असारे विकासले जोखिम निम्त्यायो


२० भाद्र २०७५, बुधबार
pahero

वैतडी, २० भदौं । लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो ।

pahero
सांकेतिक तस्विर

खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्ति झेल्न परिरहेको छ । विकासको नाममा मापदण्ड विपरीत खनिएका सडकले विपत्ति निम्त्याइरहेका छन् ।
बजेट सिध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको बितण्डा पहिलो वर्षात्मै देखिन थालेको छ ।

बजेट सिध्याउने नाममा असारमा आएर विकास निर्माणमा काम हतार हतार गर्ने प्रवृत्तिले जोखिम बढाएको छ । जिल्लाका विभिन्न स्थानीय तहले वातावरणको ख्यालै नगरी सडक बनाउन चलाएका डोजरको बितण्डा पहिलो वर्षात्मै देखिन थालेको छ ।

धेरै ठाउँमा वर्षातमै खनिएका सडक भत्केर भताभुङ्ग भएका छन् भने सडक मुनितिरका वस्ती पहिरो र बाढीको जोखिममा परेका छन् ।
मुख्य राजमार्गको ख्यालै नगरी निर्माण गरिएका शाखा सडक तथा राजमार्ग माथि र मुनितिर खनिएका सडकले समेत वस्तीलाई जोखिममा पारिदिएका छन् । दोगडाकेदार गाउँपालिकाको खोचलेक बजारदेखि चडेपानी जान खनिएका सडकका कारण खिरेगाउँको वस्ती जोखिममा परेको छ ।

प्राविधिक र वातावरणीय पक्षलाई बेवास्ता गर्दै डोजर, एस्काभेटर जस्ता बढी भारका उपकरण प्रयोग गरेर सडक निर्माणका क्रममा निकालिएको माटो र पानीको व्यवस्थापन नहुँदा विपतको जोखिम बढाएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए ।

सडकले थुपारेको माटो बर्खाको पानीले गलेर बग्ने, सडकमा जम्ने पानीले खोल्सा बनाउने, माटो बगाउँदा वरपरका वस्तीमा पहिरो खस्ने, जमीन भासिने, भू–क्षय हुने र नदीमा बाढीको आयतन बढेर कटान गर्ने क्रम बढेको छ । उनले भने, ‘भू–संवेदनशीलतालाई ध्यान नदिएर डोजर चालकले आफूखुशी खनेका सडक विपत्को प्रमुख कारण बनेको छ ।’

यसका साथै उपभोक्ता समितिले सडकको नयाँ ट्रयाक बनाउँदा पर्खाल लगाउने, वृक्षारोपण गर्ने, भल व्यवस्थापनका लागि नाली बनाउने र माटोको व्यवस्थापन गर्ने काममा खासै ध्यान नदिँदा पहिरोको समस्या बढेको हो । अविरल वर्षाले डिलासैनी गाउँपालिका–३ मा खहरेखोलामा बाढी आयो ।

खोलामा आएको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको दुई सय रोपनी जमीन बगरमा परिणत भयो । यो वर्ष कलदे खोला सिमार र तल्लो छेपट्टा गाउँमा पस्दा २२ घर जोखिममा परेका छन् । ‘एक्कासी आएको बाढीले खेतीयोग्य जमिन बगाई दियो, त्यो बेला त ज्यान जोगाउनै मुस्किल पर्‍यो’, रानाले भने, ‘आकाशमा कालो बादल मडारिँदा अहिले पनि डर लाग्छ । फेरि खोलामा आउने बाढीले घर नै बगाउने हो कि भन्ने चिन्ता लाग्छ ।’

एक्कासी खहरे खोलामा आएको बाढीले खेतमा रोपेको धानबाली पूरै नष्ट गरिदिएको स्थानीयवासी अर्जुन रानाले दुःखेसो पोखे । कलदे खोलामा आएको बाढीे सडकको ह्युम पाइप थुनिएर गाउँ पसेको हो । खेतमा लगाइएको धानबाली पूरै नष्ट भएपछि झनै समस्यामा परेको बताउँदै उनले भने, ‘खहरे खोलामा आएको बाढीले एकातिर समस्या निम्त्याएको छ भने खेतको छेउतिर चमेलिया नदीले कटान गर्दै गएको छ ।’

डिलासैनीका स्थानीय बासिन्दालाई बाढीले ठूलै समस्यामा पारेको छ । बाढीले खेतीयोग्य जमीन पूरै पुरिदिएपछि समस्या भएको स्थानीयवासी रमेश धामीको भनाइ छ । डिलासैनी गाउँपालिका वडा नं ६ स्थित हरिनगर बजार बाढी र पहिरोको जोखिममा छ । तलतिर चमेलिया नदीको कटान र माथिबाट पहिरो खस्ने भएकाले बजार नै जोखिममा रहेको वडा नं ६ का वडा सदस्य चन्द्रीनाथ योगीले बताए ।

जिल्लाका विभिन्न स्थानमा खनिएका कच्ची सडकले बाढी र पहिरोको जोखिम बढाएको स्थानीय बासिन्दाको गुनासो छ । अध्ययन बिनै स्थानीय तहले धमाधम कच्ची सडक खनेपछि अहिले ती सडकले खेतबारी बगाउन थालेका छन् । दशरथचन्द नगरपालिकाको छेला–दुर्गाभवानी सडकका कारण सडक तलतिरका वस्तीहरु जोखिममा परेका छन् ।

वर्षाले सडकको पूरै माटो खेतमा पसेर खेतबारी नष्ट गर्नाका साथै सडक माथिबाट आएको खहरेले घर छेउमै पहिरो जाँदा समस्या भएको सुर्नया–६ का दुर्गादत्त अवस्थीले बताए । उनले भने, ‘खेतबारी र घरै जोखिममा परेपछि अर्को घरमा सरेका छौं ।’

जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड, पुर्चौंडी नगरपालिकाको मल्लादेही, मेलौली नगरपालिकाको विशालपुरलगायत क्षेत्र पहिरोको जोखिम छ । ती क्षेत्रमा कच्ची सडक खन्ने क्रम बढेसँग जोखिम बढेको हो । बजेट सक्ने उद्देश्यले आर्थिक वर्षको अन्तमा डोजर डुलाएर पाखो खन्ने प्रवृत्तिले विपत् बढाएको सूर्नयाका नरेन्द्र विष्टको भनाइ रहेको छ ।

‘स्थानीय सरकार बनेपछि समयमै विकास निर्माणका काम हुन्छ भन्ने आशा भएपनि त्यसो भएन’, उनी भन्छन्, ‘स्थानीय सरकार भएको अनुभूति गरिएको भएपनि असारे प्रवृति भने कायम छ ।’ स्थानीय तहहरुले भने बजेट सिध्याउनकै लागि असारमा आएर मात्र विकास निर्माणका कामहरु गर्ने गरेका कारण गुणस्तरीय नहुने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

बैतडीमा गत आर्थिक वर्षको कुल पूँजीगत बजेटमध्ये ४५ प्रतिशत असार महिनामा खर्च भएको थियो । अधिकांश विकास अड्डाहरुको रकम असारमा खर्च भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार असार महिनामा मात्रै ७ करोड ९३ लाख खर्च भएको छ ।

बैतडीमा कूल पुँजीगत बजेट २ अर्ब १५ करोड ७९ लाखमध्ये १ अर्ब ८४ करोड ६४ लाख खर्च भएको छ । यसमा ४५ प्रतिशत रकम असार महिनामा मात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक वासुदेव जोशीले बताए । स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी सक्रिय बनाइए प्रकोपजन्य घटनाहरुमा कमी आउने र क्षति न्यून हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए ।

ग्रामीण क्षेत्रमा स्थानीय तहहरुले खनेका सडकहरुले ४-५ वर्षसम्म विपत्ति निम्त्याउन सक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख अमित श्रेष्ठले बताए । नयाँ खनिएका सडकहरु ‘सेट’ हुन केही वर्ष लाग्दछ । उनले भने, ‘स्थानीय तहहरुले सडक खन्दा मापदण्डअनुसार निर्माण गर्नु आवश्यक छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७