आइजीपी सचिवालयका घुमुवा चोरीको गाडीमा सर्रर


१ भाद्र २०७५, शुक्रबार
kd saha 1

काठमाडौं, १ भदौ । प्रहरी प्रधान कार्यालयबाट सोझै २ नम्बर प्रदेशमा खटिएका घुमुवा सई कृष्णदेव साहले चोरीको गाडी प्रयोग गरेको खुलासा भएको छ ।

सई साहको जनकपुरस्थित घरमा बीआर १६–९०९९ स्कोेर्पियो गाडी नम्बरको चोरीको गाडी रहेको सूचनापछि महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रुद्र शाहीको टोली २०७५ साउन ५ मा पुग्यो । शाहीको टोलीलाई सईको घर भन्ने थाहा थिएन ।

e66abe2b 36c5 4cd8 ac74 358651981e99


प्रहरी पुगेपछि सई साहलाई उनकी श्रीमतीले फोन गरिन् । प्रहरी आएको सूचना पाएपछि सई साहले तत्काल आइजीपी सर्वेन्द्र खनाललाई फोन गरे । आइजीपी खनालले धनुषाका एसपी गोविन्द थपलियालाई सई साहको घरमा गाडी बरामद गर्न गएको टोलीलाई फर्काउन आदेश दिए । ट्राफिक प्रहरीका एसएसपी वसन्त पन्तलाई पनि टोली फर्काउनू भने । सई साहले नेपाल प्रहरीमा रहेका आफन्त एक अधिकृतलाई पनि हारगुहार गरे । र, घरमा पुगे । घरमा पुगेपछि उनले आफू नेपाल प्रहरीमै कार्यरत रहेको बताए । 


ट्राफिक प्रहरीका इन्स्पेक्टर शाही र सई साह असईमा भर्ना हुँदा एकै समूहमा प्रहरीमा प्रवेश गरेको परिचयका क्रममा खुल्यो । र, सई साहले कामका लागि गाडी प्रयोग गरेको बताए । प्रहरीका लागि प्रयोग गरेको भए किन घरमा राखेको भनेर प्रश्न गरेपछि उनले ससुरालीले दाइजोमा दिएको भनेका थिए । आइजीपीको फोन र साहले प्रहरी हुँ भनेपछि शाहीको टोली फिर्ता भयो ।


भारतीय नम्बर प्लेटको गाडीले नेपालमा दैनिक कर तिर्नुपर्छ । तर कर नै नतिरी भारतीय नम्बर प्लेटको १६ महिनादेखि घरमा छोपेर राखेका सई साहले भारतीय नम्बरका गाडी नेपालमा आएपछि दैनिक रुपमा कर बुझाउनुपर्छ । कहिले प्रहरीकै लागि प्रयोग गरेको र कहिले ससुरालीले दिएको भनेर परस्पर विरोधी कुरा गर्ने साह २ नम्बर क्षेत्रमा प्रहरी हेडक्वाटरबाट खटिएका घुमुवा टोली प्रमुख हुन् । उनको टोलीमा ४ जना प्रहरी परिचालित छन् । सई साह लामो समय धनुषा प्रहरीमा घुमुवाका रुपमा कार्यरत रहेका थिए । त्यो टोली फर्किएको भोलिपल्ट सई साहले उक्त गाडी धनुषाको इनर्वा चौकी हुँदै भारतको ससुराली जयनगरमा लगेर लुकाएको समाचार छ । भारतमा गएर कसैले गाडीले बरामद गर्न नसक्ने भएकाले उनले जयनगरमा लुकाएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा जलेश्वरका मेयर रामशंकर मिश्रले चोरीको गाडी प्रयोग गरेको सूचना पाएपछि इन्स्पेक्टर शाहीको नेतृत्वमा टोली थियो । चोरीको गाडीको बारेमा मिश्रकोमा शाहीको टोली पुगेपछि सई साहले पनि चोरीको गाडी प्रयोग गरेको खुलासा भएको थियो । मिश्रले नै प्रहरीका सई नभनी साहले चोरीको गाडी घरमा राखेको सूचना दिएका थिए ।

त्यही सूचनाका आधारमा धनुषा प्रहरीको टोलीको मद्दत लिएर शाहीको टोली सई साहको घरमा पुग्दा छोपिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कोरपियो भेटिएको थियो । इन्स्पेक्टर शाहीको टोलीले फर्किंदा २ वटा चोरीका मोटरसाइकल र २ वटा गाडी बरामद गरेर ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७