गेसो आन्दोलनको बिम्ब

राजन मुकारुङ


२ भाद्र २०७५, शनिबार
Rajan Mukarung 2


कथीकथी पढियो नालापानीको कविता । सानै छँदा । अझै मनभरि छ । पछ्याइरहेछ अझै यी पंक्तिले—
‘नसुती चारै प्रहर
खुबैसित लडे रे बलभद्र कुँवर !’
उबेला लाग्थ्यो– बहादुर हुन् बलभद्र । लडेका हुन् राष्ट्रका लागि । दिमागमा हरदम बलभद्रकै बिम्ब आउँथ्यो । बलिष्ठ पाखुरीका । आगाका फिलिङ्गाजस्ता तिनका आँखा । मठारिएका जुँगा । दौरा–सुरुवालमा ठाँटिएका । कम्मरमा खुकुरी भिरेका । दायाँ हातमा चम्किलो तरबार र बायाँ हातमा ढाल । शिरमा छापे्र (सैनिक) टोपी । अहो ! निकैपछिसम्म यो अदबको बिम्बले समातिरह्यो ।
पछि नालापानी खोज्न थालियो । नेपालको नक्सामा थिएन, छैन नालापानी । भारतमा पो पर्दोरहेछ । अनि हिस्रिक्क परियो । हारेको कथा रहेछ हाम्रो । न्यास्रो नलाग्ने कुरै भएन । हारेको युद्धको पनि जितेकैजस्तो गरी गर्विलो गाथा गाउन सक्दा रहेछौँ हामी । हामी अर्थात् नेपाली । हाम्रो संस्कार रहेछ हार्न नमान्ने । हार स्वीकार नगर्ने ।

Rajan Mukarung 2
राजन मुकारुङ


नालापानीको युद्ध हारेपछि तिनै बलभद्र आफ्ना केही विश्वासिला सहयोगीहरूसहित अंग्रेजी–सेनामा समाहित भए, भन्ने अनुमान छ । किम्बदन्तीजस्तो उनकै नेतृत्वको सेना अंग्रेजी सेनामा पहिलो गोर्खा पल्टन हो, भन्ने गरिन्छ । यसबारे प्रस्ट पार्ने काम कतैबाट भएको छैन, भएन । इतिहासकारहरूले टाउको दुखाउने काम गरेनन् । उबेला त खोजीनिती भएन भने आजको ‘फास्ट फुड’ पुस्तालाई के खाँचो ? केको जरुरत ? झ्याउ लाग्ने कुरा हुन् यी । ‘गिदी ह्याब्स’ गर्ने कुरा हुन् यी ।

सुगौली सन्धि (सन् १८१६) पछि मात्र आधिकारिकता पायो ‘गोर्खा–भर्ती’ले । त्यसयताको मात्रै पढिन्छ इतिहास । गुमनाम बलभद्रलाई बहादुर मात्रै पढ्छ देशले । उनको मनोविज्ञान जाँच्दैन उबेलाको । तर, बलभद्रकै वीरताको फुइँ हाँक्नेहरूले चुर कुरो किन नखोजेका होलान् ? चिन्ता यति मात्रै हो ।
दोस्रो विश्व–युद्धसम्ममा थुप्रै नेपाली युवाहरूले बेलायतका लागि लडे । बेलायती साम्राज्यका लागि लडे । सयौँ जापानीहरूलाई छपाछप काटे । सिखहरू दबाए । आपूm पनि बम–गोलाको शिकार भए । कतिले बर्माको जङ्गलमै देहत्याग गरे । कति घाइते भए ? कतिका शरीरमा अझै छन् ती दिनका छर्राहरूको चिनो ? छन् गोलीका डाम र डाहहरू कतिका ? कति युद्धबन्दी बनाइए ? कुनै लेखाजोखा छैन अझै । दन्त्यकथाजस्ता मात्र लाग्छन् सुन्दा । नियति तर यही हो गोर्खा भर्तीको शैशवकालको ।

समय बदलिँदै आयो । चेतना बदलिँदै आयो । ‘बेलायती उपनिवेश’लाई महात्मा गान्धी, लालबहादुर शास्त्री, जवाहारलाल नेहरूहरूको आन्दोलनले लखेट्यो । विश्वलाई आफ्नो व्यापारिक र राजनीतिक कब्जामा पार्दै हिँडेको बेलायती साम्राज्य अन्ततः ‘स्वतन्त्र भारत आन्दोलन’को अघि घुँडा टेक्न बाध्य भयो । गोराहरूलक्षित ‘भारत छोड् !’ को आगोको रापमा डढ्यो बेलायती उपनिवेशको कन्दनी । बेलायत पछि हट्नै पर्‍यो । अनि भयो गोर्खाहरूको बारे ‘त्रिपक्षीय सम्झौता– १९४७’ । बेलायत, भारत र नेपाल बीचको यो सम्झौता (सन्धि) ले परिभाषा गर्‍यो गोर्खाहरूको ‘रेजिमेन्ट’बारे । तिनका हैसियत र पाउँदरबारे । विशेष पाँचवटा जाति (राई, लिम्बू, मगर, गुरुङ र तामाङ । अपवादमा नगन्य संख्याका नेवार, शेर्पा र अन्य) का युवाहरू हुन पाउने भए बेलायती लाहुरे । ‘स्वतन्त्र भारत’को डढेलो नेपाल छिर्‍यो । राणातन्त्रको विरुद्ध जन–उभार उछालियो । दोस्रो विश्वयुद्धपछि अवकाश पाएका, खाली खुट्टा फर्काइएका तिनै गोर्खाहरू पनि राणाविरोधी आन्दोलनमा होमिए । ती बन्दुक चलाउन जान्दथे, ती युद्ध–कौशलमा माहिर थिए । ०७ साले नेपाली कांग्रेसले भरपुर प्रयोग गर्‍यो । राणा–सैनिकका विरुद्ध युद्ध–मोर्चाका कमाण्डर भए ती । लडे तिनले उही बहादुरीका साथ । राणाशासनको अन्त भयो र मुलुकमा प्रजातन्त्र आयो ।
‘त्रिपक्षीय सन्धी’ ओथारो बसेको बस्यै थियो । चल्ला काढ्ने तम्तमाइलो गुँड बनेन । आन्दोलनमा लागेका टाठाबाठा एकदुई गोर्खाहरूले पाए होलान् केही जिम्मेवारी । अरु सबैले थामिखानु प¥यो आफ्नै पाखोरेखो । कांगे्रसी जनले सोचेन तिनका बारे । ०१७ सालमा महेन्द्रले प्रजातन्त्र खोसे । लादे पञ्चायत । सबैका मुख थुनिए । निर्दलीय व्यवस्थाको टाङमुनि झुण्डिएर ३० वर्षसम्म चुप रह्यो स्वतन्त्रताको कथा । गोर्खाहरूको मामिला पनि त्यही शासनको शिकार भयो । यदाकदा बामपन्थी आन्दोलनकारीहरूले गोर्खाहरूका कुरा उराल्थे । तर, ‘गोर्खाभर्ती बन्द गर् !’ को आवाज हुन्थ्यो उनीहरूसँग । सारमा त्यो गोर्खाहरूले प्राप्त गरेको ‘भाडाको सिपाही’ भन्ने कलङ्कको विरुद्ध थियो र हो । यति भन्नलाई अरु माथापिच्ची गरिरहनै पर्दैन ।

सयौँ जापानीहरूलाई छपाछप काटे । सिखहरू दबाए । आफू पनि बम–गोलाको शिकार भए । कतिले बर्माको जङ्गलमै देहत्याग गरे । कति घाइते भए ?



०४६ को प्रजातन्त्रले मुख खोल्यो सबैको । राष्ट्रिय राजनीतिमा, सामाजिक सांस्कृतिक आन्दोलनमा ‘पहिचान’का आवाजहरू तीव्र रूपले उठ्न थाले । जातीय, भाषिक, सांस्कृतिक अधिकारका प्रश्नहरू उद्याइन थाले । यसै मेसोमा झस्किए गोर्खा भूतपूर्व सैनिकहरू पनि । अनि सुरू भयो उत्खनन । पेन्सने जीवन । गोराका लागि ‘लेफ्ट–राइट’ गर्दागर्दा गलेका जोर्नीहरू । ढाड–कम्मरको सास्ती । पल्टने खान्कीले बढाएको ‘युरिक एसिड’को बिमार । भारीका भारी फोकल्याण्ड, बर्मा, मलाया, बु्रनाईका युद्ध–संस्मरणहरू ।

अलिकता पश्चिमी संस्कार र बिर्सिदै ल्याएका नेपाली (जातीय) संस्कारहरू । परिवारबाटै वर्षौं टाढा हुनुपरेको चुडान्तता । सामाजिक सम्बन्धबाट टाढिँदै गएको तिक्तता । एयरपोर्टमा ओल्र्यो कि ठगिनुपर्ने देहदुःख । कुनै सरकारी कार्यालयमा पुग्यो कि ‘लाउरे’ भएकाले उस्तै व्यवहारले सताइनुपर्ने पीडा । नेपाली राजनीतिको बेखबर ज्ञान । सधैँ दोस्रो दर्जाको नागरिक । तिनै भूपू लाहुरेहरूले संगठन गर्ने सपना देखे । बेलायतलाई आफ्नो युवावयको, जिन्दगीको उर्वर कालखण्डको क्षतिपूर्ति तिराइछाड्ने सपथ लिए । कसम खाए । र, ०४७ सालमा स्थापना गरे– गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ।

Joanna Lumleys Gurkha campaign


संघको संगठन विस्तार हुन थाल्यो । पूर्वको झापा, मोरङ, सुनसरी (धरान) संगठित भयो । पोखरा, बुटवल, स्याङजा, पाल्पा सबैतिर संगठन निर्माण भयो । जहाँजहाँ ‘लाहुरे’हरूले आफ्नो रगत र पसिना खर्चेर झुप्रो हालेका छन्, वा बेहाल भएर गुजे्रका छन् तिनका ठाउँ–ठहर खोजिए । सदस्यता वितरण गरिए । प्रशिक्षणहरू चले । कार्यक्रमहरू हुन थाले । देशका प्रमुख सहरहरूमा ¥याली निस्क्यो । ठूल्ठूला हलहरूमा बेलायती विभेदका विरुद्ध गर्जन बढे । विस्तारै कानुनविद, बुद्धिजीवि, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेताहरू, पत्रकारहरू सबै क्षेत्रबाट ऐक्यबद्धताहरू जनाइन थाल्यो । यसले ‘गोर्खा आन्दोलन’को आकार लियो । उस्तै वेग र गति पनि ।

आन्दोलनकै क्रममा ‘नाइन्टिन फोर्टी सेभेन’को त्रिपक्षीय सम्झौता केस्राकेस्रा भयो । गोर्खाहरूले आपूहरू कसरी अन्यायमा परेका छौँ ? भन्ने केलाए । आन्दोलन बेलायतको ‘हाइ कोर्ट’ पुग्यो । आफ्नो हकको मागदावी भयो । युद्धबन्दीको मुद्दा जितियो । क्षतिपूर्ति प्राप्त भयो । पेन्सन बढ्यो । आन्दोलनले सफलता प्राप्त गर्दै ल्यायो ।

अहिले धेरै भूतपूर्व सैनिकहरू तिनका परिवारसहित आवासीय अधिकार जितेर बेलायत पुगिसकेका छन् । कोही बकिमघम प्यालेसको वरिपरि दगुर्दै होलान् जागिर खोज्दै । कोही भत्ता माग्दै होलान् त्यहाँको सरकारसित । कोही ‘गोरा’कै नानीहरू पढाउँदै होलान् । कोही माली भएका होलान् गोराका फूलबारीका । कोही बुढेसकालमा ‘नेपाल’ छोड्नुपर्दाको नमीठो रुँदै होलान् । अनुमान यति हो गर्ने हामीले । तर, यो सबको कारण को र के हो त ?

एउटा तीतो सधैँ रहिरहनेछ गोर्खा आन्दोलनकर्मीहरूसँग । वामपन्थी खेमाले मात्र उजिल्याउन चाह्यो आन्दोलनलाई । जनजाति समुदायहरूले मात्र गोर्खा–आन्दोलनलाई साथ दिए । तर, प्रजातान्त्रिक भनिने दलहरू जो सत्तामा धेरै बसे, तिनका कान खुलेनन् । मूलधार भनिने गरिएका सञ्चार माध्यमहरू प्रायः मौन बसे ।

Joanna Lumley celebrates with David Cameron and Nick Clegg


आन्दोलन तात्दै थियो नै । तिनैताका हो भारतीय अभिनेता ऋतिक रोसनले ‘नेपाल चिन्दिनँ’ भन्ने अभिव्यक्ति दिए । ‘घरवाली–बहारवाली’ हिन्दी सिनेमाले नेपालीहरूलाई होच्याएर एक ‘डाइलग’ बोल्यो । कोकोहोलो मच्चियो । नेपाली ‘सिने हल’हरूमा झन्डैझन्डै आगो लाग्यो । हलबाटै सिनेमाका ‘रिल’ थुतिए । ‘कथित विद्वान’हरूका चिन्तन पूरै तात्यो । लाग्थ्यो– राष्ट्रियताप्रति सदा सचेत छन्, हुन्छन् नेपालीहरू । तर, सदियौँदेखि नेपालीहरू नै बेलायतको अन्यायमा परेका छन् भन्ने विषयमा ‘चुँ’ सम्म बोलेनन्, बोलेका छैनन् अहिलेसम्म । यति नै भनौँ– चिन्तनका हिसाबले प्रगतिशील नहुँदा वा परम्परागत सोचका कारिन्दा भइरहँदा मौन बस्नुपर्ने भयो तिनलाई ।

गेसो आन्दोलन विभेदका विरुद्ध थियो, हो । राष्ट्रिय स्वाभिमानका लागि हो । वर्षौंसम्म बेलायतले गरेको मानवाधिकारको हनन र जातीय विभेदका विरुद्ध हो । उत्पीडनका विरुद्ध र राष्ट्रिय अस्मिताको रक्षार्थ लड्नेहरूले साथ दिनैपथ्र्यो यो आन्दोलनलाई । तर, गोर्खाहरूको आवाजलाई ‘राष्ट्रिय मुद्दा’को रूपमा कहिल्यै हेरिएन । न त ‘राष्ट्रिय नीति’ भित्र नै पारियो गोर्खाभर्तीको सवाललाई । फलतः गोर्खा आन्दोलन सीमित जाति र वर्गको मात्र ठानियो ।

वामपन्थी खेमाले मात्र उजिल्याउन चाह्यो आन्दोलनलाई । जनजाति समुदायहरूले मात्र गोर्खा–आन्दोलनलाई साथ दिए । तर, प्रजातान्त्रिक भनिने दलहरू जो सत्तामा धेरै बसे, तिनका कान खुलेनन् ।



गोर्खाहरूकै चन्दाले धेरै राजनीतिक पार्टीका गर्जाहरू चलेका होलान्, छन् । तर, तिनै पार्टीहरूले आ–आफ्नै भङ्गालाहरूमा बगाउन खोजेका स–साना तुषहरू आक्कलझुक्कल भेटिन खोज्छन् । तिनले जोड्नका लागि पहल गरेनन् । बरु, फुटाउनै चाहेका लाग्छन् । पार्टीको भातृ संगठनजस्तो बनाइदिन खोज्छन् घरी न घरी । अझ तिनको मुद्दालाई त ‘एक प्लेट नास्ता’का लागि ‘ऐक्यबद्धता’ मात्र जनाइदिन्छन् ।

गोर्खा–आन्दोलनमा कसैको केही भूमिका छैन, भन्ने अर्थ नलागोस् ! कृतघ्न छैनन् भूपूहरू । कृतज्ञ छन् सबै सहयोगी हातहरूप्रति । यतिचाहिँ सत्य हो, आफ्नै बर्कत र बुतोले गोर्खा–आन्दोलन आजको स्थितिसम्म आइपुगेको हो । यो आन्दोलनले बेलायतलाई घुँडा टेकाएको अवश्य छ । दीर्घकालीन रूपमा चाहिँ नेपाली राजनीतिमा झनै गम्भीर असर पार्दैछ । मुलुक सङ्घीयतामा फाल हानिसकेको छ । अनेकन विवाद गर्दै भए पनि ‘जातीय पहिचान’ सहितका संघहरू पनि निर्माण नगरी धरै छैन । नत्र निकै ठूलो आगो बल्नेछ । त्यसको मुस्लोले ‘गोर्खा–भर्ती’को सवाललाई जरुर खोज्नै पर्नेछ । बलभद्रको कथाजस्तो, एकादेशको कथाजस्तो अवश्य लाग्लान् यी कुरा । फेरि पनि सत्यचाहिँ यही हो । बाँकी कुरोको पन्तुरो अर्को पल्टमा खोलौँला ! बस् इति ।

गोर्खा सैनिक आवाजबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७