‘भाइरल’ गायक अशोकको मात्र होइन, अशोकको घरको पनि गाउँभर चर्चा चुलिँदै


५ भाद्र २०७५, मंगलवार
ashok home

झापा ५ भदौ । बाल गायक अशोक दर्जीको चर्चा दिनदिनै बढेर गएको छ । अहिले अशोकको मात्र होइन उनको चिटिक्कको घरको गाउँभर चर्चा हुने गरेको छ । अहिले अशोकको घर गाउँकै नमूना घर बनेको स्थानीय बताउँछन् ।

ashok home

बाल गायक अशोक दर्जीको परिवारलाई उक्त घर एक कार्यक्रमबीच हस्तान्तरण भइसकेको छ । दमक नगरपालिका–२ मा अशोक परिवारका लागि चार कोठाको पक्की घर निर्माण गरिएको छ । करीब २५ लाखको लागतमा घर निर्माण गरिएको गायक तथा संगीतकार टंक बुढाथोकीले जानकारी दिएका छन् ।

जस्तापाताको छाना भएको पक्की घर निकै आकर्षक बनाइएको छ । घरमा टायल बिछ्याइएको छ । जिब्सनको सिलिङ लगाइएको छ । ढोकाहरू आकर्षक डिजाइनका छन् । भान्साघर आधुनिक डेकोरेशनसहितको बनाइएको छ । अशोक, उनको बुबा आमा र सिटिङ रुम छुट्टाछुट्टै तयार गरिएको छ । साउन्ड सिस्टमसहितको ४३ इन्चको एलइडी टीभी जडान गरिएको छ । प्रत्येक कोठामा वाल फेन । किचनमा फ्रिज । सोफा, दराज, टि–टेबलसहित दर्जीको घरलाई आकर्षक रूपमा सजाइएको छ ।

अति विपन्न परिवारका दर्जी ५ महिनाअघि सडकमा गीत गाएर हिंड्थे । तर, उनले गीत गाएको युटुब च्यानलहरूमा भाइरल भएपछि अहिले अशोकको चर्चा चुलिएको हो । गायक तथा संगीतकार बुढाथोकीसँग गाएको उनको पहिलो गीत ‘धन बिनाको मन ठूलो कि मन बिनाको धन…’ चर्चित बन्यो ।

उक्त गीत युटुबमा अहिलेसम्म एक करोड ४१ लाख ९८ हजारभन्दा बढीले हेरेका छन् । २६ हजार ६ सय कमेन्ट र २ लाख ४२ हजारले लाइक गरेका छन् । अशोककै स्वर तथा मूर्तिकार मञ्जुल मितेरीको शब्द र संगीत रहेको ‘झिलमा फूलु…’ बोलको उनको दोस्रो गीत दुई साताअघि मोरङको उर्लाबारीमा सार्वजनिक गरिएको थियो । उक्त गीत पनि १४ लाख ४८ हजारले हेरिसकेका छन् ।

सुमधुर स्वरका धनी बाल गायक अशोक युटुबमा गीत गाएर भाइरल बनेपछि उनको नाममा देश–विदेशबाट लाखौं सहयोग प्राप्त भएको छ । उक्त सहयोग रकमबाट अशोकको घर निर्माण गरिएको हो । सामान्य मजदुरी गरेर परिवारको दुई छाक टार्दै आएका अशोकका बुबा पूर्ण दर्जी छोराका कारण आफूहरूको अवस्था परिवर्तन भएकोमा खुशी छन् । यता अशोक काठमाडौंको तीनकुनेस्थित एपोलो इन्टरनेशनल स्कुलमा कक्षा १ मा पढ्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७