भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था चिन्ताजनक


३१ श्रावण २०७५, बिहीबार
aatal bihari

काठमाडौं, ३१ साउन । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य गम्भिर बनेको बनेको छ । उनी उपचाररत अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जानकारी गराएको छ ।

aatal bihari
भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयी

उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छन् । गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन् । निष्ठावान राजनीतिज्ञ ९३ वर्षीय बाजपेयीलाई मृगौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो । सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुन छाडेका थिए ।

वाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वैंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए ।
तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन नेताका रुपमा चिनिन्छन् । तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय छ । प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एक मात्र गैर कंग्रेसी नेता पनि हुन् । उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए ।

कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजीनामा दिनु परेको थियो । उनी पुनः सन् १९९८ मा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए ।

दोस्रो पटक भने उनले पाँच वर्षे कार्यकाल पूरा गरे । यसअघि सन् १९७७ मा मोरारजी देसाई नेतृत्वको मन्त्रीमण्डलमा उनी परराष्ट्र मन्त्री थिए । बाजपेयीले दुई पटक नेपालको भ्रमण गरेका छन् । पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७