कांग्रेस छाड्न देउवालाई पर्खिदै विजयकुमार गच्छदार


१ भाद्र २०७५, शुक्रबार
deuwa

काठमाडौं, १ भदौ । करीब एक वर्षअघि आफ्नो पार्टी फोरम लोकतान्त्रिलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदार अन्ततः कांग्रेस छोड्ने मुडमा पुगेका छन् ।

deuwa

यस विषयमा अन्तिम निर्णय लिनका लागि सिङ्गापुर रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई कुरेर बसिरहेको गच्छदार निकट नेताहरुले जानकारी दिएका छन् । देउवा नेपाल फर्केपछि आफ्नो समूहका नेता कार्यकर्तालाई कांग्रेसले उचित समायोजन नगरे देउवालाई साथ दिएर हिंडिरहन नसक्ने गच्छदार समूहको भनाइ छ ।

नेता गच्छदार पार्टीमा महत्ववपूर्ण जिम्मेवारी नपाएको भन्दै पछिल्लो समय देउवासँग असन्तुष्ट छन् । यहि साउन २९ गते गच्छदारले आफ्नै निवासमा पार्टीका नेता तथा कार्यकर्तासँग विकल्पबारे छलफलका लागि बैठक नै राखेका थिए । सो बैठकमा पार्टी एकीकरणदेखि हालसम्म कांग्रेस पार्टीमा भएका गतिविधिका बारेमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
२०७४ असोज ३० गते गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली कांग्रेससँग एकीकरण गरेको थियो । एकीकरण हुनुपूर्व दुई दलको बीचमा भएको सम्झौता हालसम्म कार्यान्वयन नभएको भन्दै गच्छदार त्यसको विकल्प खोज्ने तयारीमा लागेको गच्छदार निकट नेताहरुले बताएका छन् ।

सहमति अनुसार गच्छदार उपसभापतिको पद दिनुको साथै केन्द्रीय समितिमा १५ जना फोरमबाट समायोजन गर्ने थियो । त्यसैगरी, फोरममा रहेका सम्पूर्ण सक्रिय सदस्यलाई सक्रिय सदस्यको रुपमा स्वीकार गर्ने सहमति भएको थियो । फोरमबाट महाधिवेशन प्रतिनिधि ७०० समायोजन गर्ने तथा कांग्रेस महासमितिमा ३०० राख्ने सहमति भएको थियो । स्थानीय तहदेखि जिल्ला र प्रदेश तहसम्म सम्माजनक सहभागी गराउने सहमति भएको थियो ।

तर, फोरम र कांग्रेसबीच एकीकरण भएको १० महिनाभन्दा बढी भइसके पनि समायोजन भएको छैन । तत्कालीन फोरमका महासचिव भर्तेन्दु मल्लिक भन्छन्, ‘अहिले नेपाली कांग्रेसमा एउटा मान्छे प्रवेश गर्‍यो भने पुरै तामझामका साथ पार्टी प्रवेश गराइन्छ । अनि तत्कालै उसलाई कुनै न कुनै ठाउँ पनि दिएका उदाहरण छन् तर हामी लाखौं कार्यकर्ताका साथ कांग्रेस प्रवेश गरेको यतिका समयसम्म पनि कुनै जिम्मेवारी दिइएको छैन ।’ उनले धैर्यताको सीमा हुने भन्दै कांग्रेसको यो चालााट पूर्व फोरमका नेता तथा कार्यकर्ता निरास हुन थालेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७