यी १६ वर्षीय स्कुले छात्रले जसले एप्पलको सिस्टम ‘ह्याक’ गरे  


१ भाद्र २०७५, शुक्रबार
Australian boy apple system hacker

एएफपी

सिड्नी, १ भदौ  ।  एप्पल कम्प्युटरमा काम गर्ने ‘सपना’ बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ ।

अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत प्रवेश गरी ९० जिबी बराबरका गोप्य फाइल डाउनलोड गरेका थिए ।

त्यतिबेला ती स्कुले छात्रको उमेर १६ वर्ष थियो । एप्पलका उत्पादनका फ्यान उनी एक वर्षको बीचमा पटकपटक कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए र उनले अमेरिकी कम्पनी एप्पलमा काम गर्ने सपना साँचेका थिए, ती बालकका वकीलको भनाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

एप्पलले ती छात्रले कम्प्युटर सिस्टममा प्रवेश गरेको प्राविधिकको टोलीले पत्ता लगाएपछि कानुन कार्यान्वयन इकाईमा उजूरी गरेको जनाएको छ ।

उक्त घटनाका सम्बन्धमा एफबीआई र अस्ट्रेलियाली संघीय प्रहरीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय अनुसन्धान समेत गरेको अखबारले लेखेको छ । संघीय प्रहरीले अदालतमा अझै विचाराधीन मुद्दा रहेकोले यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

द एजका अनुसार प्रहरीले गत वर्ष ती स्कुले छात्रको घरमा छापा मारेको र ह्याक गर्दाका फाइल एवं अन्य विवरण सुरक्षित राखेका फोल्डर बरामद गरेको थियो । ‘दुईवटा एप्पल ल्यापटप बरामद गरियो र भित्री प्रणालीमा पहुँच रहेका सिरियल नम्बर फेला पारियो,’ अभियोजन पक्षका एक वकीलले बताए ।

ह्याकमा प्रयोग गरिएको मोबाइल फोन र हार्ड ड्राइभ पनि प्रहरीले बरामद गरेको उनले जानकारी दिए ।

ती स्कुले छात्रले आफूले गल्ती गरेको स्वीकारेका छन् र यो मुद्दा अदालतमा विचाराधीन छ । अर्को महिना उनीमाथिको सजाय सुनाइने बताइएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७