शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’, कसले कहिले-कहिले जितेका थिए ट्रफी ?


१ आश्विन २०७५, सोमबार
a division truffee tour

काठमाडौं, १ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ शुरु गरेको छ । लिगको सो ट्रफी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा पुर्‍याइने छ ।

a division truffee tour

एन्फाद्वारा गठित लिग समितिका संयोजक विज्ञानराज शर्माका अनुसार उक्त टुरअन्तर्गत काठमाडौँका पाँच तथा ललितपुर र भक्तपुरका एक÷एक विद्यालयमा कार्यक्रम आयोजना गरिने छ । पछिल्लो पटक २०७० सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मनाङ मस्याङ्दी क्लबले जितेको थियो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको सो ‘ट्रफी टुर’ सात स्थानमा पु¥याइने छ । पहिलो पटक विद्यालय केन्द्रित उक्त ‘ट्रफी टुर’ को मुख्य उद्देश्य यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको वातावरण सिर्जना गर्नु रहेको संयोजक शर्माले बताए । ‘चार वर्षपछि ‘ए’ डिभिजन लिग शुरु हुँदैछ ।

चार वर्षदेखि फुटबल गतिविधि सुस्त थियो, फुटबल खेलप्रति आकर्षित गराउन ट्रफ्री टुरको आयोजना गरेका हौं’, पूर्व राष्ट्रिय खेलाडी समेत रहेका संयोजक शर्माले भने । ‘स्कोर अ गोल’ नाम दिई रङ्गशालाबाट शुरु भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, कलाकार, त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका विद्यार्थी, एन्फा पदाधिकारीलगायत सहभागी थिए ।

शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पूरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’ को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल संघलाई दिएको थियो ।

त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुती दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग ट्रफी’ नामाकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको स्थापना २०११ सालमा नरशमशेर जबराले गरेका हुन् । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ् मर्स्याङ्दी क्लबले सबैभन्दा बढी (विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) सात पटक जितेको छ । 

यस्तै रानीपोखरी कर्नर टिम ‘आरसीटी’ले (२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१) ६ पटक, नेपाल पुलिस क्लबले (२०१२, २०१३, २०६३, २०६६ र २०६८) पाँच पटक, थ्री स्टार क्लबले (२०५४, २०५५, २०६१, २०६९ र २०७१) पाँच पटक हात पारेकाे थियाे ।

यस्तै महावीर क्लबले (२०११, २०२३ र २०२६) तीन, सङ्कटा क्लबले (२०३७, २०४० र २०४२) तीन पटक, अन्नपूर्ण फुटबल क्लबले (२०३४ र २०३९) दुई, देउराली क्लबले (२०२५ र २०२७) दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक-एक पटक उपाधि जितेका छन् । विसं २०७० यता शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७