ठेक्का हटेपछि आम्दानी


२१ भाद्र २०७५, बिहीबार
baglung2

बागलुङ, २१ भदौ । पूजाआजामा ठेक्का हटाउँदा कालिका भगवती मन्दिरमा भेटीबाट हुने आम्दानीमा वृद्धि हुँदै गएको छ ।

baglung2
कालिका भगवती मन्दिर

२०३२ सालदेखि चलेको ठेक्का प्रणाली हटाएर मन्दिर गुठी व्यवस्थापन समिति आफैँले तीन वर्षदेखि पूजा सञ्चालन गर्दै आएको छ । आव २०७१-७२ मा ४१ लाखमा पूजा सञ्चालन तथा व्यवस्थापनको जिम्मा ठेकेदारले लिएका थिए ।

ठेक्का नदिई समिति आफैँले पूजाआजा चलाउँदा आव २०७२÷७३ मा भेटीको आम्दानी ९० लाख भएको थियो । उक्त आम्दानी आव २०७३-७४ मा एक करोड १४ लाख ३३ हजार तथा आव २०७४÷७५ एक करोड ३४ लाख ८७ हजार पुगेको छ ।

‘ठेक्का हटेको पहिलो वर्षमै आम्दानी दोब्बरले बढ्यो’, समितिका अध्यक्ष राजु खड्काले भने, ‘भेटीबाट व्यक्तिले कमाउने क्रमको अन्त्य भएको छ ।’ चुस्त व्यवस्थापन, पारदर्शिता र मितव्ययी खर्च प्रणालीले आम्दानीमा वृद्धि भएको उनको भनाइ छ । भक्तजन, नागरिक समाज र सामाजिक संघसंस्थाले समितिले नै पूजाको जिम्मा लिन सुझाव दिएका थिए ।

‘पहिला मन्दिरको आम्दानीबारे केही थाहा हुने गरेको थिएन’, उनले भने, ‘अहिले सबै कुरा पारदर्शी छ ।’ पूजा सञ्चालन समितिको मातहतमा आएपछि साप्ताहिक रुपमै आम्दानी र खर्च सार्वजनिक हुन थालेको छ । बलिको मुढ, भेटी, परेवा र अक्षेता मन्दिरको मुख्य आम्दानीको स्रोत हो ।

बलिको रुपमा मन्दिरमा बोका, राँगो, हाँस, सुँगुर र कुखुरा चढाउने गरिन्छ । मुढ (टाउको) भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । मन्दिरमा बडादशैँ र चैते दशैँका बेला सबैभन्दा बढी आम्दानी हुने गरेको छ । गत आवको चैतमा २८ लाख ९० हजार आम्दानी भएको थियो । बलि नचढ्ने र कम पूजा हुने साउनमा दुई लाख ९९ हजार भेटी चढाइएको थियो ।

‘ठेक्का हुँदा विकृति थियो, अस्वस्थ प्रतिष्पर्धा हुन्थ्यो’, मन्दिरका पुजारी जयबहादुर खड्काले भने, ‘अहिले वातावरण धेरै सहज छ ।’ पूजाआजाबाट आम्दानी बढेसँगै खर्च समेत बढेको समितिले जनाएको छ । तीन वर्षअघि १० लाख खर्च भएकोमा अहिले वार्षिक खर्च करीब २५ लाख पुगेको छ । कर्मचारी तलबमा मात्र १८ लाख ६८ हजार खर्च हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७