्रसादकी श्रीमती भन्ने खुल्यो । जबकि, नूरप्रसादले बाबु मरेपछि आमाबाहेक कोही छैनन् भन्ने गरेका थिए । तर, पत्नी नै फेला परेपछि प्रहरी उत्साहित भयो ।

अनुसन्धानमा खटिएका एकजनाले फोन गरे, ‘म कन्ट्याक्ट कुरियरबाट हो । एउटा सामान आएको छ, पार्सलमा । मोबाइलजस्तो छ । कहाँ ल्याइदिऊँ ?’ उनी छक्क परिन् । सोधिन्, ‘मेरो को छ र पार्सल पठाउने ? होइन होला ।’ फोन गर्नेले भने, ‘हजुरको नाम र नम्बर यही हैन त ?’ उनले ‘हो’ भनिन् । त्यसपछि बोलाइन्, घण्टाघर पछाडि, एनबी बैंकसँगै रहेको कारोबार मिडिया (विज्ञापन एजेन्सी) को अफिसमा । त्यहाँ उनी सामान्य कामदार । पुग्नेबित्तिकै उनले ती व्यक्ति चिनिहालिन् र सोधिन्, ‘तपाईंहरु त प्रहरीजस्तो देखिनुहुन्छ ।’

प्रहरीले ‘सरी म्याडम, तपाईंसँग झुठो बोल्नु बाध्यता थियो’ भन्दै कुरा शुरु गरे । ‘हामी नूरप्रसादजीलाई खोज्न हिँडेको’ भन्दाभन्दै उनले गहभरि आँशु पारिन् । ‘एकछिन बाहिर गएर कुरा गरौँ न’ भनिन् । प्रहरी उनीसँगै थोरै बाहिर, एकान्तमा पुगे । त्यसपछि उनी भक्कानिएर रोइन् । केही बेर रोएर एक घुड्को पानी पिएपछि बल्ल बोल्न थालिन् । ‘१० वर्ष भयो सर, ऊसँग भेट भएको छैन । नाताले लोग्ने त हो, तर नाताको लोग्नेले जिन्दगी चल्दैन रहेछ । मलाई सडकमा छाडेर हिँड्यो । छोरो जन्मियो, न्वारन नगरी, बिचल्ली पारेर हिँड्यो । कहिले मागेर खाएँ, कहिले काम गरेर खाएँ । जसरी पनि छोरो हुर्काएँ ।

सम्पर्क गर्न खोज्दा उल्टै हप्कीदप्की गथ्र्यो । त्यसले दिएको यातना सम्झिँदा बाँच्न मन लाग्दैन । तर, छोरो हुर्किंदै छ । म छोरोको लागि मात्र बाँचेकी हुँ सर..!’ पत्नीले फुजेल घटनापछि छिमेकीहरुसँग दुश्मनी नराखौँ भनेकी थिइन् । ‘नमर्नुपर्ने भाइ म¥यो, अब अरुको उक्साहटमा छिमेकीलाई दोष लगाएर नबसौँ भनेकी थिएँ’, उनले नूरप्रसादले आफूलाई यातना दिनुको कारण सुनाइन्, ‘यसो भनेपछि तँ पनि माओवादी होस्, हामीलाई पनि मार्छेस् भन्दै यातना दिन्थ्यो ।’ गाउँमा यातना मात्रै दिएनन्, गोरखामै माइत भएकी उनलाई काठमाडौं ल्याएर अपरिचित शहरको भिडमा एक्लै छाडी उनी भागेका थिए । छोरो जन्मिएपछि खबर पनि पठाएको । तर, ‘जेसुकै जन्माए पनि मलाई मतलब छैन’ भन्दै गाली गर्ने !

नूरप्रसादले धोका दिए । अमानवीय व्यवहार गरे । अहिले छोरो काठमाडौंको एक निजी विद्यालयमा कक्षा ६ मा पढ्छन् । ९ वर्ष भयो स्कुल जान थालेको । यसरी आफूले जन्माएको छोराको पढाई र रेखदेखमा नूरप्रसादको एक रुपैयाँको योगदान छैन । तर, पत्नीले बाँच्ने नाममा अरु कुनै पुरुषलाई हेरिनन् । अहिलेसम्म नूरप्रसादकै नामको सिन्दुर लगाएर बसेकी छन् । मनभरि नूरप्रसादप्रति घृणा छ । उनले दिएको चोटले अहिले पनि जिन्दगी भारी बनेको छ । बाँच्न पनि मन छैन । तर, ऊ आफ्नो कोखबाट जन्मिएको छोराको बाबु हो ।

नूरप्रसाद मान्छेका अगाडि पत्नीलाई होच्याउन जे पनि भन्छन् । जस्तो कि, प्रहरीले पक्राउ गरेर ल्याउनासाथ ‘तपाईं सरकारसँग करोडौँको बार्गेनिङ गर्दैै मरेको बुबाको लाश कुहाउने मान्छे, उता श्रीमती र छोराको त्यो बिचल्ली बनाउनुभएको रहेछ’ भनी कुरा निकाल्यो । नूरप्रसादले भने, ‘को छोरा ? को श्रीमती ? मेरा कोही छैनन् ।’ यस्तो कुरा सुनेर प्रहरीले उनलाई के भन्यो थाहा छैन, तर कोही मामुली मान्छे भएको भए मुखभरि थुकेर, कस्सिएर दुई–चार लात हान्थ्यो ।

नूरप्रसादकी पत्नीको पीडा सुनेपछि पहिला कुरियरबाट पार्सलमा मोबाइल ल्याइदिएको छु भन्नेले अप्ठेरो माने । भने, ‘म्याडम, हजुरको कुरा सुनेर मलाई पनि रुन मन लाग्यो । झुक्याएँ । मलाई पछुतो लाग्यो, अघि अनुसन्धानका नाममा हजुरसँग झुठो बोलेकोमा । म हजुरलाई हप्ता–दश दिनमै मोबाइलचाहिँ गिफ्ट दिने भएँ । अन्यथा नलिनुहोला…!’

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७