जंगबहादुरले कसरी बनाएका थिए पहिलो मुलुकी ऐन ?


२ भाद्र २०७५, शनिबार
JUng bahadur Rana

 
काठमाडौ‌, २ भदौ ।  नयाँ मुलुकी संहिता (ऐन) जारी भएसँगै धेरैले फेरि एकपल्ट पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणालाई सम्झेका छन्। इतिहास भन्छ– जंगबहादुरले नेपाललाई पहिलोपल्ट लिखित कानुन दिए। उनले नै विक्रम संवत १९१० मा मुलुकी ऐन जारी गरेका थिए। जुन नेपालको कानुनको मात्र नभएर समग्र इतिहासकै दृष्टिकोणले पनि ठूलो उपलव्धी थियो। आजको कान्तिपुर दैनिकमा हिमेशरत्न बज्राचार्यले लेखेका छन्।

इतिहासकार त्रिरत्न मानन्धर त जंगबहादुरको यो काम पूरा राणा शासनकै एक ठूलो उपलव्धी मान्छन्। त्यसअघि नेपालमा लिखित कानुन थिएन। ‘त्यसअघि नेपालमा लिखित कानुन थिएन । सानोतिनो अदालतबाट आदेशमात्र हुन्थ्यो, लिखित रूपमा । कसैले कसैको ज्यान लिए कस्तो दण्ड दिने भनेर केन्द्रमा सोधिन्थ्यो । जंगबहादुरले त विस्तृत ऐन नै बनाए,’ उनले भने, ‘यसको पूरा श्रेय उनलाई दिनैपर्छ । यो ऐतिहासिक कदम हो । शासकका रूपमा एउटा विधि बनाएर जाने इच्छा पनि भएको हुनुपर्छ।’

त्यतिबेला सजायमा एकरूपता थिएन । एकै घटनामा फरक ठाउँमा फरक सजाय हुन्थ्यो । यो ऐन आएपछि यसैका आधारमा निर्णय हुन थाल्यो । यो लगभग ८ सय पेज लामो छ । जंगबहादुरले बनाएको यो ऐनलाई पछि गएर श्री ५ सुरेन्द्रको शासनकालमा बनेको मुलुकी ऐन भनेर नाम दिइयो । जुन बेला यो कानुन बन्यो, यसको नाम मुलुकी ऐन थिएन, ऐनमात्र थियो । पछि २००९ को संस्करणपछि मात्र यसलाई मुलुकी ऐन भन्न सुरु भएको हो । यसमा संशोधन भने विभिन्न समयमा भएको पाइन्छ।

यसमध्ये मुख्य संशोधन १९४५ मा वीरशमशेरले गरे । संशोधनका क्रममा त्यसलाई पाँच भागमा विभाजन गरियो । त्यसमध्ये पहिलो र दोस्रो भाग कार्यविधि ऐन, तेस्रो दिवानी ऐन, चौथो र पाँचौं फौजदारी ऐन हुन् । संशोधनका क्रममा मुलुकी ऐन छाप्ने काम पनि जारी रह्यो । यो चन्द्रशमशेरका पालामा १९८० र १९८४ मा छापिएको थियो । फेरि १९९२ मा जुद्धशमशेरको पालामा छापियो । राणाकालको उत्तराद्र्धतिर २००५ सालमा छापिएको थियो । प्रजातन्त्र आइसकेपछि २००९ र २०१२ मा पनि छापियो । त्यसपछि यो दोहोर्‍याएर छापिएन ।

राजा महेन्द्रले २०२० मा नयाँ मुलुकी ऐन जारी गरे, जुन बिहीबारसम्म कायम रह्यो । धेरैले शुक्रबार नयाँ मुलुकी ऐन लागू भएपछि जंगबहादुरको पालाको मुलुकी ऐन १ सय ६५ वर्षपछि विस्थापित भयो भनेका छन्। जंगबहादुरको मुलुकी ऐन १ सय १० वर्षसम्म चल्यो । त्यो २०२० मा खारेज भयो । राजा महेन्द्रको मुलुकी ऐन पनि ५५ वर्षपछि खारेज भएको छ । २०२० को मुलुकी ऐनमा पनि पाँच भाग थियो । त्यसमध्ये पहिलो र पाँचौं भागमा खासै केही उल्लेख छैन । पहिलोमा परिभाषामात्रै थियो भने पाँचौंमा पुरानो मुलुकी ऐन खारेज भएकोमात्र उल्लेख छ ।

बीचको तीन भाग भने महत्त्वपूर्ण छ । त्यसमध्ये दोस्रो भागमा कार्यविधि ऐन, तेस्रो भागमा दिवानी ऐन र चौथो भागमा फौजदारी ऐनबारे उल्लेख छ । भदौ १ देखि जारी भएको तेस्रो मुलुकी ऐन हो ।

खुल्न नसकेको स्रोत
जंगबहादुरले जारी गरेको मुलुकी ऐन कसरी लेखियो भन्नेबारे भन्ने अहिलेसम्म खासै अनुसन्धान हुन सकेको छैन । ‘पक्कै पनि यो नितान्त मौलिक थिएन होला । त्यतिबेला यति धेरै कानुन बनाउन सक्ने विज्ञ को थियो होला रु त्यो ऐनबारे त धेरै लेखियो, तर यसको स्रोतबारे भने लेखिएकै छैन भन्दा पनि हुन्छ,’ मानन्धरले थपे । केबाट प्रभावित भएर ऐन बन्यो भनेर भन्न सकिने स्थिति अझै नभएको मानन्धर बताउँछन्। ऐन बनाउनुअघि जंगबहादुर बेलायत गएकाले त्यहाँको केही प्रभाव हुन सक्ने अनुमान पनि गरिएको छ ।

उनले त्यहाँको रहनसहन, कानुनबारे बुझ्ने प्रयास पक्कै गरेको हुनुपर्छ । तर ऐनमा खास प्रभाव भने फ्रान्सको छ । जंगबहादुर बेलायतपछि फ्रान्स पनि गएका थिए । त्यतिबेला त्यहाँ नेपोलियनले बनाएअनुसारको ‘नेपोलियन कोड’ लागू थियो । त्यसैअनुसार ऐन–कानुन चल्थ्यो । त्यसैले यो पनि त्यसैबाट बढी प्रभावित भएको हो भनेर दाबी गरिन्छ । जंगबहादुरको मुलुकी ऐन बनाउन मद्दत गर्ने भनेर २ सय १९ जनाको सूची नै राखिएको छ । त्यसमा लोकपति र लोकेश्वरको नाम छैन ।

जंगबहादुरले जारी गरेको मुलुकी ऐनको उत्तिकै आलोचना गर्ने पनि छन् । ‘यसमा कमजोरी पनि उत्तिकै छन् । गैरहिन्दु धर्म मान्नेका लागि यो अनुदार छ । ठूलो जातले उस्तै अपराध गरे पनि कम सजाय, सानो जातले फेरि उस्तै अपराध गरे बढी सजाय दिने प्रावधान भने यो मुलुकी ऐनको सबभन्दा ठूलो कमजोरी हो,’ उनले भने। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७