पारवहनमा भारतसँगको निर्भरता हट्यो, सबै चिनियाँ बन्दरगाहमा सहज पहुँच


२२ भाद्र २०७५, शुक्रबार
सेन्जेन बन्दरगाह


काठमाडौं, २२ भदौ । नेपालले चीनका सबै बन्दरगाहमा सहज रुपमा पहुँच पाएको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा बिहिबार मध्यराती काठमाडौंमा सहमति भएसँगै नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।

बांग्लादेशसँग पारवहन सम्झौता भएपनि त्यहाँबाट सामान आयात गर्दा समेत भारतकै बाटो ल्याउनु पर्ने अवस्था रहेकाले चीनसँगको पारवहन सम्झौतालाई रणनीतिक हिसाबले असाध्यै महत्त्वपूर्ण मानिएको छ । पारवहन तथा परिवहन सम्झौतालाई कार्यान्वयनमा ल्याउन आवश्यक पर्ने प्रोटोकल (प्रक्रियागत संहिता) सम्बन्धी परामर्श बैठकमा चीनले सबै बन्दरगाह प्रयोग गर्न दिने बिषयमा सहमति दिएको हो ।

सेन्जेन बन्दरगाह



नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साढे दुई वर्षअघि चीन भ्रमणका बेला पारवहन सम्झौता गरेका थिए । जसको कार्यान्वयनका लागि नेपाल र चीनका अधिकारीहरू प्रोटोकल (कार्यबिधि)मा अहिले सहमत भएका हुन् ।

तेस्रो मुलुकसम्म पुग्न भारतसँग रहेको निर्भरता समाप्त हुने गरी नेपालले पहुँच पाएका चिनियाँ बन्दरगाहमध्ये चार वटा समुद्री तटमा अवस्थित छन् भने तीन वटा चाहिँ सुख्खा बन्दगाह हुन् ।
नेपालले अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थेन्जिन, सेन्जेन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्झोउ, ल्हासा र सिगात्से प्रयोग पाउने छ ।

यस्तै, ती बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वमा बुधबार र बिहीबार छलफल भएको हो । पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएसँगै अब नेपालले चीन हुँदै तेस्रो मुलुकसँगको सीधा पारवहन सुविधा पाउने बाटो खुलेको छ ।

KO oli and china

नेपाल र चीनका अधिकारी सहमत भएको सो कार्यविधीका मुख्य बुँदाहरू:

  • नेपालले चीनको भूमि हुँदै जापान र कोरिया सहित तेस्रो मुलुकबाट वस्तु आयात र निर्यात गर्न पाउने।
  • नेपालले तेस्रो मुलुकसँग पारवहनका लागि चीनको बाटो प्रयोग गर्न पाउने।
  • नेपालले चीनका सबै खुला सामुद्रीक बन्दरगाह प्रयोग गर्न सक्ने।
  • हाललाई भने तियान्जेन, सेनजेन, लियानयुंगाङ्ग र झाङ्गजियाङ्ग गरि चारवटा सामुद्रीक बन्दरगाह प्रयोग गर्न सक्ने।
  • नेपालले चीनका सबै सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने।
  • हाललाई भने लान्जाओ, ल्हासा, र सिगात्से सुख्खा बन्दरगाह प्रयोग गर्न सक्ने।
  • नेपालतर्फका रसुवा, कोदारी, किमाथांका, नेचुङ्ग, यारी र ओलाङ्चुड्ङगोला गरि ६ वटा नाका मार्फत् ढुवानी गर्न सक्ने।
  • नेपालमा दर्ता भएका ढुवानीका साधन सिगात्सेसम्म जान पाउने।
  • चिनियाँ बन्दरगाहबाट सबैभन्दा किफायती मार्ग प्रयोग गरेर कार्गो ढुवानी गर्न सकिने।
  • नेपालले चीनका रेल, बन्दरगाह, आन्तरिक जलमार्ग (इनल्यान्ड वाटर-वे) वा अन्य यातायातका माध्यम प्रयोग गर्न सक्ने।
  • नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव र चीन सरकारको यातायात मन्त्रालयका उप-मन्त्री स्तरीय एउटा संयुक्त परामर्श संयन्त्र बनाइने।
  • यस्तो संयन्त्रले पारवहन यातायात सम्झौताको प्रोटोकलको कार्यान्वयन अवस्था बारे पुनरावलोकन गर्ने।
  • नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव र चीन सरकारको यातायात मन्त्रालयका महानिर्देशकस्तरमा प्राविधिक विषयमा वार्ता गर्न एउटा संयुक्त परामर्श उप समिति बनाइने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७