साकार बन्दै रेल सपना, चिनियाँ रेल ९ वर्ष भित्रमा काठमाडौं अाइपुग्ने


३ भाद्र २०७५, आईतवार
train news details6843

काठमाडौं, ३ भदौ । केरुङबाट काठमाडौंमा रेल नौ वर्षभित्रमा आउने चिनियाँ प्रारम्भिक अध्ययनले देखाएको छ । चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले केरूङ–काठमाडौं रेलमार्ग बनाउन साढ २ खर्ब ५७ अर्ब रूपैयाँ चाहिने र पुरा हुन ९ वर्ष लाग्ने देखाएको हो ।


रेल विभागका बरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायका अनुसार रेलमार्ग करिब ७२.२५ किलोमिटरको हुनेछ । यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने छ ।

चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टमा रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनु उल्लेख छ ।

रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो । गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन गर्नेबारे सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।


उपाध्यायका अनुसार चिनियाँ कम्पनी चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले गरेको अध्ययनको रिपोर्ट सोमबार सार्वजनिक हुँदैछ ।

चिनिया कम्पनीले सिआनमा एक कार्यक्रममा नेपाली पक्षलाई रिपोर्ट हस्तान्तरण गर्नेछ । सो कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन पुगेको छ ।

चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए।

सोही भेटमा उनले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७