भूपू गोरखा सैनिकहरूले सल्काएको शिक्षाको दियो


६ कार्तिक २०७५, मंगलवार
novel kishor rai

प्रा.डा. नोवलकिशोर राई

लामो अन्धकारको युग रहेको र आँखा खुले पनि आफैलाई देख्न कठिन भएको नेपाली समाजमा त्यसमाथि पनि आदिवासी समूहमा शिक्षाको सुगन्ध फैलन समय लाग्यो । राज्यले पेलेर अनि इतिहासले ठेलेर देश बाहिर रहेर छुट्टीमा वा नाम कटुवा भएर घर फर्केका लाहुरेहरूले शिक्षाको महत्व बुझेर फर्केछन् । अनि बर्माबाट दोस्रो महासमरमा जापानीहरूको गोलीबाट बाँचेर फर्कन सफल हुने हाम्रा काका, मामाहरू अनि भारत र मलायाबाट फर्केका हाम्रा दाजुहरू कतै ‘मास्टर’ भएर त कतै चन्दा(कर) दाता भएर गाउँमा स्कुल खोल्ने काममा लागे ।

यो पनि हामीलाई थाहा छ; हाम्रो घर गाउँमा भूपू सैनिकहरूको प्रयास, प्रभाव र परम्पराले गर्दा हाम्रो स्कुल नाचगान, खेलकुद र अतिरिक्त क्रियाकलापहरूमा सधैँ अगाडि हुने गर्दथ्यो । हाम्रा छिमेकका आठ दश स्कुलहरूमा फुटबलको बाजीमा सधैँ हामी नै उत्कृष्ट थियौँ भन्ने कुरा गफ होइन । आफू अशिक्षित हुनुका पीडा र साहेबहरूको दबदबाबाट पीडित ती हाम्रा अग्रजहरूलाई हामी ‘सलाम’ अर्पण गर्न चाहन्छौँ ।

नाम काटेर आउँदा हातमा कति पो दाम हुन्थ्यो होला र ! अनि रजा(छुट्टी)मा आउँदा आमा—बुबा, भाइबहिनी, मामा—माइजु, काका—काकी, सासु—ससुरा र सालासाली लगायतका नातागोतालाई लुगाफाटा, गरगहना र कोसेली ल्याइदिनुपर्ने, हाट बजारमा सोल्टिनी, साली र भदैनीहरूलाई ख्वाउनुपर्ने जस्ता बाध्यता, रहर र करले सताइएका हाम्रा दाजुहरूले स्कुल सञ्चालन कर, चन्दा र पाटी खरी, कलम—मसी, किताबहरूको पनि जोहो गर्नैपथ्र्यो ।

मलाई र सानी दिदीलाई छुट्टीमा फर्कंदा हाम्रा जेठा दाइ (नं. २११३५७४३, २/७ जिआर) ले दार्जीलिङबाट काठको फ्रेम भएको स्लेट ल्याइदिनुभएको कुरा अझै गरिरहनुहुन्छ अनि त्यो स्लेट फुटेको दिन दाजुले दिनुभएको गोदाइ पनि सम्झन्छु (उहाँको मन दुख्ला भनेर सो कुरा भन्न मन लाग्दैन) ।

ग्वाली र गोठहरूमा स्कुल
हाम्रो बाल्यकालमा कुनै स्थायी विद्यालय भवन र स्थायी शिक्षक थिएनन् । एक दुई महिना कसैको सिकुवामा, कसैको ग्वाली र गोठमा वा थोत्रा कटेराहरूमा पढ्थ्यौँ । अधिकांश हाम्रा शिक्षकहरू भूतपूर्व गोरखा सैनिकहरू हुन्थे, जो सेनाबाट नाम काटेर वा पेन्सन लिएर अवकाश पाएका हुन्थे ।

स्वभाविक रूपमा उनीहरूको पढाउने तरिका रेक्रुट वा सिपाहीलाई तालिम दिने खालकै हुन्थ्यो । बिहान—दिउँसो काम गर्नुपर्ने हुनाले कतिपयले राती आफ्नै सिकुवामा पढाउँथे अनि आँगनमा पिटीपरेड खेलाउँथे पनि । एकपटक सुकमलेपा मामाले जुनेली रातमा लगेर घङ्घारू घारीमा दुश्मनसँग लडाइँ गरेको अभ्यास पनि गराएको सम्झना छ ।

लाहुर जाने परम्पराले स्कुललाई पारेको असर

दुई तीन वर्षको अथक प्रयासले विद्यालयमा विद्यार्थीहरू पनि बढे । कक्षाको स्तर पनि बढ्यो, अनि शिक्षाप्रतिको जनचासो पनि खुब बढ्यो, तर त्यस भेकमा अर्को एउटा अप्ठ्यारो कुरो के थियो भने उमेर पुगेका माथिल्लो कक्षाका विद्यार्थीहरूमा ‘लाहुर’ जाने परम्परा थियो । गाउँमा ब्रिटिस सेना र भारतीय सेनामा लैजानका लागि भूपू गोरखा सैनिकहरू गल्लावाल भएर काम गर्दथे ।

सत्र—अठार वर्षका लक्का जवानहरूलाई भर्ती जाने अनेक आकर्षणहरू थिए । विदेश घुम्न पाइने, पैसा कमाइने र समाजमा रवाफ बढ्ने भएकोले उनीहरूका लागि ठूलो आकर्षण थियो भने अभिभावकका लागि अर्थोपार्जन मुख्य थियो ।

स्वभाविक रूपमा नै छोरो लाहुरे भए ऋणमुक्त हुनसक्ने, साहुले पत्याउने र अभाव मेटिने कुराले आमा—बुबाहरू आफ्ना सन्तानलाई सकभर मलाया नभए भारत नै भए पनि पठाउन चाहन्थे । यो अवस्थाले गर्दा हाम्रा हेडसर पनि निक्कै हतोत्साही भइसक्नुभएको थियो ।
लाहुर नपठाउने अभियान

हाम्रा गुरूहरूले आफ्ना चेलाहरू लाहुर नजान, नपठाउन भनेर सानै रूपमा भए पनि अभियान सुरू गर्नुभएको थियो— आजभोलिका नेपालका वामपन्थी पार्टीहरू जस्तै ! आखिर सिद्धान्त र व्यवहार जुन प्रबल हुन्छ, त्यसैले नाघेर जाने कुरो त रहेछ ।

लाहुरे नपठाउने कुरा सैद्धान्तिक रूपमा ठीक भए पनि व्यवहारिक रूपमा लागु हुन सकेन । देशमा असल नेता पनि नजन्मने अनि मालसामान जस्तो नेताहरूलाई विदेशबाट पैठारी पनि गर्न नमिल्ने भएर देश उँभो लाग्ने सकेको छैन । अझ आजभोलि त दिनहुँ सयौँ युवाहरू विदेशिदैछन् ।

हाम्रो हेडसर सधैँ भन्ने गर्नुहुन्थ्यो ‘यो अन्धो (मलाई), त्यो बामपुड्को (मनोज) र अर्को घाउरे (प्रदीप) यिनीहरू मात्र लाहुर नगएर देशमा नै अडिएलान् कि ! हुन पनि लगभग त्यस्तै भयो पनि । मनोज दाइ र म लाहुर जान सकेनौँ अनि प्रदीपजीले कोशिसै गरेनन् होला ।

वि.सं. २०२३—२४ सालतिरै उनी ओभरसियर भइसकेका थिए अनि बाँचेका भए अहिलेसम्म इञ्जिनियरका हाकिम भइसकेका हुन्थे । मनोज दाइ आफूले त्यति उपल्लो तहको शिक्षा हासिल नगरे पनि दमक, झापामा पहिलो बोर्डिङ स्कुल खोलेर सालैपिच्छे उम्दा विद्यार्थी उत्पादन गरेर नाम र दाम कमाएर समाजमा आफ्नो ठाउँ बनाउनुभएकै छ । म आफू भने के भनुँ, तर म आफ्नो वर्तमानसँग खुशी छु ।

लाहुर नजाने सन्देश दिँदै अनेक नाटक लेखिए अनि खेलाइए । ‘अब हुजुर नजानोस् लाहुर, नेपालमै पाइन्छ जागिर’ जस्ता गीतहरूमा हामीले खुबै नाच्यौँ पनि । कतिपय तरूनीहरूले लाहुरेसँग बिहे नगर्ने जस्ता विषय पनि उठाए, तर यस्ता कुराले हाम्रो समुदायमा खासै प्रभाव पारेन । लाहुरेहरू फर्केका बेला गाउँघर निक्कै तातिन्थ्यो भने हाटबजार त रन्किन्थ्यो नै । हाट लाग्दा चिया—रोटी—तरकारीका व्यापार गर्ने तरूनीहरूको पसलमा लाहुरे दाइहरू सिंहजस्ता र चाउरेहरू स्याल र हाइनाजस्ता देखिन्थे ।

लाहुरे कर
गाउँमा कुनै युवक लाहुर (भारत वा मलाया सिंगापुर)बाट छुट्टीमा आउँदा पनि उसले स्कुललाई चन्दा(कर) दिनुपर्दथ्यो । यो रकम निक्कै राम्रो हुने गर्दथ्यो, र प्रायः सबैले खुशीले नै दिन्थे पनि । त्यति मात्र नभएर कतिपय दाजुहरूले पल्टनबाट छुट्टीमा घर आउँदा हामीलाई फुटबल, भलिबल वा अन्य खेलकुदका सामानहरू पनि ल्याइदिन्थे । यसैको परिणामले होला हाम्रो स्कुल खेलकुदमा अरु वरिपरिका स्कुलहरूभन्दा ‘भाले’ थियो ।

कुरूम्बा स्कुल, नाङरूङ स्कुल, इभाङ स्कुल, पञ्चमी स्कुलहरूलाई हामी सधैँ जित्थ्यौँ । हाम्रो पालामा फुटबल नै लोकप्रिय थियो अनि हाम्रो स्कुल टिम सर्वोत्तम थियो भन्दा गफ हुँदैन । यसै टिमको दौँतरीहरू मलायामा नेपालका कप र भारतमा ब्रिगेड, कमान्डर र सर्भिसेस टिममा पनि एकाध पुगेर नाम कमाएका छन् ।
पढेर पनि विदेश जान पाइने रहेछ
लामो समयपछि नवीन भाइले चण्डीगढ विश्वविद्यालयबाट एमएस्सी गरेपछि विद्यावारिधिका लागि हवाइ (अमेरिका) जाने अवसर पाए । त्यसपछि मैले पनि पुना विश्वविद्यालयबाट विद्यावारिधि सकेपछि उत्तरविद्यावारिधि गर्न जर्मनी जाने मौका पाएँ । खास गरी यी दुवै घटनाले पढेर पनि विदेश जान पाइने रहेछ भनेर हाम्रो समुदायमा सूचना प्रवाह ग¥यो । अब त लाहुर जानेहरूले पनि आ—आफ्ना छोराछोरीहरू पढाउन थालेका छन्, अनि स्वतःस्फूर्त रूपमा नै शिक्षाको माग बढेकाले पहिलेको जस्तो अवस्था रहेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७