‘केही कांग्रेसीहरु बलात्कारको घटनालाई राजनीतिक रूप दिएर हिंसा भड्काउने लागे’


१५ भाद्र २०७५, शुक्रबार
Bhim Rawal 1

कञ्चनपुरमा अहिले अशान्त छ । निर्मला पन्तको बलात्कारपछि हत्या भयो । यसपछि जनताहरु सडकमा आए । प्रहरी र प्रशासनले दोषीलाई कारबाही नगरेको भन्दै जनता आन्दोलित बने । आन्दोलनमा एक जनाको मृत्यु भयो । जनताहरु अझै आन्दोलित छन् । प्रहरी र प्रशासक नै विवादित बनेपछि अहिले सरकारले त्यहाँ रहेका पहिलेका प्रशासक र सुरक्षा अधिकारीहरूलाई फिर्ता बोलाएर नयाँ पठाएको छ । सरकारले गठन गरेको छानबिन कमिटी पनि गठन गरेको छ । प्रदेश नम्बर सातबाट प्रतिनिधित्व गर्ने सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शिर्ष नेता भिम रावलसँग कञ्चनपुर घटना बारेमा गरिएको वार्ता :

Bhim Rawal 1
भिम रावल

 महिलाको बलात्कारपछि हत्या, त्यसपछिको आन्दोलन र एक जनाको मृत्यु, पछिल्लो समयमा कञ्चनपुरका यी सबै घटनाक्रमलाई कसरी लिनुभएको छ ?
– कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्या एकदमै निन्दनीय छ । हामीले त्यसको भत्र्सना गरेका छौं । त्यस्तो जघन्य अपराधमा संलग्न कुनै व्यक्तिले कुनै प्रकारको छुट पाउनुहुँदैन । कडा कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यो घटना भएको हामीले थाहा पाउनासाथ हामीले नेपाल सरकारसम्बद्ध निकायलाई त्यसको निष्पक्ष छानबिन र अनुसन्धान गरी अपराधीलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने माग गर्दै आएका थियौं ।

अहिले नेपाल सरकारले त्यहाँ रहेका पहिलेका प्रशासक र सुरक्षा अधिकारीहरूलाई सरुवा गरेर नयाँ व्यक्तिहरूलाई जसरी सरुवा गरेर पठाएको छ, ती नयाँ गएका व्यक्तिहरूबाट पनि निष्पक्ष छानबिन र अनुसन्धान होस्, सरकारले गठन गरेको छानबिन कमिटीले पनि यो घटनालाई सूक्ष्म ढंगले हेरोस् र अपराधीहरू कुनै पनि किसिमले उम्कन नपाऊन् भन्ने हाम्रो धारणा रहेको छ । र, यही धारणाअनुरूप हामीले संघीय संसद्का २३ जना सदस्यहरूले प्रधानमन्त्रीसमक्ष आफ्ना कुराहरू राखेका छौं । अघि मैले भनेका कुराहरू प्रधानमन्त्रीसमक्ष पनि दोहो¥याएका छौं । र, प्रधानमन्त्रीबाट पनि घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरा स्पष्ट रूपमा आएको छ ।

० यो घटना भइसकेपछि तपाईंले दिएको अभिव्यक्तिका कारण स्थिति झनै उत्तेजक भएको भन्दै त्यहाँ तपाईंकै कारण घटनाले हिंसात्मक रूप लिएको भन्दै आलोचना गरिरहेको छन् मान्छेहरू, यसमा के भन्नुहुन्छ ? 
– यो हास्यास्पद छ । मैले आरम्भदेखि सो घटनामा संलग्न कुनै व्यक्तिलाई उम्काउनुहुँदैन भनेर गृह प्रशासनदेखि लिएर सर्वत्र भनेको छु । नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित हामी सबै प्रदेश नम्बर ७ का जनप्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरूले अपराधीले छुट पाउनुहुँदैन भनेर निरन्तर रूपमा आवाज उठाएका छौं । तर, दुःखको कुरा नेपाली कांग्रेससम्बद्ध केही मान्छेले अपराधीलाई कारबाही गर्नुपर्नेमा नेकपाबाट निर्वाचित त्यहाँभन्दा टाढाटाढा रहेका जनप्रतिनिधिविरुद्ध कुप्रचार गर्ने, उनीहरूतर्फ आक्रमण सोझ्याउने, ससाना स्कुलमा पढ्ने बालबालिकालाई उक्साउने र घटनालाई असामान्य ठान्ने क्रियाकलाप गरेको हुनाले मैले यो घटनालाई थप राजनीतीकरण गर्नुहुँदैन, त्यो बन्द गर्नुपर्छ, नेपाली कांग्रेससम्बद्ध केही व्यक्तिले त्यस्तो क्रियाकलाप गरेको भन्ने जनताले जानकारी दिएकाले त्यस्तो काम बन्द गरियोस्, प्रहरी प्रशासनलाई अपराधी पत्ता लगाउने काममा हामी सबैले मद्दत गरौं भन्ने कुरा मैले भनेको हुँ । त्यसलाई नेपाली कांग्रेससम्बद्ध केही व्यक्तिले नै बंग्याएर जुन कुप्रचार गरियो त्यसको कुनै अर्थ छैन । र, त्यसरी जनतालाई अफवाह फैलाएर भ्रम सिर्जना गरेर उत्तेजनामा ल्याउने काम गैरजिम्मेवार काम हो ।

० सरकारले दोषीलाई पत्ता लगाउने प्रयास गरिरहेको, पीडितलाई राहतको व्यवस्था गरेको सन्दर्भमा पनि स्थिति अझै साम्य नहुँदा स्थानीय जनप्रतिनिधिका हैसियतले जनतालाई सम्झाउने, घटनालाई सामान्यीकरण गर्नेतर्फ के पहल गरिरहनुभएको छ ?
– धेरै अगाडिदेखि हामीले छानबिनलाई प्रभावकारी रूपमा अगाडि बढाइयोस्, यदि कुनै प्रहरी अधिकृत वा अन्य प्रशासकले त्यस सम्बन्धमा तदारुकतापूर्वक काम नगर्ने देखिएको अवस्था छ भने त्यसतर्फ पनि ध्यान दिइयोस् भनेर सुरुदेखि नै हामीले भन्दै आएका थियौं ।

नेपाल सरकारको तर्फबाट जुन छानबिन समिति गठन गरियो, त्यो समिति गठन गर्ने र त्यसलाई गम्भीर रूपमा लिने कुरामा पनि हामीले पृष्ठभूमिमा सरकारलाई आग्रह गरेका थियौं । अहिले जुन नेपाल सरकारका तर्फबाट मृतकका परिवारहरूलाई राहतस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने, घाइतेहरूको निःशुल्क उपचार गर्ने र नयाँ प्रहरी तथा प्रशासक पठाएर त्यहाँ छानबिन गर्ने कुराहरू गरेको छ, अब यो कामबाट अपराधी पत्ता लगाउने कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन मद्दत पुगोस् । र, स्थानीय प्रशासनमार्फत र माथिबाट पनि उचित ध्यान दिइयोस् भन्ने कुरा हामीले भनेका छौं र नेपाल सरकारको तर्फबाट जुन पछिल्लो कदम चालियो, त्यहाँ केही थप मानिस पनि गिरफ्तार भएका छन्, त्यसलाई हामीले सराहना गरेका छौं ।

जनसमुदायले बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ भन्ने कुराहरूलाई हामीले जहिले पनि सम्मान गरेका छौं । म अहिले पनि सम्मान गर्छु तर नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरू कोही काठमाडौंमा छन्, कोही त्यहाँबाट धेरै टाढाटाढा छन्, उनीहरूलाई समेत गालीगलौज गर्ने, अनि जो अपराधी छ उसलाई कारबाही गर्नुपर्छ भन्नु ठीक हो तर नेकपाबाट निर्वाचित व्यक्तिहरूमाथि प्रहार गर्न लगाउने, उनीहरूका घरमा ढुंगामुढा गर्न लगाउने अर्थात् यो घटनालाई राजनीतीकरण गरेर त्यहाँ आफ्नो निहित स्वार्थपूर्ति गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यस्तो गर्नुहुँदैन भन्ने हाम्रो भनाइ हो । अब अहिले पनि हामी त्यहाँ सबै पार्टीका तर्फबाट एउटा सर्वदलीय सहमति भएको छ । त्यो सहमतिले गरेका मागहरू नेपाल सरकारका तर्फबाट प्रायः सबै पूरा गरिएको छ । अब सबैले मिलेर अपराधी पत्ता लगाउने काममा लागौं । यो कुनै पार्टीहरूले राजनीति गर्ने विषय होइन भन्ने मेरो भनाइ हो । तर, त्यसलाई बंग्याएर उल्टै मैले गर्दा त्यहाँ हिंसा भयो भन्ने जुन केही व्यक्तिले कुरा गरेका छन्, त्यो अत्यन्त हास्यास्पद र नियोजित कुप्रचार हो ।

० भनेपछि कांग्रेसले चुनावी पराजयपछिको कुण्ठा पोखेर यो घटनालाई राजनीतिक प्रतिशोध साँध्ने मौकाका रूपमा लिएको छ ?
– नेपाली कांग्रेस सिंगो पार्टी नै त्यसमा निर्णय गरेर लागेको त होला भन्ने त मलाई लाग्दैन । यो कुरा मैले कहिल्यै पनि भनेको छैन । तर, नेपाली कांग्रेससँग निकट केही व्यक्तिले त्यस्तो गतिविधिमा संलग्न छन् भन्ने कुरा त्यहाँका जनताले आमरूपमा भनिरहेका छन् । र, त्यो घटनालाई राजनीतिक रङ दिएर त्यहाँबाट पनि राजनीतिक स्वार्थसिद्ध हुन्छ कि भनेर लागेको भन्ने स्थानीय जनताको भनाइ हो । त्यस्तो जघन्य अपराधमा अपराधीलाई कारबाही गर्न सबै एकजुट भएर कुनै प्रहरी वा प्रशासकले कमीकमजोरी गरेको छ भने त्यसलाई औंल्याएर जानुपर्नेमा त्यसलाई राजनीतिक रूप दिएर हिंसा भड्काउनेतर्फ लैजाने कुरा कुनै पनि जनताले ठीक हो भन्न सक्दैन र भनिराखेको पनि छैन ।

० यो घटनामा प्रदेश सरकार त छ कि छैन जस्तो देखियो, सबै कुराहरू केन्द्रीय सरकारसँग जोडिएर आयो, प्रदेश सरकारले चाहिँ यस्तो विषयको सहजीकरण गर्न नसक्ने रहेछ ?
– म तपाईंमार्फत सम्पूर्ण जनसमुदायलाई प्रदेश सरकारको तर्फबाट अर्थात् प्रदेश नम्बर ७ को सरकारको तर्फबाट आरम्भदेखि नै सक्रियतापूर्वक काम गरिरहेको कुरा जानकारी गराउन चाहन्छु । सरकारले त्यहाँको जिल्ला प्रशासन र सबै सरोकारवालाहरू प्रभावकारी र सक्रिय रूपमा छानबिन र अनुसन्धान गर्न तथा अपराधीलाई कानुनको दायराभित्र ल्याउन बारम्बार भूमिका खेलेको छ । तर, जिल्ला प्रशासन, प्रहरी प्रशासन सबै केन्द्र सरकारबाट निर्देशित हुन्छ । तैपनि, केन्द्र सरकारले पनि नेपाल प्रहरीको प्रधान कार्यालयबाट अपराध अनुसन्धान टोली त पठाएकै हो । त्यति गर्दागर्दै पनि जसरी जनताले हामीले जे अपेक्षा गरेका थियौं, तदअनुकूल त्यहाँ काम भएन कि भन्ने हामी सबैलाई लागिरहेको छ ।

त्यसैकारण, जब त्यसमा आशंका उत्पन्न भयो, नयाँ टोली पठाएर अझ प्रभावकारी रूपमा अनुसन्धान गरेदेखि राम्रो हुन्थ्यो, त्यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिएन भने त समाजमा यस्ता घटना घटिरहने हुन्छन् । पीडितलाई न्याय पनि हुँदैन । त्यसैले, त्यस्तो हुनुपर्छ भन्ने हाम्रो धारण हो र प्रदेश सरकारले आफ्नो अधिकारको सीमाभित्र रहेर यो केशमा थुप्रै काम गरेको छ । पीडितलाई राहत दिने निर्णय पनि गरेको छ । प्रहरी प्रशासनलाई उसले बेलाबेलामा बोलाएर सल्लाहसुझाव पनि दिएको छ । निर्देशन पनि दिएको छ ।

० अलिक फरक प्रसंग, नेकपा नेतृत्वको वर्तमान सरकारले ६ महिना को कामलाई कसरी हेर्नुभएको छ ?
– जुन परिस्थितिमा सरकार गठन भयो, त्यस हिसाबले यस सरकारसँग निश्चय नै जनताले धेरै अपेक्षा गरेका छन् । दिगो विकास, समृद्धि र सुशासन यो सरकारको एक मात्र अभिष्ट हुनुपर्छ । सरकारले कतिपय जनताको अपेक्षाअनुरूप काम गरेको पनि छ । तर, समग्रतामा यो सरकारले कानुन निर्माणदेखि लिएर अन्य धेरै काम गर्दै आएको छ । सबै काम एकैचोटि हुन सम्भव पनि हुँदैनन्, क्रमशः भइरहेका छन् ।

० तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकता प्राविधिक एकता भएकाले लामो सहकार्यका मामिलामा आशंका गरिएको छ नि ?
– हामीले राष्ट्रको आवश्यकता, जनताको अधिकार र समृद्धिको लक्ष्य राखेर पार्टी एकता गरेका हौं । त्यसैले, यो कुनै प्राविधिक कुरासँग जोडिँदैन । मानिसहरूले बाहिरबाट हेर्दा अर्कै धारणा राख्लान् । फरकफरक कोण, व्यवहार र धारणाबाट आएका दलहरू एकै ठाउँमा कति लामो समयसम्म सहकार्य गर्लान् भनेर आशंका गर्नु अस्वाभाविक नहोला । तर, राष्ट्रिय स्वाधीनता, एकता, दिगो शान्ति, समृद्धिलगायत निर्दिष्ट दिशातर्फ निरन्तर अग्रसर भइरहनुपर्छ । त्यसो भयो भने अरू सानातिना समस्याहरू स्वतः समाधान हुन्छन् ।

० वर्तमान सरकारका मन्त्रीहरू ठोस रूपमा काममा लाग्नेभन्दा पनि हल्लाखल्ला र मिडिया सेलिब्रेटी बन्ने होडमा मात्र लागेको भन्छन्, मन्त्रीको राम्रै अनुभव छ तपाईंसँग, तपाईंलाई के लाग्छ ?
– सरकारको समग्र कामको मूल्यांकनका लागि स्थायी समिति बैठक डाकिएको छ । त्यसमा गम्भीर छलफल होला । यसमा तथ्यतथ्यांकहरू लिएर पार्टीमा छलफल होला । लोकतन्त्रमा जनतालाई टिप्पणी र आलोचना गर्ने अधिकार सुरक्षित रहन्छ । यसमा अरू मेरो केही भन्नु छैन ।


० नेकपाको नयाँ कमिटीहरू धमाधम बन्दै छन्, प्रदेश नम्बर ७ को अध्यक्ष त तपाईं आफैं बन्ने होला नि ?
– हामीले प्रारम्भिक चरणमा तलदेखिका सबै सुझाव समेटेर कार्यदलका तर्फबाट प्रतिवेदन बुझाइसकेका छौं । देशव्यापी रूपमा ठूलो नेटवर्कमा हाम्रो पार्टी छ । सबैलाई न्याय हुने गरी हामी अघि बढ्नुपर्छ । हिजोका तीतामीठा कुरा र प्रतिशोधपूर्ण व्यवहारहरू भुलेर पार्टी अघि बढ्नुपर्छ ।

० तपाइमाथि सधैं सुदूरपश्चिमको नाममा राजनीति गर्यो र त्यसको नाममा पाउने अवसरहरू सधैं आफैंले मात्र लियो भन्ने आरोप लाग्ने गरेको छ नि ?
– यस्ता कुरा सुनेपछि मलाई आश्चर्य लाग्छ । मैले झन्डै आधा शताब्दी हुन लाग्यो निरन्तर पार्टीको काम गरेको । मभन्दा धेरै पछि काम गरेका मानिसहरू धेरै माथि गइसके । मैले अछाम जस्तो जिल्ला जहाँ नेपाली कांग्रेस एकल वर्चस्व थियो र अहिले पनि छ । त्यस्तो ठाउँबाट पार्टीलाई स्थापित गरेर अगाडि बढेको अवस्था हो । व्यक्तिगत रूपमा कुरा गर्ने हो भने हाम्रो पार्टीका सबै नेताको लगत राखेर कसले कतिपटक के–के पाए भन्ने कुराको हिसाब गरौं न ? त्यसैले, कसैले पनि व्यक्तिगत संकीर्णत राखेर कुरा नगर्दा राम्रो हुन्छ ।

-बुधबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७