‘हरेक शेर्पाको सपना हिमालसँग जोडिएको हुन्छ’


२ भाद्र २०७५, शनिबार
Jyangbu sherpa mountaineer final desin

सोलुखुम्बुको जुबिङ खरीखोलामा जन्मिएका जाङ्बु शेर्पा । जसको पिताजीले आफ्नो अधिकांस उर्बर समय हिमालमै बिताए । जाङ्बुले पनि पिताजीको गोहो समाएर आफ्नो उर्बर समय त्यही हिमालमै बिताइरहेका छन् । जतिबेलादेखि केही गर्न सक्ने उमेर भयो, त्यहीबेला निरन्तर हिमालमै छन् जाङ्बु । हरेक सिजनमा आरोहीहरु लिएर हिमाल पुग्छन् । काठमाडौं फर्किन्छन् । फेरि हिमाल जान्छन् । यसरी नै चलिरहेको छ, उनको जीन्दगी । वर्षमा करिब ६ महिना हिमालतिरै हुन्छन् जाङ्बु । साउन भदौं आरोहीहरुको लागि फुर्सदको समय हो । उनीहरु यो समयलाई ‘बेसिजन’ भन्छन् ।

Jyangbu sherpa mountaineer final desin

‘बेसिजन’ शेर्पाहरु की काठमाडौं हुन्छन् त, की विदेशमा । यही ‘बेसिजन’को समयमा जाङ्बु भने काठमाडौंमा छन् । तर ‘बेसिजन’मा जाङ्बुलाई फुर्सद छैन । हिमाल आरोणका समस्या र चुनाती समेटिएको वृत्तचित्र निर्माणमा व्यस्त छन् जाङ्बु । एक साता अघि काठमाडौंको आफ्नै क्याफेमा भेटिएका जाङ्बुले भने,‘सगरमाथा आरोहणको बारेमा वृत्तचित्र बनाइरहेको छु ।’ दृश्यहरु यसअघिका आरोहणका समयमै खिचेर ल्याएका छन्, त्यसलाई सम्पादन गर्ने काममा छन् उनी ।

सगरमाथामा नाङ्गै बसेर कृर्तिमान
जाङ्बु ३६ वर्ष पुगे । जतिबेला अब चहिँ केही गर्न सक्छु भन्ने उमेर भयो । ठिक त्यही बेलादेखि उनको मनध्यान सबै हिमालतिरै गयो । उनको लागि औपचारिक अथवा अनौपचारिक शिक्षा सबै हिमाल नै भयो । उनको लागि विद्यालय विश्वविद्यालय सबै हिमाल । भन्छन्,‘मेरो त सपना हिमालसँगै जोडियो ।’

जाङ्बुले हिमाल यात्रा सन् २००३ सालदेखि सुरु गरेका हुन् । सन् २००३ मा पहिलोपटक सगरमाथा चढेका जाङ्बुले अहिलेसम्म १५ पटक चढीसकेका छन् । सन् २००६ मा सगरमाथामा सगरमाथाको चुचुरोमा नाङ्गै बसेर नयाँ कृर्तिमान बनाएका छन् । चुचुरोमा ४ मिनेट ४० सेकेन्ड नाङ्गै बसेर उनले कृर्तिमानी बनाएका हुन् । जोखिम मोलेर आफूले कृर्तिमानी बनाएको जाङ्बु बताउँछन् । भन्छन्,‘सगमाथामा नाङ्गै बस्नु निकै चुनौतीपूर्ण थियो । मैले आँट गरेर कृर्तिमान कायम गरे ।’ सगरमाथा बाहेक एक दर्जन अन्य हिमाल चढेका जाङ्बु आरोहणमा एउटा सुरक्षाको नाम पनि हो । आरोहीहरुले जाङ्बुसँग हिमाल गए सुरक्षित भइन्छ भन्ने विश्वास गर्छन् ।

सधैं मृत्युसँग खेल्दै

सगरमाथा आरोहणका अनेक किस्साहरु सुन्न पाइन्छ । हात नभएका, खुट्टा नभए आदिले पनि सगरमाथा चढेको सुन्न पाइन्छ । यस्ता सुन्दा मान्छेहरुलाई लाग्न सक्छ, ‘सगरमाथा चढ्न सजिलै छ क्यारे ?’ मैले जाङ्बुलाई सोधे, ‘के सगरमाथा चढ्न सजिलो छ ?’ जाङ्बुले मुस्कुराउँदै भने,‘सुने जस्तो कहाँ छ र ! सगरमाथामा हरेक सेकेन्ड मृत्युसँग पौठेजोरी खेल्नुपर्छ । चढ्नेलाई भन्दा चढाउने हामी जस्ता शेर्पाहरुलाई झनै गाह्रो छ ।’

आरोहीहरुको सम्पूर्ण सुरक्षा कवच नै शेर्पाहरु हुन् । शेर्पाहरु जसले आरोहीलाई चुचुरोसम्म लगेर सुरक्षित रुपमा तल झार्ने जिम्मेदारी लिनुपर्छ । बाटो देखाउनेदेखि बनाउनेसम्म । समस्या भए भने बोकेरै भएपनि सुरक्षित बनाउनुपर्छ । सगरमाथा अथवा हिमाल आरोहण देखे जस्तो सजिलो नभएको जाङ्बु बताउँछन् । भन्छन्,‘शेर्पाले सानो गल्ती गरे भने पनि आफ्नो र आरोहीको ज्यान जान सक्छ । त्यस कारण हामी हरेक समय होसियार हुनु हुदैन । हामीलाई गल्ती गर्ने कुनै छुट छैन । हुदैन ।’

कुरुप बन्दैछ हिमाल
विगत १५ वर्षदेखि जाङ्बु निरन्तर हिमाल गइरहेका छन् । सगरमाथा बाहेक अन्य दर्जन हिमालहरु चढेका छन् । उनले आरोहीहरुलाई चढाएका छन् । त, मौसम परिवर्तनको कारण हिमालहरु बिस्तारै कुरुप बन्दै गएको जाङ्बु बताउँछन् । सगरमाथा पनि हिउँ विहिन बन्ने खतरा रहेको उनको भनाई छ ।

त्यसो त जाङ्बुको सबै सपना र जीवन हिमालसँग जोडिकएको छ । हिमालमा हिउँ कम भएको देख्दा उनको मन असाध्यै अमिलो हुन्छ । भन्छन्,‘हिमाल हिउँविहिन हुदै गएको देख्दा मनै अमिलो हुन्छ । हिमाल बचाउँन सबै गम्भिर हुनुपर्छ ।’

हिमालमा सधैं शोषण
जाङ्बु जस्तै शेर्पाहरुको कारण आरोहीहरु सगरमाथा चढ्छन् । नयाँ कृर्तिमानी बनाउँछन् । जाङ्बु जस्ता शेर्पाहरु नभए सगरमाथा चढन् सपना जस्तै हुन्छ । सगरमाथाका नाममा अनेक संघ, संस्था र एनजीओ खोलिएका छन् । अनेक व्यपार छन् । साचो अर्थमा साँच्चिकै हिमाल चढाउने श्रमिक शेर्पाहरुमाथि हिमालमा पनि ठुलो शोषण रहेको जाङ्बुको बुझाई छ ।


हिमाल देखाएर अनेक एनजीओ र व्यापारीहरुले करोडौं पैसा कमाएका छन् । हिमालमा पनि सिन्डिकेट छ । भन्छन्,‘हामी जस्ता श्रमिक शेर्पाको नाममा खानेहरु कति छन् कति । हामीलाई त पसिनाको मुल्य पाउन पनि मुस्किल पर्छ ।’

फरक जाङ्बु
जाङ्बु सिजनमा हिमाल जान्छन् । पैसा कमाएर फर्किन्छन् । फुर्सदको समय त्यतिकै बिताउने शेर्पाहरु पनि धेरै छन् । तर, जाङ्बु अरु भन्दा फरक छन् । सृजनशील काममा लागिरहन्छन् । यसअघि उनले ‘मिसन एभरेष्ट’ नाम वृत्तचित्र बनाए । सगरमाथा चढ्दा कस्ता चुनौती र अप्ठ्यारो हुन्छ ? त्यसमा समेटिएका छन् । फेरि ‘मिसन एभरेष्ट–२’ नामक बृत्तचित्र बनाउँदैछन् । अब यो बृत्तचित्र चाढै तयार हुने जाङ्बु बताउँछन् ।

त्यसो त उनले हिमाल आरोहणका बारेमा गीत पनि लेखेका छन् । उनको गीति एल्बम चाडै बजारमा आउदैछ । आरोहणको समय बाहेक सृजनशील काममा लागेका जाङ्बु ३६ वर्ष पुगे । ३६ वर्षमा १५ पटक सगरमाथा पुगेका अब कति पटक पुग्लान् ? ‘त्यो त भगवानको हातमा छ’ जाङ्बुले सुनाए,‘हिमालमा केही भर हुन्न । केही भन्न सकिन्न ।’

सपना हिमाल
जाङ्बुको उर्बर समय हिमालमा नै बितिरहेको छ । उनी हिमाल चढ्छन् । हिमालकै वृत्तचित्र बनाउँछन् । हिमालै गीत लेख्छन् । भबिष्यमा हिमाल संरक्षण र सफाईको निम्ति काम गर्ने योजना पनि छ ।

जाङ्बु आफ्नो जस्तै हरेक शेर्पाहरुको सपना कही न कही हिमालसँग जोडिएको हुने बताउँछन् । भन्छन्,‘हाम्रो परिचय र पहिचान हिमालसँग जोडिएको हुन्छ । हरेक शेर्पाहरुको सपना हिमालसँग जोडिएकै हुन्छ ।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७