घनश्याम भुसालको नजरमा समीर अमिन

चिन्तक समीर अमिनको दुई साता अघि ८६ वर्षसको उमेरमा मृत्यु भयो । इजिप्टमा जन्मिएका समीर अमिन प्रख्यात माक्र्सवादी अर्थशास्त्री, पुँजीवादका आलोचक र व्याख्याता, पुँजीवादविरोधी वैचारिक संघर्षका एकजना हस्ती थिए । अमिन इजिप्टमा जन्मे–हुर्के ।

फ्रान्समा पढे (उनका बाबु इजिप्सियन थिए भने आमा फ्रेन्च थिइन्) पछि इजिप्टको आर्थिक विकास र योजनासम्बन्धी विभागमा काम गरे । तर, कम्युनिस्टमाथि सरकारको बढ्दो दमनपछि उनी माली गए र मालीका सरकारलाई आर्थिक योजनामा सहयोग गरे । अमिन दोस्रो विश्वयुद्धलगत्तैको विश्व परिवेशमा हुर्केका थिए । उपनिवेशवादबाट स्वतन्त्रताका लागि दक्षिणी गोलार्धका देशका जनताले चलाएका संघर्षका एकजना साक्षी पनि थिए उनी । अमिन बारेमा विश्लेषक झलक सुवेदी लेख्छन्,‘दोस्रो विश्वयुद्धलगत्तै तीव्र बनाइएको शीतयुद्धकालमा धुमिल हुँदै गएको सोभियत समाजवाद, तेस्रो विश्वमा उदाउँदो क्रान्तिको ज्वार, माओकालीन चिनियाँ समाजवाद, सोभियत संघलगायत पूर्वी युरोपेली समाजवादी खेमाको पतन, विचारको मृत्यु घोषणा गर्ने पुँजीवादको दुन्दुभी र पछिल्लो आर्थिक संकटसँगै आफ्नो नैतिक धरातल गुमाएको नवउदारवादका पनि उनी द्रष्टा र व्याख्याता थिए ।’

उनै समिर अमिनको सम्झना र सम्मानमा चारदिनअघि नेपाल अध्ययन केन्द्रले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको वक्ता मध्ये एक थिए, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा चिन्तक घनश्याम भुसाल । कार्यक्रममा भुसालले राखेको विचार :- 

घनश्याम भुसाल

स्नातकोत्तर पश्चात् राजनीतिक अर्थशास्त्रबारे रुचि राख्न थालेपछि मैले समीर अमिनलाई हेरेको हुँ । हामी २००७ सालको क्रान्ति के थियो, त्यसका प्रभावहरू के थिए, त्यसको आगामी गन्तव्य के थियो भन्नेबारे धेरै कम चर्चा गरियो । अलिकअलिक बीपीले गर्नुभयो, केही पुष्पलालले गर्नुभयो । वीपी र पुष्पलालले जे गर्नुभयो, करिबकरिब त्यहीवरिपरिकै धारणा अहिलेसम्म छ ।

कम्युनिस्टहरूले त्यो धोकापूर्ण थियो भने । किनभने, पुष्पलालले त्यो धोकापूर्ण क्रान्ति थियो भन्नुभयो । बीपीले हामीलाई केही पनि थाहा थिएन के–के भयो के–के भन्नुभयो, त्यो पनि पछि २०१२ सालमा । क्रान्तिको अन्तर्य के थियो भन्नेबारे हामी आफैलाई थाहा नभएकाले क्रान्तिले राम्रो खुट्टा टेकेन भनेर उहाँले भन्नुभयो । त्यो त गयोगयो, पछि २०४६ सालको क्रान्तिमा पनि छलफल भएन । त्यसमाथि पनि जति विमर्श, छलफल हुनुपथ्र्यो, अध्ययन हुनुपथ्र्यो, त्यो हामीकहाँ भएन ।


अहिले फर्केर हेर्दा मलाई के लाग्छ भने २०४६ पछि लगत्तै एक ब्रिटिस रिसर्चर आएका थिए । तिनको पटकपटकको प्रश्न थियो, ‘के तिमीहरूकोमा पेरु दोहोरिँदैन ?’ पेरु सुरु भइसकेको थियो । तर, हामी कहाँ पेरुको कुनै रङरोगन, हावा, थोरै बादल पनि आएको थिएन । ओ यांकी गो होम, डटी यांकी गो होम भन्ने एउटा गीतबाहेक केही थिएन । त्यो बेलामा एक जना रिसर्जर आएर दोहोर्‍याई दाहोर्‍याई सोध्दै थियो, ‘तिमीहरूकोमा पेरु दोहोरिँदैन ?’ पछि मैले सुनें– उनले नेपाल पेरुको संघारमा छ भनेर लेखे । म सत्ताधारी पार्टीको स्थायी कमिटीको सदस्य पनि हुँ । म सांसद पनि हुँ । यो गणतन्त्र, यो आन्दोलन, यो नेकपाको दिग्विजयको एउटा प्रतिनिधि पनि हुँ । तर, फेरि पनि मलाई अहिले समिर अमिन सम्झँदा के लाग्दै छ भने अब हाम्रो संकट या त हामी अर्थात् समाजवाद सफल हुन्छ ।

दलाल पुँजीवादलाई नियन्त्रण गरिनेछ र समाजवाद सफल हुन्छ । या दलाल पुँजीवाद जसको प्रक्रिया जारी छ, त्यसले हाम्रो समाजमा बचेखुचेको समाजवाद पनि खाइदिन्छ । संविधानकै समाजवाद पनि खाइदिन्छ भन्ने लाग्छ । ती डरलाग्दा दिनहरू हामीले हेर्र्नुपर्नेछ, यदि हामी यस्तै २०४६ सालजस्तै बेखबर रहने हो भने ।

ब्रिटिस रिसर्चरले त्यतिबेला कुरा गर्दा उसले भन्थ्यो, एकातिर यत्रो स्वतन्त्रता मान्छेले पाए, राजतन्त्रबाट फुत्त बाहिर निस्केर प्रजातन्त्रको मजा लिँदै छन् । यति धेरै स्वतन्त्रता छन्, अभाव त्यो भन्दा धेरै छन् । यो स्वतन्त्रता र अभावका कारणले गर्दा आन्दोलन बढ्ने तर राज्यले नसक्ने भयो भने के हुन्छ ? भनेर गरेको प्रश्न म अहिले पनि सम्झन्छु । आकांक्षा धेरै छन्, स्वतन्त्रता सबै छन् तर पूरा गर्ने संरचना कसरी बनाउँछौं ? मान्छेका आकांक्षा पूरा गर्ने ती संरचना बनाएनौं भने संकट आउँदैन ? भन्ने प्रश्न थियो त्यो ।

आज गणतन्त्र आएको छ । हाम्रो संविधान पनि बन्यो । यत्रा हाम्रा मौलिक अधिकारदेखि सारा कुरा हामीले लेखेका छौं । यो पूरा गर्ने राज्यको कुरा गर्दा धेरै ठूलो बहस गर्नु जरुरी छ । क्रान्तिको एउटा चरण सकिएको हो तर क्रान्तिको बहस सकिएको छैन । अर्थात्, नेपालमा यो क्रान्तिले जित्छ कि जित्दैन अझै फैसला भएको छैन । फेरि पनि म समीर अमिनलाई नै जोड्छु । नेपाली समाज कस्तो समाज हो भन्ने प्रश्न खासगरी लेफ्टहरूका लागि सधै‌ प्रमुख रहँदै आयो । हामी कहाँ छौं ? हाम्रो समाज के हो ? यसको चरित्र के हो भन्ने प्रश्न सधै महत्वपूर्ण रह्यो । यो समाज सामन्ती छ भने राष्ट्रिय क्रान्ति, जनवादी क्रान्तिको आवश्यकता हुन्छ । यदि पुँजीवाद छ भने जनवादी क्रान्तिको आवश्यकता हुन्छ भन्ने कुरा टुंग्याएर हाम्रो शिक्षा, रणनीति, कार्यनीति तय गरिआएका हौं ।

हामीकहाँ २०४६ सालपछि पनि धेरै ठूलो परिवर्तन भइसकेको थियो । मेरै अध्ययनका आधारमा भन्दा भूमि सम्बन्धका हिसाबले २०३० सालतिर जतिबेला नेपालमा सबै नापी व्यक्तिका नाममा भयो, त्यतिबेलादेखि नेपाली समाज आधारभूत रूपमा पुँजीवादी भएको हो भन्ने मलाई लागेको हो । यो कुरा मैले पटकपटक भन्दै आएँ तर कसैले च्यालेन्च गरेनन् । तर, हाम्रो आन्दोलनमा समाजको परिवर्तनका यस्ता प्रश्नहरू प्रमुख बनेनन् ।

अहिले कहिलेकाहीँ झलनाथ खनालले भन्नुहुन्छ, ‘हामी हाम्रो समाज समान्ती वा अर्धसामान्ती भन्छौं, तर २०४० सालतिर हामीले किसान आन्दोलन चलाउँदै गर्दा किन त्यो आन्दोलन चलेन । किसान आन्दोलन चलाउन धेरै प्रयत्न गरियो, तर पनि चलेन । लामो समय किसान आन्दोलन गर्ने प्रयत्न गरियो, तर किसान आन्दोलनका सबै झडप सकिए भन्दै उहाँले आफ्ना संस्मरण सुनाउनुहुन्थ्यो, तर त्यो प्रश्न ठूलो प्रश्न थियो । किनभने, किसान क्रान्ति गर्ने भन्ने कुरा अस्तिसम्म हाम्रो दस्तावेजमा थियो ।

तत्कालीन नेकपा (एमाले) को आठौं महाधिवेशनको दस्तावेजको मुख्य विषय नै किसान क्रान्ति थियो । किसान आन्दोलन चलाउन नसकेको २२–२५ वर्षपछि फेरि पनि क्रान्तिको नाम किसान क्रान्ति भनेर राखियो । त्यो किन भयो भनेर हामीकहाँ कहिल्यै छलफल चलेन । यसरी हामीकहाँ क्रान्तिकारी आन्दोलनहरूको ज्ञान उत्पादन हुने प्रक्रिया अवरुद्ध भयो ।

आज पनि समीर अमिनकै कुरा गर्दा उनले उठाएका प्रश्नहरू हाम्रा लागि महत्वपूर्ण छन् । ऐतिहासिक भौतिकवादलाई प्रस्थान बिन्दु मान्छु भन्ने उनका लेखहरूमा उठाइएका प्रश्न हाम्रा लागि महत्वपूर्ण छन् । हाम्रो समाज के भन्ने कुराको परिभाषा, त्यसलाई तय गर्ने कुरा महत्वपूर्ण छ ।

मैले यो समाज सामन्ती रहने, अब यो पुँजीवादी हो भन्ने कुराको अध्ययन गर्दा यसलाई टुंग्याउने सिलसिलामा एउटा निष्कर्ष फेला पारेको समीर अमिनको लेखमै हो । उनको किताबमा समाजको विश्लेषण गर्दा, कसरी तेस्रो विश्वका मुलुकहरूमा पुँजीवाद विकृत हुँदै जान्छ र त्यो दलालीकरणको प्रक्रियामा फस्दै जान्छ भन्नेबारे राम्रोसँग व्याख्या छ । हामीकहाँ त्योबेला संकट थियो । दलाल पुँजीवाद के हो भन्ने कुरामा संकट थियो ।

सन् १९२६ तिर माओले थोरै व्याख्या गर्नुभयो । उहाँले चीनमा विदेशी सामान ल्याएर बेच्नेहरू नै पुँजीपतिका एजेन्टहरू हुन भन्नुभयो । चिनियाँ दस्तावेजभरि त्यही लेखियो । त्यसलाई हामीले कपी गरेर यहाँ ल्यायौं । त्यसैलाई समातिरह्यौं । कहिल्यै त्यसमा विचारविमर्श गरेनौं । बाहिरबाट सामान ल्याएर बेच्ने सम्पूर्ण व्यापार, त्यो सम्पूर्ण लगानी, त्यो सम्पूर्ण वैदेशिक सहायतासमेतलाई हामीले औपनिवेशीकरणको प्रक्रिया भन्यौं र त्यसको पुँजीको चरित्रलाई दलाल पुँजीपति नोकरशाही भन्यौं । र, हामीले सन्तोष मान्यौं ।

हामी कहाँ पुँजीवाद आइसकेको छ, समाज सामन्ती छैन भनेर टुंग्याउँदा हामी कहाँ एउटा कन्फ्युजन थियो । त्यसबेला खेज्ने क्रममा मैले समीर अमिनको किताब पढें । त्यहाँ समीर अमिन ले जब पुँजीपति वर्गले पुँजी उत्पादनको प्रक्रियामा न्यूनतम स्वतन्त्रताका साथ आफ्नो नियन्त्रण गर्न सक्दैन, त्यसपछि त्यो दलाल हुन्छ उल्लेख गरेका छन् । त्यसलाई थोरै व्याख्या गर्दै उनले भनेका छन्, त्यसले निरन्तर हाम्रो अर्थतन्त्रलाई, कृषिलाई हाम्रो उद्योगसँग जोड्ने प्रक्रियामा निरन्तर लागिरहँदैन भने त्यो पुँजी दलाल हो भनेका छन् ।

माओत्से तुङपछि दलाल पुँजीपतिको व्याख्या गर्ने सवालमा समीर अमिनको यो परिभाषाले हाम्रो दलाल पुँजीवादलाई व्याख्या गर्न सकिन्छ भन्ने मलाई लागेको हो । त्यसैलाई केन्द्रमा राखेर मैले दलाल पुँजीवादको व्याख्या गरेको हुँ ।


प्रतिक्रिया दिनुहोस्